डा. गोविन्द केसी बागलुङको निसीखोला गाउँपालिकामा बिरामीको उपचारमा खटिएका छन् । मंगलबार निसीखोला आएका केसी वडा नं ३ स्थित बोहरागाउँ स्वास्थ्यचौकीमा पुगेर बिरामीको उपचारमा खटिएका हुन् ।
उनले स्वास्थ्यचौकीमा बिरामीको उपचार गरिरहेको बोहरागाउँ स्वास्थ्यचौकीका प्रमुख कसिन्द शाहीले जानकारी दिए । केसी कुनै खबरबिना नै स्वास्थ्यचौकी पुगेका हुन् ।
‘उहाँ आउने कुनै जानकारी थिएन, स्वास्थ्यचौकीमा हामी बिरामी हेर्दै थियौँ, टुप्लुक्क आउनुभयो, हामी अचम्ममा पर्यौँ,’ शाहीले भने । उनका अनुसार डा. केसीले तीन दिनसम्म यहाँ बिरामीको उपचार गर्ने जानकारी दिएका छन् ।
‘सबैलाई खबर गरिदिनु, कुनै रोगको समस्या भए आउनुहुन्छ, उहाँहरूको स्वास्थ्य जाँच गर्छु,’ केसीको भनाइ उल्लेख गर्दै भने । केसी गत वर्ष ढोरपाटनको बोबोङ क्षेत्रका नागरिकको उपचारका लागि यहाँ आएका थिए । आफू यो समय फुर्सदमा भएकाले निसीखोला आएको उनले बताए ।
‘पहिला बोबाङमा बिरामीको उपचार गरेको थिएँ, त्यसबेला यहाँका सर्वसाधारणले निसीखोला पनि आउनुपर्यो भन्नुभएको थियो, अहिले मेसो मिल्यो, त्यही भएर आएँ,’ डा. केसीले भने ।
निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले डा. केसीले यहाँ तीन दिन बिरामीको उपचार गर्ने बताएपछि गाउँपालिकाले उनले सिफारिस गरेका औषधिको व्यवस्थापन गरेको जानकारी दिए ।
‘उहाँ एक्कासि बोहोरागाउँ स्वास्थ्यचौकीमा आएपछि थाहा भयो, उहाँले हाडजोर्नी र नसासम्बन्धीका बिरामीको उपचार गर्दै हुनुहुन्छ,’ अध्यक्ष घर्तीमगरले भने, ‘बिरामी आउन थालेका छन्, हामीले १ लाख रुपैयाँ बराबरको औषधि व्यवस्थापन गरेका छौँ ।’ रासस
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।