नुवाकोटमा भूकम्पले क्षति पुगेका ४० हजार घर पुनःनिर्माण

बेत्रावती– नुवाकोटमा भूकम्पले क्षति पुगेका ४० हजारभन्दा बढी घरको पुनःनिर्माण भएको छ । जिल्लास्थित अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका अनुसार फागुन दोस्रो सातासम्म ४० हजार ३१२ भूकम्पपीडित लाभग्राहीले सरकारी अनुदानमा घर पुनःनिर्माण गरेका छन् ।

पीडितलाई घर पुनःनिर्माणका लागि सरकारी तथा सरकारबाट अनुमति लिएका सङ्घसंसथाले तीन चरणमा रु तीन लाख अनुदान उपलब्ध गराएका छन् । 

वि.सं २०७२ वैशाख १२ को विनासकारी भूकम्पले नुवाकोटमा ७६ हजार ४१६ घरमा पूर्ण क्षति पुगेको सरकारी तथ्याङ्क छ । तीमध्ये हालसम्म ५२।७५ प्रतिशत लाभग्राहीले नयाँ घर निर्माण गरिसकेको अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका प्रमुख विकी लाखाले जानकारी दिए । 

उनका अनुसार आधाभन्दा बढी लाभग्राहीले सरकारी अनुदान लिएर बनाएको भूकम्प प्रतिरोधात्मक भवनमा बसोबास गर्न थालिसकेका छन् । भूकम्पपीडितमध्ये ६२ हजार ८५२ लाभग्राही '८२.२५ प्रतिशत' ले आवास निर्माणको जग बसालेर अनुदानको दोस्रो किस्ता रकम लिई घर निर्माणलाई अन्तिम चरणमा  पुर्याएका छन् । 

कुल लाभग्राहीमध्ये ७१ हजार ५२२ लाभग्राहीले घर निर्माणका लागि भूकम्पप्रतिरोधी आवास बनाउन सम्झौता गरेर पहिलो किस्ता रकम लिएको कार्यालय प्रमुख लाखाले जानकारी दिए ।

उनले भने, ‘घर निर्माणका लागि सम्झौता गरेर पहिलो किस्ता लिने अधिकांशले पुनःनिर्माण थालिसकेका छन् । केहीले बनाउन बाँकी छ, तिनीहरूका लागि ताकेता भइरहेकाले तोकिएको समयमा पुनःनिर्माण सम्पन्न गराउन सक्ने आशा जगाएको छ ।’ 



सरकारले भूकम्पपीडित लाभग्राहीलाई आवास पुनःनिर्माणका लागि तोकिएको मापदण्डअनुसार घर बनाउँदा पहिलो किस्तावापत रु ५० हजार, दोस्रो किस्ता रु एक लाख ५० हजार र अन्तिम तथा तेस्रो किस्ता रु एक लाख गरेर तीन चरणमा रु तीन लाख दिँदै आएको छ । 
 



  • प्रकाशित मिति : फागुन १२, २०७५ आइतबार १०:४४:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया