\
काठमाडौंमा मिटरब्याज पीडित र नेपाल प्रहरीबीच झडप भएको छ । सोमबार रत्नपार्कस्थित शान्ति बाटिकामा पीडितहरूले प्रदर्शन गर्ने क्रममा शान्तिबाटिकाबाट बाहिरिने क्रममा प्रहरीले रोक्दा प्रदर्शनकारी र पहरीबीच झडप भएको हो ।
प्रदर्शनमा निस्किएकामध्ये ३० जना मिटरब्याजीपीडितहरुलाई प्रहरीले नियन्त्रणमा लिएको मिटरब्याजपीडित एक सदस्यले बताएका छन् । उनले प्रहरीले प्रदर्शनकारीमाथि दमन गरेको आरोप लगाए । उनले आफ्ना साथीहरूलाई प्रहरीले नियन्त्रणमा लिएकोप्रति आपत्ति जनाउँदै आफ्नो माग पूरा नभएसम्म आन्दोलन गरी राख्ने बताए ।
शान्तिवाटिकामा बसेर आन्दोलन गरिरहेका मिटरब्याज पीडितले आज सिंहदरबार वरपर प्रदर्शन गर्ने तयारी गरेका थिए । सिंहदरबार वरपर आन्दोलन गर्न नदिने भन्दै जिल्ला प्रशासनले प्रहरी प्रशासन तैनाथ गर्न लगाएपछि शान्ति बाटिकामा नै प्रहरी र मिटरब्याजी पीडितबीच झडप भएको हो ।
प्रहरीले मिटरब्याजीपीडितलाई लखेट्न पानीको फोहोरा र लाठी हानेर प्रहारसमेत गरेको प्रदर्शनकारीले बताएका छन् । सरकारले मिटरब्याजपीडितको एक समूहसँग चैत १८ गते ५ बुँदे सहमति गरेको थियो । तर, उक्त सहमतिले मिटरब्याज पीडितको तत्कालको समस्या समाधान नहुने भन्दै मिटरब्याज पीडितको अर्को समूहले आन्दोलन गर्दै आएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।