\
गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै मिटरब्याज पीडितले काठमाडौंमा प्रदर्शन गरेका छन् । सोमबार शान्तिवाटिकामा प्रहरीको लाठी प्रहारबाट घाइतेसमेत भएका उनीहरूले मंगलबार दिउँसो गृहमन्त्री श्रेष्ठविरुद्ध नाराबाजी लगाउँदै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।
आफूहरूको माग सम्बोधन गर्नुको साटो गृहमन्त्री श्रेष्ठले प्रहरी प्रशासनलगाएर दमन गरेकाले त्यसको विरोधमा प्रदर्शन गर्नु परेको उनीहरूको भनाइ छ । सोमबार काठमाडौंको शान्तिवाटिकामा प्रहरीसँगको झडपमा परी केही मिटरब्याज पीडित घाइतेसमेत भएका थिए ।
शान्तिपूर्ण आन्दोलनमा रहेका आफूलाई सरकारले दमन गरेको भन्दै मिटरब्याजविरुद्ध किसान–मजदुर संघर्ष समितिका संयोजक अवधेश कुशवाहले आपत्ति जनाए । उनले आफूहरूको समस्या समाधान गर्न सरकार गम्भीर नभएको भन्दै माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी समेत दिए ।
मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि सरकारले बनाएको छानबिन समितिले पनि आफ्नो कामलाई तीव्रता नदिएको पीडित पक्षले गुनासो गर्दै आएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।