चितवन-तनहुँबाट उत्साहित रास्वपा बारामा निराश, जोगाउन सकेन जमानत

गत आइतबार भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । अन्तिम नतिजा हेर्दा दुईमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र एक क्षेत्रमा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार विजयी भए ।

तनहुँ–१ मा डा. स्वर्णिम वाग्ले र चितवन–२ मा रवि लामिछाने तथा बारा–२ मा उपेन्द्र यादव विजयी भएका हुन् । उपनिर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेले भने जित निकाल्न सकेनन् । सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले भने उपनिर्वाचनमा उम्मेदवार उठाएन । 

यद्यपि उसले तीनवटै निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेदवारलाई समर्थन गरेको थियो । उपनिर्वाचनको अन्तिम नतिजा सार्वजनिकसँगै दलहरूमा समीक्षा हुन थालेको छ । केही नेताहरूले चुनावी परिणामबारे प्रतिक्रिया पनि दिइसकेका छन् । 

विशेषगरी चुनावी नतिजाले कांग्रेस त्रसित भएको छ । पूरा शक्ति प्रदर्शनका बाबजुद उपनिर्वाचनमा अपेक्षाकृत नतिजा नआएपछि कांग्रेसमा तनाव बढेको हो । चितवन–२ भन्दा तनहुँ–१ मा आफ्नो उम्मेदवार विजयी हुनेमा कांग्रेस आशावादी थियो । तर, ४ मंसिरमा वर्तमान राष्ट्रपति रामचन्द्र पौडेल निर्वाचित क्षेत्रमा उपनिर्वाचनमा भने कांग्रेसले निराशा मात्र हात पार्‍यो । 

तनहुँ–१ मा कांग्रेसका गोविन्द भट्टराई रास्वपाका स्वर्णिम वाग्लेसँग साढे १४ हजार बढी मतान्तरले पराजित भए । विजयी वाग्लेलाई ३४ हजार ९१९ मत मिल्दा भट्टराई २० हजार १२२ मतमा सीमित भए । यसपटक कांग्रेसले आफ्नै मत पनि जोगाउन सकेन । 

गत मंसिरको चुनावमा तनहुँ–१ बाट पौडेल २५ हजार ३१८ मतका साथ विजयी भएका थिए । त्यस्तै, एमालेले पनि यहाँ आफ्नो मत जोगाउन सकेन । अघिल्लो चुनावमा झन्डै २० हजार मत पाएको एमालेले उपनिर्वाचनमा ८ हजार ४८८ भोट मात्र पायो । 



चितवन–तनहुँमा उत्साहित रास्वपा बारामा निराश 

उपनिर्वाचनअघि रास्वपाको नारा थियो– एकको बदला तीन । उसले लक्ष्य पूरा गर्न नसके पनि एक सिट भने थप्न सक्यो । चितवन र तनहुँजस्तै बारामा पनि नतिजा आफ्नो पक्षमा ल्याउने रास्वपाको रणनीति थियो । तर, परिणामले त्यसो देखाएन । 



अर्थात् बारा–२ का मतदाताले रास्वपालाई पत्याएनन् । रास्वपाले त्यहाँ रमेश खरेललाई उम्मेदवार बनाएको थियो । उपनिर्वाचनकै मुखमा ‘घन्टी’ समातेका खरेलले ६ महिनामै दोस्रोपटक पराजय बेहोरे । गत ४ मंसिरको निर्वाचनमा उनी काठमाडौं–१ बाट प्रतिस्पर्धामा थिए । तर, सो चुनावमा उनी पाँचौं भए ।

५ वर्ष धैर्य नगरी उपनिर्वाचनबाट सांसद सपना बुनेका खरेलले बारा–२ मा जमानत पनि जोगाउन सकेनन् । निर्वाचनमा कुल सदर मतको १० प्रतिशत मत नल्याएपछि उनको जमानत जफत भएको हो ।

बुधबार बिहान सकिएको मतगणनाको अन्तिम परिणामअनुसार खरेलले २ हजार ८ सय २९ मत प्राप्त गरे । बारा–२ का मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायका अनुसार ६९ हजार २२ मत खसेकोमा ६८ हजार १९२ मत सदर भएको छ ।

जसअनुसार रास्वपा उम्मेदवार खरेलले पाएको मत ४.१४ प्रतिशत रहेकाले उनको जमानत जफत भएको हो । बारा–२ मा जमानत जफत हुने खरेल एक्ला भने होइनन् । त्यहाँ उनीसहित ३१ उम्मेदवारको जमानत जफत भएको छ । 

  • प्रकाशित मिति : बैशाख १३, २०८० बुधबार ९:३१:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया