वैशाख ९ गते दाङमा एउटा घटना घट्यो । नौ वर्षीया बालिकालाई जबरजस्तीकरणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका–१ बाहुनटाढी बस्ने २१ वर्षीय राम नेपालीलाई प्रहरीले पक्राउ गर्यो । बालिकालाई ललाई–फकाई नजिकैको खरबारीमा लगेर जबरजस्ती करणी गरेको आरोपका आधारमा नेपालीलाई प्रहरीले पक्राउ गरेको हो ।
त्यसैगरी, वैशाख ९ मा नै कपिलवस्तुमा १० वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बुद्धभूमि नगरपालिका–१ बस्ने ३४ वर्षीय टोपबहादुर रायमाझीलाई प्रहरीले पक्राउ गर्यो । यी केही प्रतिनिधि पात्र मात्र हुन् । पछिल्लो समय नाबालिगमाथि हुने बलात्कार तथा यौन दुर्व्यवहारका घटना बढेको पाइएको छ । प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७६–०७७ मा १० वर्षमुनिका मात्रै २७३ जना नाबालिका बलात्कारको सिकार भएका छन् ।
त्यस्तै, आर्थिक वर्ष २०७७–२०७८ मा ३०५ जना नाबालिका बलात्कृत भएका छन् । त्यसैगरी, २०७८–७९ मा ४६८ जना नाबालिका बलात्कार भएका छन् । आर्थिक वर्ष २०७९–८० वैशाख १० सम्मको तथ्यांक अनुसार १५९ जना गरी यो चार वर्षमा एक हजार ५ जना १० वर्षमुनिका नाबालिका बलात्कारमा परेका छन् ।
त्यस्तै, ओरेक नेपालले २०२३ मार्च महिनामा गरेको अध्ययनअनुसार कूल बलात्कृतमध्ये ४० प्रतिशत नाबालिका छन् । हाम्रो कानुनले १८ वर्ष पुगेपछि मात्र बालिग मान्ने गरेको छ । नाबालिकामाथि हुने यौन हिंसा र बलात्कारका घटना बढ्नुमा सबैभन्दा धेरै राज्यको दोष भएको बताउँछिन्, समाजशास्त्री निर्मला ढकाल । भन्छिन्, ‘नाबालिका बलात्कारका आरोपितलाई नै जय जयकार गर्ने जमात छ । उस्तै न्यायिक प्रणालीको अभ्यास छ ।’
पीडकलाई भन्दा पीडितलाई साथ दिने समाज र कमजोर प्रशासन भएको राज्यमा नाबालिक बलात्कारको घटना कहिले पनि नघट्ने ढकालको भनाइ छ । ‘बलात्कारजस्तो जघन्य अपराधलाई हल्का रुपमा लिने अभ्यासले यस्ता घटनालाई बढावा दिन्छ,’ उनले भनिन्, ‘बेइज्जत हुने डरले यौन दुर्व्यवहार लुकाउने प्रवृत्ति छ ।’
‘छोएको मात्रै त हो भन्ने मानसिकतामा हामी छौँ,’ उनले भनिन्, ‘कुन नियतले छोयो, कहाँ छोयो, किन छोयो ? हामीले दुर्व्यवहार बुझाउन सकेका छैनौँ ।’ परिवारले संरक्षकको भूमिकामा परिमार्जन गर्नुपर्ने देखिन्छ । किनभने नाबालिकाहरू घरपरिवारकै सदस्यबाट नै हिंसामा परेका घटना आइरहेका छन् । साथै, प्रशासन कमजोर भएका कारणले पनि यस्ता घटनामा न्याय पाउन नसकिएको उनको गुनासो छ । भन्छिन्, ‘प्रशासन समयमा पुग्न सकेको देखिँदैन, शिक्षा र चेतनाका माध्यमबाट राज्यले भूमिका निभाउन सकेको छैन ।’
सामाजिक सञ्जालको माध्यमले पनि यस्ता घटना बाहिर ल्याउनुपर्ने जागरण आएको उनको बुझाइ छ । विद्यालय र क्याम्पसमा यौन शिक्षा दिएर सचेतना अभियान चलाएमा नाबालिकामाथिको बलात्कार शृंखला रोक्न सकिन्छ । यौन शिक्षा र नैतिक शिक्षाको विषय हाम्रो पाठ्यक्रममा कम छ ।
पाठ्यक्रममा भएको यौन शिक्षा र नैतिक शिक्षा पढाउन सक्ने क्षमता भएका र तालिम प्राप्त शिक्षकको अभाव देखिएको बताउँछिन्, समाजशास्त्री ढकाल । फरकधारसँग कुरा गर्दै उनले भनिन् –‘के गर्ने, के नगर्ने, कहाँ जाने, कहाँ नजाने भन्ने न्यूनतम कुराको निर्णय गर्न पनि बालबालिका सक्षम छैनन्, त्यसले गर्दा यस्तो घटना बढेको छ ।’
बालिगलाई कानुनी अज्ञानता क्षम्य हुँदैन । तर, नाबालिगका लागि पनि पाठ्यक्रममा कानुनी शिक्षा लागू गर्नुपर्ने उनको तर्क छ । ‘नैतिक शिक्षालाई पाठ्यक्रममा नाबालिगहरूको चेतना स्तर विकास हुँदादेखि नै पढाउनुपर्ने हो,’ उनी भन्छिन् –‘तर, त्यसबारेको पाठ्यक्रम नै छैन ।’
यौनबारे सचेतना र यौन शिक्षा नदिँदा नाबालिग बलात्कृत हुने घटना बढ्दै गएको बताउँछिन्, प्रा.डा. गंगा पाठक । मनोविद् डा.पाठक भन्छिन्, ‘यौन शिक्षाको कमी छ, घरमा विद्यालयमा यसबारे कुरा गर्दैनन् ।’ विद्यालयको पाठ्यक्रममा यौन शिक्षा राख्नुपर्ने डा. पाठकको तर्क छ । उनी भन्छिन्– ‘बाल बालिकालाई म के गर्दै छु, कोसँग कति दूरी राख्ने ? कसले कतिसम्म छोएको राम्रो/नराम्रो वा उनीहरुको इन्टेन्सन के हो भन्ने कसरी बुझ्ने भन्नेबारे शिक्षा दिनुपर्छ ।’
बालबालिकाहरूलाई अभिभावकले गर्ने निगरानीमा पनि कमी भइरहेको छ । घरमा बस्दा कोठा थुनेर बस्ने छोराछोरीले कोसँग कुरा गर्छन् भन्नेबारे अभिभावकले वास्ता गर्दैनन् । उनीहरू कस्ता साथीभाइसँग संगत बनाएर कहाँ जान्छन् भन्नेबारे अभिभावकले निगरानी गर्न नसकेको बताउँछिन्, मनोविद् पाठक । ‘हरेक अभिभावक सजग हुनुपर्छ’ उनले फरकधारसँग भनिन्,‘पछिल्ला घटनाले सामाजिक–पारिवारिक संरचनामा नै चुनौती आएको छ ।’
आफ्ना छोराछोरी कहाँ जाँदै छन्, कस्ता साथीभाइ छन् भनेर अभिभावकले निगरानी गर्नुपर्ने उनको भनाइ छ । ‘बच्चाहरूलाई क्लब जान, गलत साथी बनाउन र संगत गर्न रोक्नुपर्छ,’ उनले सुनाइन्,‘आफ्नो बच्चाको मनोविज्ञान अभिभावकले स्वास्थ्यकर बनाउनुपर्छ ।’
१० वर्षका बालबालिकाले पोर्नोग्राफी हेरेको घटनामा आफूले परामर्श दिएको उदाहरण दिँदै डा. पाठक भन्छिन्, ‘बालक र बालिका दुवै पोर्नोग्राफी हेर्छन्, त्यो हेरे पनि बायोलोजिकल हर्मोनका कारण यौन इच्छा जागृत हुन्छ, तर हामीले त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्नेबारे सिकाएनौँ ।’
विद्यालय शिक्षामा यौन शिक्षा अनिवार्य गरेपछि बल्ल अहिलेको स्थितिलाई नियन्त्रण गर्न सकिने डा. पाठकको सुझाब छ । तर, के हामीले डा.पाठक र ढकालले भनेजस्तै जोखिममा रहेका नाबालिकलाई जोगाउने पाठ पढेका छौँ ? यसको जवाफ सकारात्मक पाइँदैन । हामी उल्टो यात्रामा जाँदै छौँ ।
शीर्षकमा भनिएजस्तै हामी पीडकलाई नै पुजिरहेका छौँ, उनैको जय–जयकार पनि गरिरहेका छौँ । के त्यसो हो भने हामी अझै कहालीलाग्दा घट्नाको पखाइमा हौँ ?
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।