नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रबीच संसदीय समितिको भागबण्डाकाे टुंगाे लागेकाे छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा सोमबार दिउँसो बसेको तीन दलको बैठकमा एमालेलाई तीन समितिको नेतृत्व दिने सहमति भएको हो ।
बैठकले टिआरसीबारे विशेष समिति गठन गर्ने र संघीय संसदका दुइ विशेष समितिमध्ये एमालेलाई राज्यका निर्देशक सिद्धान्त अनुगमन तथा निर्देशन विशेष समितिको सभापति दिने सहमति भएको हाे ।
संसदीय सुनुवाइ समितिको भने सभापति कांग्रेसले पाउने भएको छ । १५ सदस्यीय सुनुवाइ समितिमा कांग्रेस र एमालेबाट ४-४ जना रहनेछन् । बाँकी सातजना माओवादी, रास्वपा, राप्रपा, जसपा, एकीकृत समाजवादी लगायत दलबाट प्रतिनिधि रहनेछन् ।
एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीका अनुसार १० वटा विषयतगत समितिमध्ये एमालेकाे भागमा सार्वजनिक लेखा समिति र थप एक समितिको सभापति परेकाे छ ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक लेखकले संघीय संसदका १२ वटा समितिमध्ये एमालेले तीनवटा समितिको नेतृत्व गर्ने बताए । विपक्षीलाई पनि संसदीय समितिमा भागबण्डा दिएर नयाँ पद्धतिको विकास गरेको उनकाे भनाइ छ ।
छलफलमा कांग्रेसबाट सभापति शेरबहादुर देउवा र प्रमुख सचेतक रमेश लेखक थिए भने एमालेबाट अध्यक्ष केपी ओली, संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रमुख सचेतक पदम गिरी सहभागी थिए ।
यस्तै, माओवादीबाट प्रधानमन्त्री पुष्पकमल पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख सचेतक हितराज पाण्डे सहभागी थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।