logo-img

पुरानो जति सडेगलेको र नयाँ जति राम्रो भन्ने भ्रममा नपरौँ  : कांग्रेस महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले महाविपत्तिमा जसरी काम गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस मकवानपुर–काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सरकारले परिणाम दिने गरी काम गर्नुपर्ने बताए । 

प्रधानमन्त्रीदेखि मन्त्रीसम्म, प्रदेशमन्त्रीदेखि स्थानीय तहका वडाध्यक्षले समेत महाविपत्तिको बेलामा जस्तो सोेचेर काम गर्नुपर्ने बेला आएको महामन्त्री थापाले बताए । मुलुक संकटमा रहेको बेला सरकारले त्यसलाई महसुस गरेर परिणाम दिने गरी काम गर्नुपर्ने स्पष्ट पारे । 

सुझबुझपूर्ण ढंगले काम नगरे मुलुक झनै संकटमा पर्दै जानेतर्फ पनि महामन्त्री थापाले सरकारलाई सचेत गराए । सरकारले राम्रो काम गर्दै गए ३÷४ महिना भित्रै मुलुक सम्हालिँदै जाने उनको भनाइ छ । 

०८० सालमा नेपाली कांग्रेसलाई शुद्धीकरण र सुदृढीकरण गर्नका लागि सिंगो पार्टी पंक्ति लाग्नुपर्ने बताउँदै महामन्त्री थापाले आगामी जेठ अन्तिम साता हुने कांग्रेसको नीति अधिवेशनमा यसबारे व्यापक छलफल गर्न पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे । 



‘पुरानो जति सडेगलेको र नयाँ जति राम्रो’ भन्ने भ्रममा नपर्न सचेत गराउँदै महामन्त्री थापाले भने, ‘मेरो खाली तपाईंहरुलाई यति मात्रै आग्रह हो–कि अहिले पुरानो जति सडेगलेको, नयाँ जति राम्रो भन्ने भ्रमपूर्ण नाराका साथमा जुन खालको गिजोल्ने प्रयास नेपालको राजनीति र नेपाली समाजमा भइरहेको छ । त्यसको प्रभाव मकवानपुर कांग्रेसलाई नपरोस् ।’

त्यसको प्रभाव नपर्नका निम्ति कांग्रेसको बीचमा भएका बेमेललाई हटाएर सबै वडा सम्मेलन गर्नुपर्ने उनले बताए । प्रदेश, क्षेत्रीय, जिल्ला, भातृ संस्था सबैको सम्मेलन गरेर पार्टीलाई सुदृढ बनाएर, एक ढिक्का बनाउनुपर्ने उनले बताए । 



महामन्त्री थापाले कुनै पनि पार्टीले एकल सरकार बनाउने अवस्था नरहेको भन्दै निर्वाचन प्रणाली सुधारका लागि संविधान संशोधन गर्नुपर्नेमा पनि जोड दिए ।



  • प्रकाशित मिति : वैशाख २, २०८० शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया