काठमाडौं महानगरपालिकाले मंगलबारदेखि लागू हुने गरी सामुदायिक माध्यमिक विद्यालय तहमा छोटो अवधिको सीपमूलक तालिम कार्यक्रम सुरुवात गरेको छ ।
मंगलबार महानगरपालिकाले काठमाडौंमा माध्यमिक तहमा छोटो अवधिको सीपमूलक तालिम कार्यक्रमको सुरुवात गरेको हो । महानगरले काठमाडौं महानगर क्षेत्रभित्रका ५६ वटा सामुदायिक माध्यमिक विद्यालयमा कक्षा ९ देखि १२ कक्षासम्मका विद्यार्थीलाई छोटो अवधिको सीपमूलक तालिम र पुस्तकविहीन शुक्रबार कार्यक्रमको सुरुवात गरेको छ ।
महानगरपालिकाले विद्यालयमा विद्यार्थीले पुस्तकबाट प्राप्त हुने सैद्धान्तिक ज्ञानसँगै जीवनउपयोगी, सीपमूलक र व्यवहारिक शिक्षा प्रादन गरी स्वरोजगार हुने जनशक्ति तयार पार्ने उद्देश्य लिएको छ ।
कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साहले महानगरले सुरु गरेको छोटो अवधिको सीपमूलक तालिम कार्यक्रम नयाँ नभएर गुरुकूल शिक्षामा लागेको ब्रेकलाई निरन्तरता दिएको बताए । उनले महानगरले विद्यालयमा सीप मात्रै नभएर मानिसको जीवन के हो भनेर सिकाउन खोजिएको बताए । मेयर शाहले पछिल्लो समय सानो र ठूलो काम भनेर श्रम गर्नेहरूको इज्जत समेत गर्न नजानेकाले सानो वा ठूलो जुनसुकै कामलाई सम्मान गर्न सिकाउने उद्देश्य रहेको बताए ।
त्यस्तै, काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले आफ्नो जीवनशैलीलाई व्यवस्थित बनाउने सीप हातमा छैन भने पढेर ल्याएको उच्च नम्बर, अंक र प्रतिशतले काम नगर्ने बताइन् । उनले परीक्षामा विद्यार्थीको कति प्रतिशत नम्बर आयो प्रथम, द्वितीय भए भन्ने कुरा क्षणिक भएको भन्दै त्यो एकछिनको लागि महत्वपूर्ण जस्तो लाग्ने बताइन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।