नेपाली लेखक संघले वरिष्ठ कवि एवं संस्कृतिविद् वैरागी काइँलालाई एक लाख राशिको राष्ट्रिय लेखक पुरस्कार प्रदान गर्ने भएको छ ।
संघको बिहीबार बसेको सचिवालय बैठकले राष्ट्रिय लेखक दिवसको अवसर पारेर वरिष्ठ कवि एवं संस्कृतिविद् काइँलालाई एक लाख राशिको पुरस्कार प्रदान गर्ने निर्णय गरेको हाे ।
संघकी सचिव अनुपमा रेग्मीका अनुसार उक्त पुरस्कार आगामी वैशाख १६ गते राष्ट्रिय लेखक दिवसको अवसर पारेर काइँलालाई प्रदान गरिनेछ ।
संघले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा विभिन्न दिवस मनाउँदै आइरहेको सन्दर्भमा नेपालमा राष्ट्रिय लेखक दिवस पनि मनाउने निर्णय गरेअनुसार वैशाख १६ गते सोही दिवस मनाउने निर्णय गरेको हो ।
विसं १९८७ मा ‘सरस्वती गुठी’ नामक सामाजिक संस्था स्थापना गरी त्यसमार्फत पुस्तकालय सञ्चालन गर्ने उद्देश्यले त्यतिबेलाका ४५ कवि, लेखक एवं बुद्धिजीवीले हस्ताक्षर गरी श्री ३ भीमशमशेरसमक्ष निवेदन पेस गर्दा श्री ३ को निवेदनमा हस्ताक्षर गर्ने सबै युवालाई दरबारमा बोलाउन लगाइ दण्डित गरेको दिन वैशाख १६ लाई राष्ट्रिय लेखक दिवसका रूपमा मनाउन लागिएको हो ।
उक्त दिनलाई नेपालको इतिहासमा ‘लाइब्रेरी पर्व’को रुपमा लिइन्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।