logo-img

सुदूरपश्चिमेली गायिका डिक्रा बादीको प्रस्तुतिमा झुम्यो नाचघर

काठमाडौं– ‘क्यासेटको जमाना कम हुँदै गयो । मोबाइल फोनको र मेमोरी कार्डको जमाना आएपछि सुदूरपश्चिममा भएका धेरै रेकर्डिङ स्टुडियो बन्द भए । आर्थिक अभावकै कारण गीत रेकर्ड गर्न काठमाडौंसम्म आउन सकिनँ । मेरो स्वास्थ्यले पनि साथ दिएन ।’ 

करिब आठ वर्षपछि कन्सेप्ट नेपालको आयोजनामा मञ्चमा फर्केकी सुदूरपश्चिमेली गायिका डिक्रा बादीले शनिबार नाचघरमा भएको उनको एकल प्रस्तुतिका क्रममा दर्शक–श्रोतालाई आफ्नो विगतबारे सुनाउँदै यस्तो भनिन् । देउडा तथा ठाडीभाकामा विशेष दख्खल भएकी बादीले एक दशकअघि आफ्नो क्षेत्रमा तहल्का पिटेकी थिइन् ।

‘छोराछोरी पढाउन र दुई छाकको जोहो होला भनेर श्रीमान्सँग भारत पनि गएँ,’ उनले भनिन्, ‘तर मलाई त्यहाँ देख्नेहरूले यति चर्चित कलाकार पनि भारतमा काम गर्न आएको भन्दै अचम्म माने ।’ एक–दुई गर्दै धेरैले यस्तो भनेपछि उनी लाजले त्यहाँ धेरै बस्न सकिनन् र नेपाल फर्किइन् ।


 



प्रस्तुतिका क्रममा डिक्राले आधा उमेर गए पनि श्रोता र दर्शकको माया पाए आगामी दिनमा स्वास्थ्यले साथ दिएसम्म गाइरहने बाचा गरिन् । 

करिब डेढ घन्टासम्म चलेको कार्यक्रममा उनले आफ्ना आठवटा पुराना गीतसहित आउन लागेका केही नयाँ गीत पनि दर्शकसामु पस्किन् । ‘वैरागी मन, साहिले छाड्या पछि, ए बौजु, पानी खान्या, रुमाल चिनो’लगायत चर्चित गीत स्टेजमा गाइरहँदा उनले दर्शकको उत्साहजनक साथ पाइन् । 

श्रीमान् कित्थ्यासँग उनले गाएको ‘पानी खान्या’ बोलको दोहोरी गीतमा त उनले दर्शकबाट ‘वान्स मोर’को हुटिङ नै पाइन् । देउडामय भएको नाचघरमा दर्शकलाई उनका गीतले मात्रै झुमाएको थिएन । गीतका बीच–बीचमा डिक्राले गर्ने हाँसो–ठट्टाले पनि उपस्थित दर्शकलाई तरंगित बनाएको थियो ।
  
कार्यक्रममा उपस्थित कवि श्यामलले पनि डिक्रालाई आगामी यात्राका लागि शुभकामना दिए । धेरै वर्षअघि कुनै एनजिओको कामको सिलसिलामा सुदूरपश्चिम गएका वेला डिक्रालाई सुन्ने मौका पाएको श्यामलले स्मरण गरे । 



त्यसपछि डिक्रालाई खोजी–खोजी सुन्न थालेको उनले सुनाए । ‘तपाईंका गीतका क्यासेट अझै पनि मेरो घरमा सुरक्षित छन् । तपाईंको स्वरको म पारखी हुँ । तपाईंका कति गीत त मलाई कण्ठै छन्,’ उनले गायिकालाई सुनाए ।

लोकदोहोरी गायिका झुमा लिम्बूले ‘ए बौजु’ बोलको गीतमा डिक्रालाई साथ दिएकी थिइन् । डिक्राजस्ता  प्रतिभावान् गायिका छायामा पर्नु दुःखद भएको लिम्बूले बताइन् । डिक्रासँगै सहकार्य गर्ने र उनलाई पुस गरेर नेपाली संगीतलाई अन्तर्राष्ट्रिय स्तरमा पनि चिनाउने काम गर्ने उनले सुनाइन् ।

पाठेघरको समस्यासँग लडिरहेकी डिक्रालाई केही मनकारी सहयोगीहरूको साथ मिल्यो । केहीले उनको उपचारमा लाग्ने खर्च बेहोरिदिने प्रतिबद्धता व्यक्त गरे । केहीले भने उनीको एल्बल पनि सित्तैमा निकालिदिने पनि वचन दिए । 

डिक्राको प्रस्तुतिमा श्रीमान् कित्थ्याले सारंगी बजाएर साथ दिए भने शम्भु बानियाँ, हरि गुरुङ, पारसमणि सुवेदी, कृष्ण साउदेल लिम्बू र सञ्जीव मैनालीले विभिन्न वाद्यवादन बजाएर साथ दिएका थिए ।

  • प्रकाशित मिति : फागुन ११, २०७५ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया