उपनिर्वाचन : एमाले तीनवटै क्षेत्रमा तेस्रो, ४ मंसिरको मत पनि जोगाउन सकेन

गत आइतबार भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा नेकपा एमाले कमजोर देखिएको छ । उपनिर्वाचन भएको तनहुँ–१, चितवन–२ र बारा–२ गरी तीनवटै क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक हुँदा एमाले कमजोर देखिएको हो ।

ऊ तीनवटै निर्वाचन क्षेत्रमा तेस्रो भयो । तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का स्वर्णिम वाग्ले, चितवन–२ मा रास्वपाकै रवि लामिछाने र बारा–२ जनता समाजवादी पार्टी, नेपालका उपेन्द्र यादव निर्वाचित हुँदा एमाले उम्मेदवारले भने ४ मंसिरमा पाएको मत पनि जोगाउन सकेनन् । 

तनहुँ–१ मा मंसिरको आमनिर्वाचनमा कांग्रेस रामचन्द्र पौडेल २५ हजार ३६१ मतसहित विजयी हुँदा एमालेका एकबहादुर राना मगर निकटतम् प्रतिद्वन्द्वी थिए । दोस्रो भएका मगरले १९ हजार ९८१ मत प्राप्त गरेका थिए । 

यसपटक तनहुँ–१ मा एमालेले सर्वेन्द्र खनाललाई उम्मेदवार बनायो । तर, तेस्रो भएका उनले ८ हजार ४८८ मत मात्रै पाए । गत मंसिरमा भन्दा उपनिर्वाचनमा एमालेले करिब साढे ११ हजार मत कम प्राप्त गर्यो । तनहुँ–१ मा कांग्रेसका गोविन्द भट्टराई २० हजार १२२ मतसहित दोस्रो भए । 

यहाँबाट निर्वाचित भएका रास्वपाका वाग्लेले ३४ हजार ९१९ मत ल्याए । त्यस्तै, चितवनमा पनि एमाले तेस्रोमा सीमित भयो । चितवन–२ बाट निर्वाचित रास्वपा सभापति लामिछानेले ५४ हजार १७६ मत प्राप्त गरे । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका जीतनारायण श्रेष्ठले ११ हजार २१४ मत ल्याए । तेस्रो भएका एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत मात्र प्राप्त गरे ।

गत ४ मंसिरको निर्वाचनमा एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६४७ मत प्राप्त गरेका थिए । ०७४ को निर्वाचनमा भने पोखरेल चितवन–२ बाट निर्वाचित भएका थिए ।   



बारा–२ को उपनिर्वाचनम पनि एमाले उम्मेदवार तेस्रो भए । यो क्षेत्रबाट उम्मेदवारी दिएका एमालेका पुरुषोत्तम पौडेलले १० हजार २१६ मत प्राप्त गरे । अघिल्लो निर्वाचनमा यहाँ एमालेले उम्मेदवारी दिएको थिएन ।

उपनिर्वाचनमा दोस्रो भएका जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहाले २३ हजार ३३४ मत प्राप्त गरे । बारा–२ उपनिर्वाचनबाट जसपा अध्यक्ष यादव २८ हजार ४१५ मतसहित निर्वाचित भए ।  



केही समयअघि मात्र एमालेले दुईमहिने पार्टी सुदृढीकरण तथा विस्तारका लागि ‘मिसन ग्रासरुट’ अभियान सञ्चालन गरेको थियो । दुई महिने अभियानका क्रममा पार्टी सदस्यता नवीकरण, कमिटीको व्यवस्थापन, प्रशिक्षण, भेला, बैठक र अन्तरक्रिया गरेको थियो । जसका लागि एमालेका केन्द्रीय नेता गाउँगाउँ पुगे । 

चितवनमा केन्द्रीय प्रतिनिधिका रूपमा पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटा, जानुका सिंखडा र शान्ति अधिकारी खटिए । बागमती प्रदेशभर नेता सुरेन्द्र पाण्डे, गोकर्णराज विष्ट, काशीनाथ अधिकारी, रघुजी पन्त, कृष्णगोपाल श्रेष्ठ र शेरबहादुर तामाङखटेका थिए भने गण्डकी प्रदेशमा युवराज ज्ञवाली, पद्माकुमारी अर्याल, किरण गुरूङ, खगराज अधिकारी र थममाया थापालगाएत खेटेका थिए । त्यस्तै, मधेश प्रदेशमा ईश्वर पोखरेल, रघुवीर महासेठ, गुरुप्रसाद बराल, लालबाबु पण्डित र सीता पौडेललगायत नेतहरू खटेका थिए । 

केन्द्रीय नेतृत्वलाई ग्रासरुटमार्फत आधारभूत तहका कार्यकर्तासँग र आधारभूत तहका कार्यकर्तालाई नेतृत्वसँग जोड्ने अभियान नै चलाए । यद्यपि उपनिर्वाचनम भने त्यसको प्रभाव खासै देखिएन । 

  • प्रकाशित मिति : बैशाख १३, २०८० बुधबार १२:३७:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया