निर्वाचितपछि स्वर्णिमको प्रतिक्रिया : कार्यकारी भूमिका पाए राष्ट्रकै जिम्मेवारी बोक्छु
तस्बिर : कृष्ण न्यौपाने /रासस

प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ–१ विजयी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का स्वर्णिम वाग्लेले चुनावमा गरेको वाचा पूरा गर्दै गर्व गर्न लायक सांसद बन्ने लक्ष्य पूरा गर्ने बताएका छन् ।

आज बिहान निर्वाचित भएको प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै उनले चुनावीसभामा गरेका वाचा पूरा गर्ने बताएका हुन् । ‘मैले चुनावीसभामा पनि भनेको थिएँ– तनहुँले गर्व गर्न लायक सांसद बन्ने लक्ष्य छ । लक्ष्य परिपूर्ति गर्न मिहिनेत गर्नेछु,’ वाग्लेले भने, ‘केही कमजोरी भए बताइदिनुहोला, म सच्चिएर जानेछु ।’ 

उनले जनताले गरेका अपेक्षालाई न्याय हुने गरेर काम गर्ने प्रतिबद्धता पनि जनाए । नवनिर्वाचित सांसद वाग्लेले कार्यकारी भूमिका पाए तनहुँसहित राष्ट्रकै जिम्मेवारी बोक्ने पनि बताए ।

‘संसदमा मैले गर्ने प्रस्तुति, तयारी र पछि कार्यकारी भूमिका निभाउन सकेँ भने तनहुँलाई हेर्छु नै सम्पूर्ण राष्ट्रको जिम्मेवारी म बोक्छु । अन्तर्राष्ट्रिय मञ्चमा पनि विस्तार हुनेछु,’ उनले भने । 

वाग्लेले गोविन्द भट्टराईसँग चुनाव लड्नु परेकोमा आफूलाई केही दुःख लागेको पनि बताए । यद्यपि, चुनावी नतिजा जे भए पनि सबै दलसँग मिलेर काम गर्ने उनको भनाइ छ ।

‘गोविन्द भट्टराईलाई हराउन म आएको थिइनँ । देशका मुद्दा र विचारका कुरा थिए । गोविन्द भट्टराईजस्तो सादगी, त्याग गरेको, विद्यार्थी राजनीति गरेर खारिएर आउनुभएकोसँग लड्नुपर्‍यो,’ वाग्लेले भने, ‘यो व्यक्तिभन्दा माथिको कुरा भयो । उहाँले तनहुँमा भिजेर गर्नुभएको कामबारे राम्रो जानकारी छ । सबैको विश्वास लिएर, सहकार्य गरेर अघि बढ्छु ।’



गएराति सम्पन्न अन्तिम मतपरिणामअनुसार वाग्ले ३४ हजार ४ सय ८० मतसहित विजयी भए । उनले कांग्रेस उम्मेदवार गोविन्द भट्टराईलाई १४ हजार ३ सय ८८ मतान्तरले हराए । 

भट्टराईले २० हजार ९२ मत ल्याए भने नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ८ हजार ५ सय ५५ मतमात्र प्राप्त गरे । १ लाख २३ हजार ३ सय ५ मतदाता रहेको तनहुँ १ मा उपनिर्वाचनमा झन्डै ६५ हजार मत मत खसेको थियो ।  



  • प्रकाशित मिति : बैशाख १२, २०८० मंगलबार १०:१८:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया