\
कञ्चनपुरमा घाँस काट्न गएकी महिलालाई बाघले लगेपछि प्रहरीले गोली चलाएको छ । जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर ८ स्थित पछुइको खप्टीनालमा घाँस काट्न गएकी ४२ वर्षीया गंगा चन्दलाई बाघले लगेपछि प्रहरीले गोली चलाएको हो ।
शुक्रबार उनलाई बाघले लगेको स्थानीयसहित नजिकैको प्रहरीले देखेपछि बाघबाट छुटाउन प्रयास भए पनि नसकिएको प्रहरीको भनाइ छ । सो क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीले ७ राउन्ड फायर गरेको थियो । तर महिलालाई जोगाउन सकेन ।
बाघले महिलालाई जंगलमा लिएर गएको र अहिलेसम्म फेला नगरेको प्रहरीले जनाएको छ । ड्रोन क्यामेराबाट हेर्दा भने झाडीमा महिला देखिए पनि बाघ पनि सोही ठाउँमा बसेको प्रहरीले जनाएको छ ।
बाघलाई नियन्त्रणमा नलिएको भन्दै स्थानीय बासिन्दा आक्रोशित छन् । पुनः आक्रमण गर्न सक्ने भन्दै बाघलाई नियन्त्रणमा लिनुपर्ने स्थानीयको माग छ ।
तर त्यसका लागि माथिल्लो निकायको अनुमति चाहिने जानकारी प्रहरी र जिल्ला सव वन डिभिजन कार्यालय कुण्डाका कर्मचारीले दिएपछि स्थानीय आक्रोशित हुँदै प्रहरीमाथि नै ढुंगा प्रहार गरेका छन् । ढुंगा प्रहारबाट इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी नायव निरीक्षक (सई) चन्द्र खडायत घाइते भएका छन् । आक्रोशित स्थानीयले ढुंगा प्रहार गर्दा उनको टाउँकोमा चोट लागेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।