पुरानै लयमा फर्कँदै बन्दीपुर, नयाँ वर्षमा पर्यटकले भरिभराउ
फाइल तस्बिर

नयाँ वर्ष २०८० मनाउन तनहुँको पर्यटकीय नगरी बन्दीपुर आन्तरिक पाहुनाले भरिएको छ । गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकसित भइरहेको बन्दीपुरमा नयाँ वर्ष मनाउन आन्तरिक पाहुनाको भीड लागेको हो ।   

नयाँ वर्षलाई स्वागत गर्दै रमाउन बिहीबारदेखि नै बन्दीपुरमा पर्यटकको भीड बढेको बन्दीपुर पर्यटन विकास समितिका सचिव वसन्त पौडेलले जानकारी दिए । नयाँ वर्षका अवसरमा बन्दीपुरमा सडक खाना महोत्सव आयोजना गरिएकाले पनि यहाँ पर्यटक तानिएका हुन् ।

‘हिजो राति सबैले हर्षोल्लासका साथ नयाँ वर्षको स्वागत गरेका छन्, पाहुना भरिभराउ छन्,’ पौडेलले भने, ‘दिउँसैदेखि पर्यटकको चहलपहल बढेको थियो । त्यसमध्ये बास बस्ने पर्यटकको सङ्ख्या अधिक थियो ।’

हेरिटेज होटलका सञ्चालक किसान प्रधानले नयाँ वर्षमा बन्दीपुर पर्यटकले भरिएको जानकारी दिए । ‘बन्दीपुरको पर्यटन बिस्तारै लयमा फर्किँदैछ, नयाँ वर्षमा आयोजना गरिएको सडक खाना महोत्सवले पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको छ,’ उनले भने । आज नयाँ वर्षको दिन सार्वजनिक बिदा भएकाले थप पर्यटकको आगमन बढ्ने विश्वास गरिएको उन बताए । ‘बिदामा घुम्ने संस्कृति विकास भएकाले पनि आज थप पर्यटक बन्दीपुर आउने आशामा छौँ,’ उनले भने ।   

बन्दीपुरमा क्षेत्रीय होटल सङ्घसँग आबद्ध ६६ वटा होटल छन् । त्यसमध्ये केही होटलले यो प्याकेज ल्याएका छन् । तनहुँ उद्योग वाणिज्य सङ्घ बन्दीपुर बजार एकाइ, बन्दीपुर पर्यटन विकास समिति, क्षेत्रीय होटल सङ्घ, रेबान तनहुँको संयुक्त आयोजनामा नयाँ वर्षको अवसर पारेर बिहीबारदेखि तीन दिन सडक खाना महोत्सव सुरु भएको छ ।

‘सडकमा खाऔँ, सडकमै रमाऔँ, आन्तरिक तथा बाह्य पर्यटक प्रबर्द्धन गरौँ’ भन्ने मूल नारासहित सडक खाना महोत्सव आयोजना गरिएको जनाइएको छ । सडक खाना महोत्सवका अवसरमा बजारमा रहेका होटल अगाडि नै बसेर पर्यटकले खान पाउनेछन् । साथै तीन दिनसम्म नै विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ भने विभिन्न जातजातिका संस्कृति प्रदर्शन गरिनेछ ।



नयाँ वर्षमा जिल्लाका युवायुवती पोखरा, चितवन जाने गरेकाले आफ्नै जिल्लाभित्र रमाउने वातावरण सिर्जना गर्न महोत्सव आयोजना गरिएको र यसले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए । 

बन्दीपुरमा विशेषगरी चीन, फ्रान्स, जर्मनबाट विदेशी पर्यटक आउने गरेका छन् । विदेशी पर्यटक यहाँको हावापानी, रहनसहन, रीतिरिवाज र पुरानो घर देखेर आकर्षित हुने गरेको होमस्टे सञ्चालक राजु बानियाँले बताए ।



सदरमुकाम दमौलीबाट १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । जहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धवलागिरिलगायतका हिमशृङ्खला देखिने भएकाले यहाँ पुग्ने जो कसैको मन लोभिने गर्दछ । 

बन्दीपुरमा होटल सङ्घसँग आबद्ध साना–ठूला गरी ७७ होटल सञ्चालनमा छन् । बन्दीपुरमा ग्रिनपार्क, होटल दरबार हिमालय फेवा, गामघर, वोल्डइन, बन्दीपुर माउन्टेन रिसोर्ट, बन्दीपुर प्यालेस, मगर भिजेललगायत होटल सञ्चालन छ । 

भक्तपुरे शैलीमा निर्माण गरिएको घर, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायतका स्थल यहाँ आउने पर्यटकको आकर्षणको केन्द्रविन्दु बन्ने गरेको छ । बन्दीपुरको पर्यटन प्रवर्द्धनका लागि गाउँपालिकाले पनि पहल गरिरहेको छ । बन्दीपुर आउने पर्यटकको बसाइ लम्ब्याउन विभिन्न पूर्वाधार निर्माण गरिएको छ । रासस 

  • प्रकाशित मिति : बैशाख १, २०८० शुक्रबार ९:५६:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया