logo-img

को बन्दै छ गण्डकी प्रदेशको मुख्यमन्त्री ?

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएका छन् । गण्डकी प्रदेशसभामा उनले विश्वासको मत नपाएपछि उनी पदमुक्त भएका हुन् ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाका सांसदको समर्थनमा २५ पुसमा मुख्यमन्त्री बनेका अधिकारी करिब साढे ३ महिना पदमा रहे । मुख्यमन्त्री अधिकारीको विश्वासको मतको विपक्षमा ३५ मत खसेको छ । 

अधिकारी पदमुक्त भएसँगै गण्डकी प्रदेशको मुख्यमन्त्री को बन्ला भन्नेमा धेरैको चासो छ । केन्द्रको गठबन्धनअनुसार गण्डकी प्रदेशमा पनि अब नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र मिलेर सरकार बन्ने पक्का छ । 

कांग्रेस–माओवादीबीच मुख्यमन्त्रीमा आलोपालो गर्ने सहमति पनि भएको छ । तर दुवै पार्टीले पहिलो पालोमा आफूहरुले पाउनुपर्ने दाबी गरेका कारण को पहिला मुख्यमन्त्री बन्ने भन्ने टुंगो लागिसकेको छैन । 

शनिबार प्रदेशसभाको बैठक सकिएपछि पत्रकारहरुसँग कुरा गर्दै माओवादी नेता चुमानले कांग्रेस–माओवादीबीच मुख्यमन्त्रीमा आलोपालोको सहमति भएको र पहिलो पालोमा आफूहरुले पाउनुपर्ने बताएका छन् । 

केन्द्रमा पनि पहिलो पालोमा माओवादीबाट पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री रहेको र पछिल्लो पालो मात्र कांग्रेसबाट प्रधानमन्त्री हुने उनले बताए । गण्डकी प्रदेशमा पनि त्यसरी नै आलोपालो गर्ने उनको दाबी छ । 



केन्द्रबाट निर्देशन लिने र प्रदेश प्रमुखले सरकार गठनको आह्वान हुनेबित्तिकै सरकार बनाउनेतिर लाग्ने उनको भनाइ छ । 

यता, गण्डकी प्रदेशमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले पनि पहिलो पालोमा आफूले मुख्यमन्त्री पाउने दाबी गर्दै आएका छन् । आलोपालोमा कुनै विवाद नरहे पनि ठूलो दलको नाताले आफ्नो पार्टीले पहिले नेतृत्व पाउनुपर्ने उनको दाबी छ । 



गण्डकी प्रदेशमा सत्तापक्षतर्फ नेपाली कांग्रेससँग २७, माओवादी केन्द्रसँग सात सांसद छन् । स्वतन्त्र रुपमा प्रदेश सांसद जितेका राजीव गुरुङ अर्थात् दीपक मनाङे पनि पछिल्लो समय नेकपा एकीकृत समाजवादीम प्रवेश गरेका  छन् । हाल गण्डकीको सत्ता गठबन्धनमा ३५ सांसद छन् । 

कांग्रेसका पाण्डे गोरखाबाट निर्वाचित प्रदेश सांसद हुन् । सुरुमा गोरखा २ मा संघीय सांसदमा दाबी गरेका उनले पछि सो क्षेत्र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई छाड्न राजी भएका थिए ।

चुनाव प्रचारका क्रममा प्रचण्डले पाण्डेलाई पटकपटक भावी मुख्यमन्त्रीका रुपमा भावी मुख्यमन्त्रीका रुपमा प्रस्तुत गरेका थिए । हाल केन्द्रमा प्रधानमन्त्री रहेका प्रचण्ड पाण्डेलाई मुख्यमन्त्री बनाउन सकारात्मक रहेको बताइन्छ । पाण्डे कांग्रेस सभापति शेरबहादुर देउवानिकट मानिन्छन् । प्रचण्ड र देउवा दुवैको विश्वासपात्र रहेकाले पाण्डे नै अबको मुख्यमन्त्री हुनसक्ने देखिन्छ । 
  
 

  • प्रकाशित मिति : वैशाख ९, २०८० शनिबार २०:५१:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया