logo-img

वर्ष २०७९ : कस्तो रह्यो चलचित्र क्षेत्र ?

वर्ष २०७९ नेपाली चलचित्रका लागि फलदायी रह्यो । कोरोना भाइरसको महामारी र ओभर दी टप अर्थात् ओटिटीको बढ्दो दर्शकका कारण वर्षको सुरुआतमा चलचित्र क्षेत्रले पुरानै लय समात्ला ? भन्ने जिज्ञासा थियो । विस्तारै दर्शक चलचित्र भवनमा बढ्दै गर्दा वर्षको पहिलो दिन नै प्रदर्शन भएको ‘ए मेरो हजुर ४’ ले राम्रो सङ्केत देखायो । पर्ख र हेरको अवस्थामा रहेका चलचित्रकर्मीले प्रदर्शन मिति तय गर्न थाले ।

चलचित्र विकास बोर्डले सार्वजनिक गरेको विवरणअनुसार २०७९ सालमा नेपाली ५२ र विदेशी ८३ गरी एक सय ३५ चलचित्र प्रदर्शन भए । यही वर्ष प्रदर्शन भएको चलचित्र ‘कबड्डी ४ः द फाइनल म्याच’ घरेलु बजारमा सर्वाधिक कमाइ गर्न सफल रह्यो । बोर्डको विवरणअनुसार चलचित्रको रु २१ करोड ३८ लाख १३ हजार चार सय ६२ ग्रस व्यापार भएको छ । यो सङ्ख्यामा घरेलु बजारमा अहिलेसम्म कुनै नेपाली चलचित्रले व्यापार गर्न सकेको छैन । 

विशेषतः वर्ष २०७९ मा हास्य विधाका चलचित्रमा दर्शकको रुचि भएको पाइयो । मुनाफा आर्जन गर्ने अधिकांश चलचित्र हास्य विधामै रहेर निर्माण भएका छन् । यसका साथै शृङ्खलाबद्ध रूपमा आएका चलचित्र पनि दर्शकको रोजाइमा परेका छन् । यीबाहेक सफल हुने चलचित्रको सङ्ख्या न्यून छ । 

हास्य विधामा रहेर निर्माण भएका ‘कबड्डी ४ः द फाइनल म्याच’, ‘झिङ्गेदाउ’, ‘दुई नम्बरी’, ‘के घर के डेरा’, ‘महापुरुष’ र ‘छक्का पञ्जा ४’ सफल भए । शृङ्खलाबद्ध रूपमा यी बाहेक ‘ए मेरो हजुर ४’, ‘प्रेम गीत ३’ सफल रह्यो । सामाजिक विषयवस्तु उठान गरिएको चलचित्र ‘फूलबारी’ ले राम्रो व्यापार गर्‍यो । 
    
अहिले हास्य विधामा चलचित्र बनाउने लहर झैँ छ । प्रायः चलचित्रको प्रस्तुतीकरणमा हास्य शैली जोडिन्छ । योसँगै शृङ्खलाबद्ध रूपमा आएका चलचित्रमा दर्शकको विश्वास देखिएको छ । ‘कबड्डी ४ः द फाइनल म्याच’ सर्वाधिक कमाइ गर्ने चलचित्र बन्दा दोस्रो स्थानमा ‘छक्का पञ्जा ४’ छ भने तेस्रो स्थानमा ‘प्रेम गीत ३’ । ​


स्टारडम नचलेको वर्ष 

वर्ष २०७९ स्टार भनिने कलाकारका लागि सुखद रहेन । अभिनयभन्दा पनि पारिश्रमिकका कारण चर्चामा आइरहने अनमोल केसी, प्रदीप खड्का, धीरज मगर, पूजा शर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित चलचित्रले न त राम्रो व्यवसाय नै गर्न सके न त समीक्षा नै राम्रो पाए । 



अभिनेता केसी अभिनित दुई चलचित्र प्रदर्शन भयो । ‘ए मेरो हजुर ४’ ले बक्स अफिसमा राम्रो व्यापार गरेता पनि उनको अभिनयले तारिफ पाउन सकेन । चलचित्रलाई समीक्षकले राम्रो भनेनन् । त्यसपछि प्रदर्शन भएको चलचित्र ‘२.० छड्के’ले अभिनेता केसीको पारिश्रमिक बराबरको ग्रस व्यापारसमेत गरेन । 

बोर्डको सार्वजनिक विवरणअनुसार ‘ए मेरो हजुर ४’ को तीन करोड ३८ लाख ७७ लाख चार सय २४ रुपैयाँ र ‘२.० छड्के’ ले २७ लाख ६६ हजार छ सय ३३ रुपैयाँको ग्रस व्यापार गरेको छ । 



यस्तै, अभिनेता खड्का अभिनित ‘प्रेम गीत ३’ बक्सअफिसमा सफल भयो । नेपालीसँगै हिन्दी भाषामा प्रदर्शन भएको चलचित्रले दश करोडको व्यापार गरेको छ । यद्यपि शृङ्खलाकै कमजोर चलचित्रका रूपमा समीक्षा भयो । उहाँ अभिनित अर्को चलचित्र ‘प्रकाश’ ले दर्शक पाउन सकेन । चलचित्रले एक करोड ५७ लाख आठ हजार ६ सय ८८ रुपैयाँको व्यापार गरेको छ । 

यस्तै, अभिनेत्री शर्मा अभिनित दुई चलचित्र ‘सम्झना बिर्सना’ र ‘सम्हालिन्छ कहिले मन’ सफल हुन सकेनन् । बोर्डको विवरणअनुसार ‘सम्झना बिर्सना’को २१ लाख ३४ हजार दुई सय ८० रुपैयाँ र ‘सम्हालिन्छ कहिले मन’को ७५ लाख २४ हजार चार सय ७५ रुपैयाँको व्यापार भएको छ । 

यस्तै, अभिनेत्री शाह अभिनित चलचित्र ‘तिम्रो मेरो साथ’को १० लाख १२ हजार सात सय ८२ रुपैयाँ र ‘ह्यारी कि प्यारी’को ७४ लाख १६ हजार दुई सय ६९ रुपैयाँको व्यापार भएको छ । 

सर्वाधिक कमाइ गर्ने पाँच चलचित्र 

‘कबड्डी’कै शृङ्खलाका रूपमा अगाडि बढिरहेको ‘कबड्डी ४– द फाइनल म्याच’ सर्वाधिक कमाउने चलचित्र बन्यो । रामबाबु गुरुङले निर्देशन गरेको चलचित्रले बोर्डको विवरणअनुसार सात लाख ६६ हजार सात सय टिकट बिक्री भएबापत २१ करोड ३८ लाख १३ हजार चार सय ६२ ग्रस व्यापार गर्न सफल भएको छ । 

हास्यकलाकारको समूहले टेलिशृङ्खलामा पाइरहेको लोकप्रियतालाई ठूलो पर्दामा ल्याउन अभिनेता दीपकराज गिरीले ‘६ एकान ६’ मार्फत चलचित्र निर्माण सुरु गरे । त्यसपछि ‘वडा नम्बर ६’ हुँदै ‘छक्का पञ्जा’ निर्माण गरेको समूह अहिले यसकै शृङ्खलालाई अगाडि बढाइरहेका छन् । गत फागुन १९ देखि प्रदर्शनरत चलचित्र ‘छक्का पञ्जा ४’ ले बोर्डको विवरणअनुसार छ लाख आठ हजार चार सय दुई टिकट बिक्री भएबापत रु १६ करोड ९४ लाख ३४ हजार ६ सय ३४ ग्रस व्यापार गरेको छ । 

प्रदर्शनरत भएकाले यसको व्यापार अझै बढ्ने देखिन्छ । ‘प्रेम गीत’ को तेस्रो शृङ्खलाका रूपमा निर्माण भएको ‘प्रेम गीत ३’ नेपालीसँगै हिन्दी भाषामा प्रदर्शन भएको थियो । सन्तोष सेन र छेतेन गुरुङले निर्देशन गरेको चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, मनिष राउत, सुनिल थापा र शिव श्रेष्ठलगायतको अभिनय छ ।

चलचित्रले नेपाली भाषामा दुई लाख ६९ हजार सात सय ४४ टिकट बिक्री भएबापत रु सात करोड ७० लाख ३५ हजार पाँच सय ५८ र हिन्दी भाषामा ८३ हजार एक सय ४४ टिकट बिक्री भएबापत दुई करोड २७ लाख २९ हजार तीन सय ६७ रुपैयाँको ग्रस व्यापार गरेको छ । 

चलचित्र ‘महापुरुष’ ले दुई लाख ४७ हजार पाँच सय १७ टिकट बिक्री भएबापत सात करोड ३८ लाख ९० हजार छ सय ७० रुपैयाँको ग्रस व्यापार गरेको छ । प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, नरेश पौड्याल, अरुण क्षेत्री, अञ्जना बराइली लगायतका कलाकारले अभिनय गरेका छन् । 

दीपेन्द्र लामाको निर्देशनमा तयार भएको ‘दुई नम्बरी’ सर्वाधिक व्यापार गर्ने चलचित्रको सूचीमा पाँचौँ नम्बरमा छ । चलचित्रको एक लाख ४१ हजार छ सय ३९ टिकट बिक्री भएबापत रु तीन करोड ८४ लाख ७३ हजार पाँच सय २० को ग्रस कलेक्सन भएको छ । 

  • प्रकाशित मिति : चैत ३०, २०७९ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया