एसिसी प्रिमियर कप
कतारविरुद्ध नेपालले ९ रन बनाउँदा गुमायो २ विकेट
फाइल तस्बिर

एसिसी प्रिमियर कपको समूह चरणअन्तर्गत आफ्नो अन्तिम खेलमा कतारविरुद्ध पनि नेपालले सस्तैमा दुई विकेट गुमाएको छ । नेपालले दोस्रो विकेटको रूपमा भीम सार्कीलाई व्यक्तिगत ६ रनमा गुमाएको हो । उनी स्कुप शर्ट खेल्नेक्रममा विकेटकिपरको हातबाट क्याच आउट भए । 

भीमलाई पनि गायन मुनवीराले आउट गरे । त्यसअघि उनले दोस्रो ओभरको दोस्रो बलमा कुशल भुर्तेललाई २ रनमै पवेलियनको दिशा देखाए ।  जारी प्रतियोगितामा भुर्तेल लयमा खासै देखिएका छैनन् । उनी पहिलो खेलमा मलेसियाविरुद्ध ३८ तथा ओमानविरुद्ध शून्यमै आउट भएका थिए । 

नेपालले कतारविरुद्ध पनि टस हारेर ब्याटिङ गरिरहेको हो । नेपाल–कतारबीचको खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेको हो । नेपालले आज प्लेइङ–११ मा एक खेलाडी परिवर्तन गरेको छ । 

आजको खेलमा नेपालले करण केसीलाई विश्राम दिँदै गुलशन झालाई मौका दिएको हो । अपराजित रहेको नेपाल आज पनि उत्कृष्ट जित निकाल्न चाहन्छ । नेपालले मलेसियालाई ६ विकेटले हराउँदै प्रतियोगितामा विजयी सुरुवात गरेको थियो । 

दोस्रो खेलमा ओमानविरुद्ध ८४ रनको जित निकालेको नेपालले वर्षाका कारण साउदी अरेबियासँग भने अंक बाँड्यो । समूह ‘ए’ कै कतारले भने अहिलेसम्म जित हात पार्न सकेको छैन ।  

ऊ पहिलो खेलमा ओमानसँग ४० रन, दोस्रो खेलमा साउदी अरेबियाविरुद्ध ७ विकेट तथा तेस्रो खेलमा मलेसियासँग ३ विकेटले पराजित भयो । सेमिफाइनल दौडबाट बाहिरिसकेको कतार अन्तिम खेलमा आयोजक नेपाललाई स्तब्ध पार्ने योजनामा छ ।  



समूह ‘ए’ बाट नेपाल र ओमानले सेमिफाइनलमा स्थान बनाएका छन् । कतारलाई हराएमा नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा पुग्नेछ । समूह ‘बी’ बाट यूएईले सेमिफाइनलको टिकट काटेको छ । यो समूहबाट दोस्रो टोलीको रूपमा आज हङकङ र कुवेतबीचको विजेता सेमिफाइनलमा प्रवेश गर्नेछ ।

१८ वैशाखसम्म सञ्चालन हुने प्रतियोगिताका खेल त्रिवि र मूलपानी मैदानमा भइरहेका छन् । प्रतियोगिताको फाइनल खेल १८ वैशाखमा त्रिवि मैदानमा हुनेछ । 



१० टोलीको सहभागिता हरेको प्रतियोगिताको उपाधि जित्ने टिमले आउँदो एसिया कप खेल्न पाउने छ । त्यस्तै, शीर्ष तीनमा रहने टोली एसिसी इमर्जिङ कपमा छनोट हुनेछन् ।

  • प्रकाशित मिति : बैशाख १४, २०८० बिहीबार ९:२१:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया