सरकारलाई सर्वोच्चको आदेश– शोभराजको कैद छुटबारे छिटो निर्णय गर

काठमाडौं– कुख्यात अन्तर्राष्ट्रिय अपराधी चार्ल्स शोभराजलाई कैद छुट दिने वा नदिनेबारे छिट्टै निर्णय गर्न सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ ।  ‘विकिनी किलर’का रूपमा परिचित शोभराज सन् २००३ देखि नेपालमा जेलजीवन बिताइरहेका छन् ।

७५ वर्षे शोभराजले १९ कात्तिकमा अधिवक्ता शकुन्तला थापामार्फत जेष्ठ नागरिकले पाउनुपर्ने ७५ प्रतिशत कैद छुटको सुविधा दिलाउन माग गर्दै सर्वोच्चमा रिट हालेका थिए ।  

उनको रिटमा सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडा र बमकुमार श्रेष्ठको इजलासले तीन महिनाभित्र छुट दिने वा नदिने निर्णय गर्न सरकारलाई आदेश दिएको हो ।

जेलभित्र असल चालचलन भएका, ७० वर्ष उमेर पुगेका कैदीलाई ७५ प्रतिशतसम्म कैद छुट दिन सकिने कानुनी व्यवस्था छ । उक्त व्यवस्था कैद सजाय भोगिरहेका नेपाली मात्र नभई विदेशी नागरिकको हकमा पनि लागू हुनुपर्ने शोभराजको माग छ ।

अमेरिकी तथा क्यानेडियन नागरिकको सन् १९७५ मा गरेको हत्या अभियोगमा उनलाई काठमाडौं र भक्तपुर जिल्ला अदालतले दोषी ठहर गरेका थिए । 

१९७० को दशकतिर काठमाडौंमा संसारभरका हिप्पीहरुको जमघट हुन्थ्यो । यसैबीच, नेपालमा ‘केयर फ्री’ जीवन बिताइरहेका ‘हिप्पी’हरुलाई उनी आफ्नो सिकार बनाउँथे ।



काठमाडौंको मनहरामा अमेरिकी नागरिक कोन्नीजो ब्रोन्जिजको हत्या गरेको पर्सीपल्टै शोभराजले क्यानेडियन नागरिक लरेन्ट अरमान क्यारिअरेलाई भक्तपुरको साँगामा लगेर मारेका थिए ।

काठमाडौं जिल्ला अदालतमा चलेको उनको मुद्दा सर्वोच्च अदालतसम्म पुगेको थियो । जिल्ला अदालतले उनलाई गरको जन्मकैदको फैसला सर्वोच्च अदालतले सदर गरेको थियो । 



  • प्रकाशित मिति : फागुन १२, २०७५ आइतबार १९:३६:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया