अस्ट्रेलियाको चासोमा नेपाली विद्यार्थी

विदेशमा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीलाई सहजीकरण गर्न खुलेका शैक्षिक परामर्श संस्था (कन्सल्टेन्सी) व्यवसायी र अस्ट्रेलियन हाइकमिसनका प्रतिनिधिबीच भेटवार्ता भएको छ ।

कन्सल्टेन्सी व्यवसायी, नेपालमा रहेका अस्ट्रेलियन विश्वविद्यालयका प्रतिनिधिलाई अस्ट्रेलियन हाइकमिसन नयाँ दिल्लीबाट आएको प्रतिनिधिको टोलीले सोमबार काठमाडौंमा भेटघाट गरेको हो ।

नेपाली कन्सल्टेन्सी आबद्ध नायर, इक्यान, नेकालगायत विभिन्न ६ वटा संस्थाका प्रतिनिधि र अस्टे«लियन विश्वविद्यालयका नेपालमा रहेका प्रतिनिधिलाई अस्ट्रेलियन हाइकमिसन नयाँ दिल्लीबाट आएको प्रतिनिधि टोलीले सोमबार भेटघाट गरेकोे नेप्लिज एसोसिएसन अफ अस्ट्रेलियन एजुकेसन रिप्रिजेन्टेटिभ्स (नायर)का महासचिव थरेन्द्र अधिकारीले जानकारी दिए । नेपालमा रहेका अस्ट्रेलियन राजदूतका प्रतिनिधिले उक्त टोलीसँग भेटलाई सहजीकरण गरिदिएको उनको भनाइ छ ।

उक्त भेटघाटमा अस्ट्रेलिया सरकारकाले भिसासम्बन्धी जारी गरेका नीति, नियम र नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गर्ने वैदेशिक अध्ययन अनुमति पत्र (नो–अब्जेक्सन लेटर, एनओसी) सम्बन्धमा पनि छलफल भएको महासचिव अधिकारीले बताए ।

उक्त भेटवार्तामा सरकारले जारी गरेको ‘वैदेशिक अध्ययन स्वीकृति सम्बन्धी निर्देशिका–२०७९’ को विषयमा पनि छलफल भएको उनले बताए ।

डिप्लोमा, भाषा अध्ययनलगायत विषयको अध्ययनका लागि विदेश जाने विद्यार्थीलाई नेपाल सरकारले गरेको कडाइ, डिप्लोमा अध्ययनका लागि अस्ट्रेलिया जान चाहने धेरै विद्यार्थीको भिसा रद्द हुने गरेका विषयमा समेत छलफल भएको उनले बताए ।



उक्त टोलीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका केही पदाधिकारीसँग भेटघाट गर्ने कार्यक्रमसमेत रहेको उनले बताए ।

नेपाली विद्यार्थीले अस्ट्रेलियन शिक्षालाई मन पराएर जाने गरेको र यसलाई अझै व्यवस्थित गरेर लैजानुपर्छ भन्ने उक्त भेटवार्ताको मुख्य सार रहेको अधिकारीले बताए ।



त्यस्तै, नेपाली विद्यार्थीलाई समस्या नपर्ने गरी काम गर्ने विषयमा अस्ट्रेलियन विश्वविद्यालयका प्रतिनिधि र कन्सल्टेन्सी सञ्चालकबीच छलफल भएको हो ।

नायर स्थापना, उद्देश्य

नेप्लिज एसोसिएसन अफ अस्ट्रेलियन एजुकेसन रिप्रिजेन्टेटिभ्स (नायर) सन् २००७ मा स्थापना भएको एउटा साझा संस्था हो ।

अस्ट्रेलियन सरकारसँग काम गर्ने उद्देश्यले नेपालमा खुलेका संस्था र नेपाल सरकारसँग काम गर्ने अस्ट्रेलियन विश्वविद्यालयलगायत संस्थालाई सहजीकरण गर्ने काम यो संस्था गर्छ ।

नायरमा आबद्ध स्वदेशी तथा विदेशी संस्थाहरूलाई सूचना आदान/प्रदान गर्ने उद्देश्यले यस संस्थाको स्थापना भएको हो ।

यसमा आबद्ध नेपाली कन्सल्टेन्सीहरूलाई अस्ट्रेलियन सरकारका नीति, नियमबारे र नेपाल सरकारसँग काम गर्ने अस्ट्रेलियन विश्वविद्यालय तथा नायरमा आवद्ध विदेशी संस्थालाई नेपाल सरकारका नीति, नियमलगायत विषयको जानकारी गराउँछ ।

यो संस्थामा आबद्ध जति पनि संस्था छन्, ती सबैलाई हरेक कुराहरूको अद्यावधिक गराउने र अप्ठ्यारोमा परेकालाई सहजीकरण गरिदिने काम यसले गर्ने नायरकी अफिसर म्यानेजर समी पोखरेलले जानकारी दिइन् । नायरसँग अस्ट्रेलियाका १३ वटा विभिन्न विश्वविद्यालय शैक्षिक सहकर्मी बनेको उनले बताइन् ।

उनका अनुसार अस्ट्रेलियन सरकारसँग काम गर्ने नेपाली संस्थाहरूलाई सहजीकरण गरिदिने नै यसको मुख्य उद्देश्य हो । नेपालमा सञ्चालित ३८ वटा कन्सल्टेन्सीहरू नायरमा आवद्ध छन् ।

ती सबै संस्थाहरूलाई अस्ट्रेलियाका नीति, नियम, कानुन लगायत अस्ट्रेलियन सरकारले गर्ने हरेक निर्णयबारे जानकारी नायरले गराउने उनले बताइन् ।

उनका अनुसार नेपालका केही कन्सल्टेन्सी व्यवसायी र कूटनीतिक संस्थाहरूको सल्लाहबमोजिम यो संस्था स्थापना भएको थियो ।

  • प्रकाशित मिति : बैशाख १२, २०८० मंगलबार १६:५९:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया