नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बारा २, चितवन २ र तनहुँ १ मा भएको उपनिर्वाचनका विजयी उम्मेदवारहरुलाई बधाई दिएका छन् । बुधबार साँझ सामाजिक सञ्जालमार्फत उनीहरुलाई शुभकामना व्यक्त गर्दै थापाले समुन्नति र सुशासनका लागि सहकार्य हुने अपेक्षा व्यक्त गरेका छन् ।
भर्खरै सम्पन्न उपनिर्वाचनमा ती क्षेत्रबाट क्रमशः उपेन्द्र यादव, रवि लामिछाने र डा. स्वर्णिम वाग्ले विजयी भएका छन् । उपनिर्वाचनको परिणामले विशेष गरी नेपाली कांग्रेसलाई दिएको सन्देश के हो र यो सन्देशलाई पार्टीले कसरी लिनुपर्छ भन्ने लगायतका सन्दर्भमा सार्वजनिक बहस र विश्लेषण भइरहेको उनको भनाइ छ ।
पार्टीभित्र र पार्टीबाहिर देश विदेशमा रहेका शुभेच्छुक, समर्थक तथा आम मतदाताको राजनीतिप्रतिको चासो र चिन्ताले नेपालको राजनीतिको शुद्धीकरण र नेपाली कांग्रेसलाई रूपान्तरण गर्ने अभियानलाई थप मद्दत पुग्ने उनको भनाइ छ ।
मतादेश र जनताको सन्देशलाई सम्मान र शीरोपर गरेर जानुपर्ने भन्दै उनले आफ्नो पार्टीको सन्दर्भमा समाजका विभिन्न क्षेत्रबाट आएका सुझाव, विचार र विश्लेषणलाई आत्मसात गरेर इमान्दार आत्मसमीक्षा गर्ने बताएका छन् ।
विगत लामो समयदेखि पार्टी रूपान्तरण, सुदृढीकरण तथा शुद्धीकरणको लागि आफूले पार्टीभित्र निरन्तर इमान्दार प्रयत्न गर्दै आएको उल्लेख गर्दै महामन्त्री थापाले पार्टी गतिशील र जनमुखी भइदियोस् भन्ने आमचाहना अनुरुप अपेक्षित परिणाम आइनसकेको स्वीकारोक्ति व्यक्त गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।