राजधानीमा क्यान्सरबारे अन्तर्क्रिया : ‘नियन्त्रणका लागि जनचेतनामा जोड दिऊँ’

काठमाडौं– नेपालमा जनचेतनाको अभावले मानिसहरू क्यान्सरलगायत नसर्ने रोगबाट प्रभावित भएको क्यान्सर विशेषज्ञ प्राडा विष्णुदत्त पौडेलले बताएका छन् ।

आइतबार राजधानीको वसुन्धारास्थित हेराल्ड कलेजमा भएको जनचेतना तथा अन्तर्क्रिया कार्यक्रममा बोल्दै डा‍. पौडेलले क्यान्सर नियन्त्रणका लागि जनचेतना अभिवृद्धिमा जोड दिनुपर्ने बताए । 

क्यान्सर काउन्सिल नेपालको आयोजना र ग्लोबल आएमई बैंकको सहकार्यमा सञ्चालित कार्यक्रममा उनले प्रायः क्यान्सरका बिरामी गम्भीर अवस्थामा उपचारको लागि अस्पतालमा आइपुग्ने गरेको भन्दै यसले उपचार खर्च बढी र उपचारको प्रभावकारिता कम भइरहेको सुनाए ।

क्यान्सरलगायत नसर्ने रोग नियन्त्रणका लागि नागरिक स्तरमै सचेतना फैलनुपर्नेमा पौडेलको जोड छ । ‘८० प्रतिशत नसर्ने रोगको कारण सुर्तीजन्य पदार्थ भएकाले सुर्तीजन्य पदार्थ रोकथामको लागि विद्यालयस्तरबाटै बाल–बालिकाहरुलाई सचेत गराउनुपर्छ,’ उनले भने ।

विकसित देशहरुमा जनचेतनाकै कारण सुर्तीजन्य पदार्थको उपभोगमा कमी आउनुका साथै क्यान्सर तथा मुटुरोगबाट ज्यान गुमाउनेको संख्या घट्दै गएको उनले सुनाए । 

क्यान्सर काउन्सिल नेपालका अध्यक्ष रुद्रलाल कडरियाले नयाँ पुस्तालाई सुर्तीजन्य पदार्थबाट जोगाउन अभिभावकहरूले आफ्ना बालबालिमाथि उचित ध्यान दिनपर्ने धारणा राखे । 



विद्यालय जाने उमेरका बालबालिका नकारात्मक क्रियाकलापबाट छिट्टै प्रभावित हुने भएकाले शिक्षिक र अभिभावकले सुर्तीजन्य पदार्थ रोकथामका लागि उनीहरुलाई राम्रोसँग निर्देश गर्नुपर्ने उनले बताए । 

विद्यार्थीहरुले सुरुमा सुर्ती सेवन गर्ने र कालान्तरमा लागुपदार्थसम्म पुग्ने विभिन्न अध्ययनले देखाएको सुनाउँदै उनले भने, ‘युवा पुस्ता नै यसरी कुलत तथा लागुपदार्थको दुर्व्यसनीमा लाग्दा समाजमा अपराधजन्य क्रियाकलाप बढ्ने खतरा हुन्छ ।’



कार्यक्रममा प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ पौडेलले बदलिँदो परिस्थितिमा बढ्दो प्रविधिको प्रयोगसँगै नयाँखाले अपराध पनि बढ्दै गएको उल्लेख गरे । उनले प्रविधिजन्य अपराध रोकथामका लागि सहभागीहरुलाई सचेत पनि गराए । 

‘साइबर–क्राइम’सम्बन्धी पर्याप्त ज्ञान नभएर अहिलेको युवापुस्ता अनजानमै विद्युतीय अपराधमा फसेको सुनाउँदै उनले भने, ‘त्यसैले सामाजिक सञ्जाल चलाउँदा पनि हामी सचेत हुनुपर्छ ।’  

कार्यक्रममा ग्लोबल आइएमई बैंकका प्रतिनिधि सागरबहादुर सिंहले वित्तीय साक्षरताबारे जानकारी दिँदै बैंकको सामाजिक उत्तरदायित्वअनुसार सुर्तीजन्य पदार्थ रोकथामको लागि क्यान्सर काउन्सिल नेपालसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । 

हेराल्ड इन्टरनेसनल कलेजका प्रिन्सिपल नारायणप्रसाद उपाध्यायले क्यान्सर काउन्सिल नेपालले सुर्तीजन्य पदार्थ रोकथामको लागि चलाएको अभियानको प्रशंसा गर्दै कलेजले यस अभियानमा सहकार्य गर्ने प्रतिबद्धता जनाए ।

  • प्रकाशित मिति : फागुन १२, २०७५ आइतबार १७:४७:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया