\


एसिसी प्रिमियर कप
कतारविरुद्ध नेपाल संकटमा, ८४ रन बनाउँदा ६ विकेट पतन
फरकधार / १४ बैशाख, २०८०
यो सामग्री सेयर गर्नुहोस्

एसिसी प्रिमियर कपको समूह चरणअन्तर्गत आफ्नो अन्तिम खेलमा कतारविरुद्ध नेपालले छैटौँ विकेट गुमाएको छ । नेपालले छैटौँ विकेटको रूपमा सोमपाल कामीलाई ११ रनमा गुमाएको हो । उनलाई अमिर फारुक क्याच आउट गराए ।

नेपालले पाँचौँ विकेट गुमाउनेक्रममा यही प्रतियोगितामा ओमानविरुद्ध शतक बनाएका कुशल मल्ललाई गुमायो । ५ बलको सामना गरेका कुशल आज ३ रनमै क्याच आउट भए । उनलाई ओवेस अहमदले आउट गरे । 

नेपालले चौथो विकेटको रूपमा कप्तान रोहितकुमार पौडेललाई व्यक्तिगत २७ रनमा गुमाउन पुग्यो । उनलाई पनि अहमदले क्रिज बाहिर पठाए । नेपालले तेस्रो विकेट गुमाउनेक्रममा ओपनिङ ब्याटर आसिफ शेखलाई १९ रनमा गुमायो ।  

उनलाई इक्रामुल्लाह खानले क्याच आउट गराए । जारी प्रतियोगितामा आसिफ लयमा देखिएका छैनन् । उनी पहिलो खेलमा मलेसियाविरुद्ध १ र ओमानविरुद्ध शून्यमै आउट भएका थिए । नेपालले दोस्रो विकेटको रूपमा भीम सार्कीलाई व्यक्तिगत ६ रनमा गुमायो । उनी खराब सर्ट खेलेर विकेटकिपरको हातबाट क्याच आउट भए । 



भीमलाई पनि गायन मुनवीराले आउट गरे । त्यसअघि उनले दोस्रो ओभरको दोस्रो बलमा कुशल भुर्तेललाई २ रनमै पवेलियनको दिशा देखाए ।  जारी प्रतियोगितामा ओपनर भुर्तेल पनि लयमा खासै देखिएका छैनन् । उनी पहिलो खेलमा मलेसियाविरुद्ध ३८ तथा ओमानविरुद्ध शून्यमै आउट भएका थिए । 

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २३ ओभरमा महत्वपूर्ण ६ विकेट गुमाएर ८९ रन बनाएको छ ।  नेपालले आज प्लेइङ–११ मा एक खेलाडी परिवर्तन गरेको छ । 



आजको खेलमा नेपालले करण केसीलाई विश्राम दिँदै गुलशन झालाई मौका दिएको हो । अपराजित रहेको नेपाल आज पनि उत्कृष्ट जित निकाल्न चाहन्छ । नेपालले मलेसियालाई ६ विकेटले हराउँदै प्रतियोगितामा विजयी सुरुवात गरेको थियो । 

दोस्रो खेलमा ओमानविरुद्ध ८४ रनको जित निकालेको नेपालले वर्षाका कारण साउदी अरेबियासँग भने अंक बाँड्यो । समूह ‘ए’ कै कतारले भने अहिलेसम्म जित हात पार्न सकेको छैन । ऊ तालिकाको पुछारमा रहेको छ ।

समूह ‘ए’ बाट नेपाल र ओमानले सेमिफाइनलमा स्थान बनाएका छन् । कतारलाई हराएमा नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा पुग्नेछ । समूह ‘बी’ बाट यूएईले सेमिफाइनलको टिकट काटेको छ । यो समूहबाट दोस्रो टोलीको रूपमा आज हङकङ र कुवेतबीचको विजेता सेमिफाइनलमा प्रवेश गर्नेछ ।

  • प्रकाशित मिति : बैशाख १४, २०८० बिहीबार १०:५२:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया