मधेस प्रदेशमा ७० प्रतिशतभन्दा बढी पुस्तक वितरण

यसवर्ष देशभरका अधिकांश विद्यालयहरूमा समयमै पाठ्यपुस्तक पुगेको छ । सोही क्रममा मधेस प्रदेशका ७ जिल्ला र ओखलढुंगा, खोटाङ, उदयपुर तथा सिन्धुली जिल्लामा पनि नयाँ शैक्षिकसत्र सुरु भएसँगै गएको चैत २६ देखि पाठ्यपुस्तक वितरण सुरु गरेर जनक शिक्षा सामग्री केन्द्रले विद्यालयहरूमा समयमै पाठ्यपुस्तक पुर्याएको हो । 

पाठ्यपुस्तक बिक्री–वितरण र छपाइका विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अधिकारीले जनक शिक्षा सामग्री केन्द्रको अनुगमन गरेपश्चात् जनक शिक्षाका प्रबन्धक अनिलकुमार झाले नयाँ शैक्षिकसत्रमा सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुर्याउने गरी काम भइरहेको बताएका थिए ।
मधेस प्रदेशका विद्यालयहरूमा पनि यसवर्ष समयमै पाठ्यपुस्तक पुगेको हो । सामुदायिक विद्यालयहरूमा विद्यार्थी भर्ना अभियान सञ्चालन भइरहँदा जनक शिक्षा सामग्री केन्द्रले समयमै पाठ्यपुस्तक बाँडेको केन्द्रका मधेस प्रदेश कार्यालय प्रमुख रुद्र खनालले जानकारी दिए ।
 
उनले हालसम्म ७० प्रतिशतभन्दा बढी पुस्तक वितरण भइसकेको जानकारी दिए । केन्द्रले यसवर्ष १६ लाख ३२ हजार पुस्तक वितरण गर्ने लक्ष्य राखेको उनले बताए । वैशाख ११ गतेसम्म १० लाख ८२ हजार २३४ पुस्तक वितरण भइसकेका छन् । केन्द्रसँग २ लाख १८ हजार १९३ थान पुस्तक मौज्दात रहेकोमा ३ लाख ३१ हजार ५७३ थान पुस्तकको अझै आवश्यकता रहेको प्रमुख खनालले जानकारी दिए । 

जनक शिक्षा सामग्री केन्द्रको मधेस प्रदेश कार्यालयले प्रदेशको बाराबाहेक अन्य ७ जिल्ला र ओखलढुंगा, खोटाङ, उदयपुर तथा सिन्धुली जिल्लामा पनि पुस्तक उपलब्ध गराउँदै आएको छ ।

जनक शिक्षा सामग्री केन्द्र मधेस प्रदेशले अहिले यस केन्द्रमा कक्षा ६ देखि १० सम्मका लागि आवश्यक पाठ्यपुस्तक आइसकेको जनाएको छ । पाठ्यपुस्तक परिवर्तन भएका सामाजिक, विज्ञान र स्वास्थ्य विषयका पुस्तक आउने क्रममा रहेको प्रमुख खनालले बताए । 

ती जिल्लाका व्यवसायीले आफ्नो व्यवसायलाई पाठ्यक्रम विकास केन्द्रमा सूचीकृत गरिसकेको र अन्य पनि सूचीकृत तथा नवीकरण हुन आउने क्रम जारी रहेको उनले बताए । कोरोना कहरका कारण मुलुकको अवस्था सामान्य बनेर पठनपाठन पुनः सञ्चालन भएपछि किताबको अभाव नहुने उनको भनाइ छ । आगामी शैक्षिक सत्रबाट कक्षा १२ को पुस्तक पनि जनक शिक्षाले नै वितरण गर्नेछ । 

सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीका लागि यस केन्द्रले पुस्तक पुर्याउँछ भने संस्थागत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई निजी क्षेत्रले पुस्तक उपलब्ध गराउँदै आएको छ । 



पुस्तक वितरण गर्ने लक्ष्य कस्तो छ ?

कक्षा ६ को २ लाख ९२ हजार पुस्तक बिक्री गर्ने लक्ष्य रहेकोमा हालसम्म १ लाख ९९ हजार २२३ बिक्री भइसक्दा ६५ हजार ३६२ थान पुस्तक अझै आवश्यक छ । केन्द्रसँग हाल कक्षा ६ को २७ हजार ४१५ थान पुस्तक मात्र मौज्दातमा छ । 
 
कक्षा ७ का लागि २ लाख ९२ हजार पुस्तक बिक्री गर्ने लक्ष्य राखेकोमा हालसम्म २ लाख २ हजार ६२ पुस्तक बिक्रि भइसकेको र ३६ हजार ३३१ पुस्तक अझै आवश्यक छ । केन्द्रसँग कक्षा ७ को ५३ हजार ६०७ थान पुस्तक मौज्दातमा छ । 



कक्षा ८ को ३ लाख ७० हजार पुस्तक बिक्रि गर्ने लक्ष्य रहेकोमा वैशाख ११ गतेसम्म २ लाख ३६ हजार ३ थान पुस्तक बिक्रि भइसकेको र १ लाख २३ हजार ४७६ थान अझै आवश्यक छ । केन्द्रसँग कक्षा ८ को १० हजार ५२१ थन पुस्तक मौज्दातमा छ । 

त्यस्तै, कक्षा ९ को ३ लाख १९ हजार १ सय थान पुस्तक बिक्रि गर्ने लक्ष्य रहेकोमा २ लाख १६ हजार ४९८ थान बिक्रि भइसकेका छन् । केन्द्रलाई २७ हजार ५५ पुस्तक अझै आवश्यक रहेकोमा ७५ हजार ५४७ थान मौज्दात बाँकी रहेको देखिन्छ । 

कक्षा १० को ३ लाख ५९८ हजार ९ सय थान पुस्तक बिक्रि गर्ने लक्ष्य रहेकोमा २ लाख २८ हजार ४४८ थान पुस्तक बिक्रि भइसकेका छन् । केन्द्रसँग ५१ हजार १०३ थान पुस्तक मौज्दात रहँदा ७९ हजार ३४९ थान पुस्तकको अझै आवश्यकता रहेको प्रमुख खनालले जानकारी दिए ।

  • प्रकाशित मिति : बैशाख १२, २०८० मंगलबार १८:२८:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया