२९ मंसिर, २०८२ साेमबार
Dec. 15, 2025

चार बुँदे माग राखेर माइतीघरमा धर्ना बस्ने महावीर पुनको घोषणा

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले विभिन्न चार माग राखेर माइतीघरमा धर्ना बस्ने घोषणा गरेका छन् । शुक्रबार बिहान ९ बजेदेखि माइतीघरमा भेला भएर बानेश्वरसम्म जुलुस निकाल्ने र त्यसपछि धर्ना सुरु गर्ने पुनले घोषणा गरेका हुन् ।   


उनले धर्नामा साथ दिन आमसर्वसाधारणसँग आग्रहसमेत गरेका छन् । बिहीबार सामाजिक सञ्जालमा एउटा भिडियो पोस्ट गर्दै पुनले माग पूरा नभएसम्म माइतीघर मण्डला र बबरमहल क्षेत्रबाट सरकारलाई घुँडा टेकाउने गरी आन्दोलन गर्ने बताएका छन् । 



‘वैशाख १५ गते शुक्रबारदेखि माग पूरा नहुँदासम्म माइतीघर मण्डला र बबरमहल क्षेत्र बाट नेपाल सरकारलाई घुँडा टेकाउने गरी आन्दोलन गर्न सम्पूर्ण नेपालीहरूलाई आह्वान गर्दछु,’ उनले भनेका छन् ।

पुनले अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्ने प्रतिभाशाली र सिर्जनशील नेपालीलाई अनुसन्धान गर्ने काममा ठोस सहयोग गर्न हरेक वर्ष  संघ र प्रदेश सरकारले आफ्नो विकास बजेटको १ प्रतिशत रकम छुटयाउनु पर्ने र त्यो रकम नवप्रवर्तक र आविष्कार कोषमा राख्नुपर्ने माग गरेका छन् ।



यस्ता छन् पुनका माग :

१.अनुसन्धान, नवपवर्तन र आविष्कार गर्ने प्रतिभाशाली र सृजनशील नेपालीहरूलाई अनुसन्धान गर्ने काममा ठोस सहयोग गर्न हरेक वर्ष संघीय र प्रदेश सरकारले आफ्नो विकास बजेटको १ प्रतिशत रकम छुट्याइयोस् र "अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष" मा राखियोस् । सो कोषबाट नेपालका सम्पूर्ण प्रतिभाशाली सन्ततिहरूलाई आवश्यक अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्न सहयोग गरियोस् । सो कोषमा जम्मा भएको रकम सोहि वर्ष खर्च नभएमा आगामी वर्षहरूमा पनि खर्च गर्न पाउने व्यवस्था गरियोस्। 

२. सो कोषको रकम सहज तरिकाले समयमा नै प्रतिभाशाली र नविनतम सोच भएका नेपालीहरूलाई उपलब्ध गराउन संसदले नेपाल सरकारको सार्वजनिक खरिद ऐन भन्दा छुट्टै "अनुसन्धान, नबप्रबर्तन र आविष्कार प्रवर्द्धन, सञ्चालन तथा खरिद ऐन" बनाइयोस् र आवश्यकता अनुसार अनुसन्धानको कामलाई बहुवर्षीय कार्यक्रममा राख्न मिल्ने गरी नीति नियम बनाइयोस् ।

३. अनुसन्धान, नवप्रवर्तन र आविष्कार गरेर बनेका र सफलतापूर्वक परीक्षण गरिएका चिजहरूलाई उत्पादन गरी नब-उद्यमी बन्न चाहने नेपालीहरूलाई उद्यम सुरु गर्नको लागि चाहिने अनुमति, लाइसेन्स, अनुदान र सहज ऋण उपलब्ध गराइयोस् र स्वदेशी उत्पादनलाइ बजारिकरण गर्न ठोस सहयोग गर्ने नीति नियम बनाइयोस् । सो कामलाई सहज बनाउन र आवश्यक अनुसारको नीति नियम बनाउनको लागि "नव उद्यमी प्रवर्धन समिति" बनाइयोस् र सो समितिले सरकारलाई आवश्यक कदम चाल्न अनुरोध गर्ने व्यवस्‍था गरियोस् ।



४. प्राइभेट अनुसन्धान केन्द्र, मुनाफा वितरण नगर्ने अनुसन्धान केन्द्र र विश्वविद्यालयमा व्यवहारिक अनुसन्धानलाई उच्च प्राथमिकताका साथ प्रोत्साहन गर्न र प्रवर्द्धन गर्नको लागि विज्ञान मन्त्रालयअन्तर्गत "व्यावहारिक अनुसन्धान र नवपवर्तन विभाग" खोलियोस् । सो विभागलाई देशका प्रतिभाहरूलाई विदेश पलायन हुन नदिन र विदेश पलायन भइसकेका प्रतिभालाई के कसरी र कुन रुपमा हुन्छ स्वदेशमा फिर्ता ल्याउन र उनीहरूबाट फाइदा लिनको लागि चाल्नुपर्ने ठोस वातावरण तयार गर्ने पूर्ण अधिकारसहित जिम्मा दिइयोस् ।

  • प्रकाशित मिति : १४ वैशाख, २०८० बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया