खेलकुदका लागि वर्ष ०७९ : क्रिकेटमा ऐतिहासिक उपलब्धि, फुटबलमा थप कमजोर प्रदर्शन

वर्ष ०७९ नेपाली खेलकुदका लागि समग्रमा उपलब्धिमूलक रह्यो । कोरोना भाइरसका कारण सुस्त रहेको खेलकुद गतिविधि ०७९ मा भने चलायमान भए । विशेषगरी यो वर्ष नेपालले क्रिकेटमा चामत्कारिक प्रदर्शन गर्‍याे ।    

वर्ष ०७९ मा आइसिसी क्रिकेट विश्वकप लिग–२ को शीर्ष तीनमा नेपालले चार वर्षका लागि एकदिवसीय मान्यता मात्र जोगाएन सोझै विश्वकप छनोटमा स्थान पनि बनायो । नेपाली क्रिकेटका लागि यो ऐतिहासिक सफलता हो । योसँगै नेपालले यही वर्ष जिम्बाब्वेमा हुने टेस्ट राष्ट्र सम्मिलित विश्वकप छनोट खेल्ने मौका पाएको छ । 

विश्वकप छनोटमा जिम्बाब्वे, आयरल्याण्डसहित पूर्वविश्व विजेता वेस्ट इण्डिज र श्रीलंकाले पनि प्रतिस्पर्धा गर्नेछन् । जुन/जुलाईमा हुने प्रतियोगितामा पहिलोपटक टेस्ट राष्ट्रविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई आफूलाई थप प्रमाणित गर्ने मौका मिलेको छ ।  

मोन्टीको आगमनले फेरिएको नतिजा

तत्कालीन टिम कप्तान तथा प्रमुख बलर सन्दीप लामिछाने बलात्कार मुद्दामा जेलमा थिए । टोलीले खराब प्रदर्शन गरिरहेको थियो । टिमभित्रको वातावरण पनि सोचेअनुरूप थिएन । यहीबीचमा विभिन्न चुनौतीले घेरिएको नेपाली टोलीको प्रमुख प्रशिक्षकको जिम्मेवारी सम्हाल्न भारतका मोन्टी देशाई तयार भए । उनको आगमनपछि खेलाडीको व्यक्तिगत प्रदर्शन सुध्रियो । नेपालले नतिजा आफू अनुकूल निकाल्न सफल भयो ।  

तस्बिर : क्यान



फेब्रुअरीसम्म लिग–२ मा नेपालको प्रदर्शन कमजोर थियो । देशाईले प्रशिक्षकको जिम्मेवारी सम्हाल्नुअघि नेपालले लिग–२ मा २४ म्याच खेल्दा ८ मा जित र २ खेलमा अंक बाँडेको थियो । १८ अंकसहित नेपाल तालिकाको छैटौँ स्थानमा थियो । यस्तो अवस्थामा नेपालले सोझै विश्वकप छनोटमा पुग्ने आशा मारिसकेको थियो । 

विश्वकप छनोट सम्भावना लगभग सकिएको भन्दै नेपालले प्रमुख लक्ष्य एकदिवसीय मान्यता सुरक्षित गर्नु बनाइसकेको थियो । तर, मोन्टी नेपाल आएलगत्तै भने टोलीले एकपछि अर्को सफलता हात पार्‍यो । प्रत्येक खेल फाइनल सरह ठानेको नेपालले अन्ततः उच्च प्रदर्शन गर्दै सोझै एकदिवसीय विश्वकप छनोटमा स्थान बनायो । 



देशाईको प्रशिक्षणमा नेपालले अहिलेसम्म १२ खेल खेलेको छ । जसमा टोलीले ११ खेलमा जित प्राप्त गरेको छ । योसँगै देशाई नेपाली क्रिकेट इतिहासमा सर्वाधिक सफल प्रशिक्षक बनेका छन् । वर्ष ०७९ मा नेपाली क्रिकेटलाई ऐतिहासिक प्राप्त हुनुमा प्रशिक्षक मात्र नभइ खेलाडीले पनि गज्जबको प्रदर्शन गरे । लिग–२ को पछिल्लो सिरिजहरूमा नेपालले हरेक खेलमा ‘म्याच विनर’ खेलाडी पायो ।   

सन्दीपको पुनरागमनपछि पनि टोलीको लक्ष्य पूरा गर्न मद्दत पुग्यो । गत भदौमा आफूविरुद्ध बलात्कारको जाहेरी परेपछि उनको तीन महिना जेलमा बित्यो । तर, उच्च अदालत पाटनले पुसमा धरौटीमा छाड्ने आदेश दिएलगत्तै भने सन्दीप फेरि मैदान उत्रिए । कठिन परिस्थितिका बाबजुद उनले सानदार प्रदर्शन गरे । 

सन्दीपले लिग–२ मा ३० इनिङमा ४.०४ को इकोनमीमा ७२ विकेट लिए । उनी लिग–२ मा सर्वाधिक विकेट लिने सूचीको दोस्रो स्थानमा रहे । सन्दीपभन्दा अगाडि ओमानका बिलाल खान मात्र छन् । उनले ३५ खेलमा ७६ विकेट लिए । सन्दीपको उच्च प्रदर्शनका कारण पनि नेपाली क्रिकेटका लागि वर्ष ०७९ गौरव गर्न लायक रह्यो । 

नेपाल ८ वर्षपछि यू–१९ विश्वकपमा 

वर्ष ०७९ मा नै नेपालको युवा टोलीले ८ वर्षपछि यू–१९ विश्वकपमा स्थान बनायो । गत फागुनमा यूएईमा सम्पन्न निर्णायक खेलमा घरेलु टोलीलाई ७ रनले हराउँदै नेपालले विश्वकपमा स्थान बनाएको हो । यसअघि नेपालले सन् २०१६ को विश्वकप खेलेको थियो । विश्वकप छनोटमा नेपाल अपराजित रहेको थियो । 

अब नेपालले आगामी वर्ष (२०२४) मा श्रीलंकामा विश्वकप खेल्नेछ । टेस्ट मान्यताप्राप्त देश भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान, अस्ट्रेलिया, इंग्ल्याण्ड, न्यूजिल्याण्ड, दक्षिण अफ्रिका, वेस्ट इण्डिज र आयरल्याण्ड यसअघि नै विश्वकपमा छनोट भइसकेका छन् ।

झन्डै एक दशकपछि नेपाललाई यू–१९ विश्वकपमा पुर्याउन दायाँहाते स्पिनर दीपेश कँडेल हिरो सावित भए । उनले अन्तिम खेलमा यूएईविरुद्ध ह्याट्रिक लिँदै नेपाललाई सनसनीपूर्ण जित हात पारेको थियो । दीपेशको ह्याट्रिकका कारण यूएई १ सय ८४ रनममा अलआउट भयो ।

विवादित नेपाल टी–२० लिग  

वर्ष ०७९ मा नेपाल क्रिकेट संघ (क्यान) ले पहिलोपटक फ्रेन्चाइज लिग (नेपाल टी–२० लिग) को आयोजना गर्यो । तर, लिग सुरुदेखि अन्तिमसम्म विवादरहित बन्न सकेन । लिगमा खेलाडीले पारिश्रमिक नपाएकोदेखि स्पट फिक्सिङ प्रकरणले चर्चा पायो । 

स्पट फिक्सिङको आरोपमा राष्ट्रिय टोलीका युवा अलराउन्डर मोहम्मद आदिल आलम, पूर्वकीर्तिमानी अलराउन्डर महबुब आलम र वीरगन्जका स्थानीय क्रिकेट खेलाडी नितेश गुप्ता पक्राउसमेत परे । तर, उनीहरू धरौटीमा छुटिसकेका छन् । पहिलो संस्करण नै विवादित बनेपछि नेपाल टी–२० लिगको भविष्य अन्योल बनेको छ ।   

फुटबलमा उपलब्धि कम निराशा बढी 

अर्को लोकप्रिय खेल फुटबलमा पनि वर्ष ०७९ मा नेपालले केही उपलब्धि हासिल गर्‍यो । नेपालले यस वर्ष यू–१५ साफ उपाधि जित्न सफल भयो । गत कात्तिकमा भएको प्रतियोगितामा नेपालले आयोजक बंगलादेशसँग १–१ को बराबरी खेल्दै पहिलोपटक उपाधि जितेको हो ।

गत भदौमा काठमाडौंमा भएको सिनियर महिला साफ च्याम्पियनसिपमा नेपाल फेरि उपाधि जित्न चुक्यो । साफ इतिहासमा पहिलोपटक भारतलाई १–० ले हराए पनि नेपाल फाइनलमा बंगलादेशसँग ३–१ ले पराजित भयो । वर्ष ०७९ मा नै साफ यू–१७ च्याम्पियनसिपमा नेपालको पुरुष टोलीले भारतलाई ३–१ ले हराए पनि उपाधि जित्न भने सकेन ।  

२०७९ मा अखिल नेपाल फुटबल संघ (एन्फा) ले नयाँ नेतृत्वको रूपमा पंकज नेम्वाङलाई पायो । तर, उनको नेतृत्वमा एन्फाले पहिलो वर्ष आलोचना मात्र खेप्यो । यही वर्ष नै खेलाडी र एन्फासँगको विवादका कारण मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पद छाडे । वर्ष ०७९ मा पनि नेपाली फुटबलर अस्ट्रेलिया पलायन रोकिएन । 

यो वर्ष मात्र तीन दर्जनभन्दा बढी पुरुष खेलाडी विदेश पलायन भए । विदेश पलायन हुने अधिकांश खेलाडीले अन्तर्राष्ट्रिय फुटबल खेलिसकेका छन् । खेलाडीको बढ्दो विदेश पलायनका बाबजुद नेपालले घरेलु मैदानमा भएको भुटान र लाओससँगको थ्री नेसन्स कप जित्यो । यद्यपि आफूभन्दा कमजोर मानिएको भुटान र लाओसविरुद्ध नेपालले सोचेअनुरूप प्रदर्शन गर्न सकेन । यही प्रतियोगितामा नेपालले पहिलोपटक भुटानसँग १–१ को बराबरी खेल्यो ।  


 
वर्ष ०७९ मा नवौँ राष्ट्रिय खेलकुदको आयोजना पनि गरियो । पोखरामा भएको राष्ट्रिय खेलकुदमा आर्मीले सर्वाधिक १ सय ७२ स्वर्ण जित्यो । प्रतियोगिातमा पुलिस र एपीएफ क्रमशः दोस्रो र तेस्रो रहे । नवौँ राष्ट्रिय खेलकुदले खेलाडीलाई केही व्यस्त बनाए पनि  अव्यवस्थित ढंगले प्रतियोगिता आयोजना भएकोमा आयोजकको आलोचना पनि भयो ।

त्यस्तै, वर्ष ०७९ मा नेपालले एथलेटिक्स र बक्सिङमा दुई ऐतिहासिक सफलता हात पार्‍यो । काठमाडौंमा भएको एसियाली क्रस कन्ट्रीमा नेपालले दुई स्वर्णसहित चार रजत र दुई कांस्य जित्न सफल भयो । टिम स्पर्धासँगै नेपालका दीपक अधिकारीले ऐतिहासिक स्वर्ण जिते । नेपालले एसियाली स्तरको प्रतियोगितामा स्वर्ण जितेको पहिलोपटक हो ।  

त्यस्तै, बक्सिङमा नेपालकी सुष्मा तामाङले थाइल्याण्डमा सम्पन्न एएसबीसी यू–२२ मा रजत पदक जित्दै इतिहास रचिन् । साउदी अरेबियामा भएको विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्समा नेपालकी सिर्जना घिसिङले पनि ऐतिहासिक स्वर्ण जितिन् । उनले ५२ केजीमुनि के–४४ क्याटगोरीमा टर्कीकी विश्व नम्बर १ खेलाडी मेर्येम बेटुललाई १२–० ले हराएकी थिइन् । 

  • प्रकाशित मिति : चैत ३०, २०७९ बिहीबार २१:३५:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया