‘देशे मरु झ्या’ अर्थात् देशमा कतै नभएको झ्याल
फरकधार / १२ फागुन, २०७५

हनुमानढोका दरबार क्षेत्र । प्राचीन कलाकौशलले भरिपूर्ण छ । काष्ठमण्डप, गद्दी बैठक, कुमारी घर, बसन्तुपर दरबार मात्र होइन, यहाँका घरका भित्तामा पनि प्राचीन मल्लकालीन, लिच्छविकालीन बान्की देख्न सकिन्छ । 

कवि माधवप्रसाद घिमिरे भन्छन्– ‘कुनै व्यक्तिको मनको भाव हेर्ने हो भने तिनका आँखा हेरे पुग्छ, कुनै देशका निवासीको मनको भाव हेर्ने हो भने तिनका झ्याल हेरे पुग्छ ।’ 

तिनै बान्कीमध्ये एक हो– देशे मरु झ्या । अर्थात् देशमा अन्त कतै नभएको झ्याल । वसन्तपुर, यट्खा टोलमा रहेको यस झ्याललाई नेपालभाषामा ‘देशे मरु झ्या’ भनिन्छ । तर, पछिल्लो पुस्ताले यसलाई थ्रिडी झ्याल, युनिक झ्याल भनेर पनि नामकरण गरेका छन् । वास्तवमा यो झ्याल कसले, कसरी बनायो र कसरी देशमै नभएको झ्याल बन्यो भन्ने पत्ता लागेको छैन । 

सम्पदा सूचीअन्तर्गत रहेको उक्त झ्याल र झ्याल रहेको घर निलहिरा स्थापितको नाममा छ । उनको भनाइअनुसार बुबा रुद्रराज सिन्धुराकारले त्यो घर रामभक्त श्रेष्ठ नाम गरेका मानिससँग किनेका हुन् । त्यतिबेला पनि झ्याललाई सबैले राम्रो भन्थे, निलहिरा भन्छिन् ‘झ्याल भएकै कारण बुबाले त्यो घर किन्नुभएको त होइन, तर घर किन्दा झ्याल पनि पाइयो ।’ 

तिनताका झ्यालको खासै महत्त्व थिएन । निलहिराका बुबाले जात्रा हेर्ने उद्देश्यले झ्याल भएको घर किनेका थिए । कुमारी जात्रा, गाईजात्रा, मत्स्येन्द्रनाथको जात्रा आदि जात्रा पहिले पनि सोही बाटो भएर हिँडाइन्थ्यो, जुन बाटोको अघिल्लोतिर ‘देशे मरु झ्या’ भएको घर उभिएको छ ।

‘हाम्रो घर यट्खा टोलको पछिल्लोपटि थियो । जहाँबाट जात्रा देखिन्नथ्यो । जात्रा हेर्न जाउँ भनेर हामी चारै दिदी–बहिनी बुबासँग झगडा गथ्र्यौं,’ विगत सम्झँदै निलहिरा भन्छिन्, ‘बुबाले पनि सबैलाई जात्रामा लैजान सक्नुभएन, त्यसैले छतबाटै जात्रा हेर्न मिल्ने घर किन्नुभयो ।’ 

रुद्रराजका चार सन्तान, सबै छोरी । आफूपछि भाइहरूले घरमाथि हक जमाउलान् कि भन्ने डरले बुबाले घर किन्दा नै छोरीहरूको नाममा किनेको निलहिरा बताउँछिन् । युवा उमेरमा झ्यालबारे सोधीखोजी गर्नु निलहिराको चासोको विषय बनेन । उनका बुबाले पनि झ्यालको महत्त्व बुझाएनन् । उनी भन्छिन्, ‘बुबाले छोरीहरूको माया लागेर किन्नुभएको घर अरूलाई दिन मन लागेन । झ्यालको संरक्षण आफैंले गरेकी छु । यसको इतिहास के थियो, त्योचाहिँ बुबासँगै गयो ।’ 

कसरी बन्यो त यो झ्याल ? 

नेवारी समुदायमा झ्यालको विशेष महत्त्व छ । नेवारी महिलाहरू झ्यालमा बसेर कपाल कोर्ने, बाहिरका मानिस हेर्ने र कुराकानी गर्ने गर्थे । उपत्यकाका आँखीझ्यालहरू लगभग उस्तै किसिमका देखिए पनि देशे मरु झ्या अलि भिन्न छ । झ्यालको अघिल्लो चौकोस सबैभन्दा फराकिलो छ भने पछिल्ला दसवटा चौकोस क्रमशः सानो हुँदै गएका छन् । कलात्मक चौकोसहरूको बीचमा सानो आँखीझ्याल छ । यही सानो झ्यालबाट देखिन्छ बाहिरी संसार ।

देख्ने सबैका लागि आकर्षक र नौलो भएको हुनाले झ्यालको नाम नै ‘देशे मरु झ्या’ रहन गएको संस्कृतविद सत्यमोहन जोशी बताउँछन् । ‘अन्त कतै नदेखेपछि नौलो हुने नै भयो,’ उनी भन्छन् ‘यो झ्याल पनि आँखीझ्यालकै एक किसिम हो । कसले बनायो थाहा छैन, तर मल्लकालीन समयतिर बनेको हुन सक्छ ।’

सम्पदा सूचीमा संरक्षित यस झ्यालका बारेमा निकै पछि मात्र चर्चा भएको हुँदा इतिहास खोज्न गाह्रो भएको जोशी बताउँछन् । बाहिरबाट हेर्दा भित्री भाग नदेखिने, तर भित्रबाट बाहिरी वातावरण छर्लंग देखिने यस्तो कलात्मक झ्याल किन बनाइयो भनेर खोजी गर्नुपर्ने बताउँछन् नेवारी इतिहास अध्येता डिल्लीराम नकर्मी । ‘तत्कालीन समाजमा राजा–महाराजाले यहाँको छोरीचेलीलाई निकै दुःख दिन्थे,’ नकर्मी सुनाउँछन्, ‘खासगरी बाहिरबाट भित्रका मानिस र क्रियाकलाप नदेखिउन् भनेर यस्तो झ्याल बनाइएको हो ।’ 

यस्ता झ्याल आविष्कार हुनुको पछाडि अन्य कारण पनि भएको बताउँदै उनी थप्छन्, ‘ससाना प्वाल हुनाले कोठामा हावाको बहाव सन्तुलित हुन्थ्यो र अहिले जस्तो पर्दाको आवश्यकता पनि पर्दैनथ्यो ।’ 

घरको तेस्रो तल्लामा निलहिराकी दिदीकी छोरी रश्मि तुलाधर विगत १८ वर्षदेखि सिलाइ–कटाइ व्यवसाय गरिरहेकी छिन् । झ्यालको इतिहासबारे उनी पनि अनभिज्ञ छिन् । रश्मिका अनुसार उक्त झ्यालमा दैनिक ४०÷५० जना मानिसले अवलोकन गर्ने गर्छन् र फोटो खिचाउँछन् । उनी भन्छिन्, ‘आन्तरिकभन्दा पनि बाह्य पर्यटकले झ्यालबारे चासो राख्छन् । उनीहरू अचम्म मानेर केहीबेर हेरिरहन्छन् । एकअर्कामा कुराकानी गर्छन् ।’ 

माटाको पुरानो घर किनेर स्थापित परिवारले २०३३ सालमा नयाँ घर बनाए । नयाँ बनाएको घरमा पनि झ्यालको स्थान सुरक्षित रह्यो । अहिले झ्याल रहेको कोठामा ट्युसन सेन्टर सञ्चालित छ । घामपानीको असर रोक्न र कीरा–धमिरा नलागोस् भन्न रङरोगन गरिएको छ । झ्याको चौतर्फी चर्चा भएपछि उक्त टोललाई नै मानिले ‘देशे मरु झ्या’ भएको टोल भनेर चिनिन थालेको स्थानीय बताउँछन् । 

केही वर्षअघि पराराष्ट्र मन्त्रालयले जारी गर्न लागेको मेसिन रिडेबल पासपोर्टभित्र मुलुक चिनाउने १७ वटा प्रतीकात्मक तस्बिर समेटिएको छ । जसमध्ये देशे मरु झ्या पनि एक हो । नेपाल सरकारले जारी गरेको हुलाक टिकटमा पनि ‘देशे मरु झ्या’को तस्बिर प्रयोग भएको छ ।
 

  • प्रकाशित मिति : फागुन १२, २०७५ आइतबार १५:२४:१७,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया