मौलाकाली केबलकार सञ्चालनमा, पाँच मिनेटमै मन्दिर पुग्न सकिने

नयाँ वर्ष २०८० को सुरुआतसँगै नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा ‘मौलाकाली केबलकार’ सञ्चालनमा आएको छ । 

गैँडाकोटमा रहेको ऐतिहासिक धार्मिकस्थल मौलाकालिका मन्दिर जाने यात्रुलाई लक्षित गरी निर्माण गरिएको केबलकार आजदेखि सञ्चालनमा आएको हो । नयाँवर्षको अवसर पारेर आजदेखि सेवा सुरु गरिएको मौलाकाली केबलकार व्यवस्थापन विभागका प्रमुख अभिषेक विक्रम शाहले जानकारी दिए ।

केबलकारको बटम स्टेशनबाट गैँडाकोट नगरपालिका वडा नं ६ निवासी सय वर्षीया वृद्धा सरस्वती कँडेल र टप स्टेशनबाट नवलपुरका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले पहिलो यात्रुका रुपमा यात्रा गरेका थिए ।

केबलकारमार्फत मौलाकाली  मन्दिरसम्म पाँच मिनेटमै पुग्न सकिनेछ । करिब दुई किलोमिटर लामो केबलकारमा १२ वटा गोन्डोला रहेका छन् । हाल केबलकारले दुइतर्फी मूल्य पाँच सय ५० रुपैयाँ कायम गरिएको शाहले जानकारी दिए ।

उनका अनुसार केबलकारले तीनदेखि चार फिटसम्मका बालबालिकाका लागि तीन सय ३० रुपैयाँ, विद्यार्थीका लागि चार सय १५ रुपैयाँ, ज्येष्ठ नागरिकका लागि चार सय १५ रुपैयाँ र फरक क्षमता भएकाका लागि दुई सय ७५ रुपैयाँको टिकट दर राखिएको छ । केबलकारले ८० वर्षमाथिका वृद्धवृद्धा र तीन फिटभन्दा कमका बालबालिकाका लागि निःशुल्क सेवा दिने जनाएको छ ।

आइएमई समूहको प्रवर्द्धनमा करिब दुई वर्षअघिदेखि निर्माण सुरु गरिएको केबलकारले आजदेखि नियमित सेवा सुरु गरेको शाहले बताए । केबलकारको एउटा डब्बा (गोन्डुला)मा एक पटकमा आठ जना यात्रु चढ्न सक्ने व्यवस्था रहेको भन्दै शाहले केबलकारबाट पाँच मिनेटमा मन्दिर पुगिने बताए  । ‘नेपालमा भित्रिएको सबैभन्दा अत्याधुनिक प्रविधियुक्त केबलकार भएकाले यात्रुहरु पूर्णरुपमा सुरक्षित रहनुहुनेछ’, उनले भने, ‘अहिले हामीले बिहान ६ बजेबाट केबलकार चलाउँछौँ, आवश्यकताअनुसार चौबीसै घण्टा सञ्चालन गर्न सकिन्छ ।’ 



केबलकारको बटम स्टेशनबाट अपर स्टेशनसम्म एक हजार दुई सय मिटर दूरीमा छवटा टावर निर्माण गरिएको शाहले बताए । यात्रु बोक्ने १२ वटा डब्बा (गोन्डुला, एउटा सामान बोक्ने तथा अर्को सर्भिसिङ डब्बा राखिएको उनको भनाइ छ । एउटा गोन्डुलामा एक पटकमा आठ जना यात्रु अटाउने क्षमता छ । 

आईएमई समूहको ५१ प्रतिशत र स्थानीयको ४९ प्रतिशत लगानी रहने गरी स्थापना गरिएको केबलकार गैँडाकोट–१ धारापानीबाट चढ्ने र मन्दिर नजिक ओर्लने स्टेशन राखिएको छ । माथिल्लो स्टेशनसँगै ६० कोठा रहने गरी चार तारे होटल निर्माणको काम तीव्ररुपमा अगाडि बढेको पनि शाहले जानकारी दिए । केबलकारको निर्माण अष्ट्रियन कम्पनीले गरेको हो । 



सञ्चालनको पहिलो दिननै पाँच हजारभन्दा बढी यात्रुले केबलकारको सेवा लिएका शाहको भनाइ छ । नयाँ वर्षको अवसर पारेर आजदेखि सञ्चालन गरिएको केबलकारको उद्घाटन भने केही दिनपछि गरिने शाहको भनाइ छ ।  

  • प्रकाशित मिति : बैशाख १, २०८० शुक्रबार १७:१२:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया