एसिसी प्रिमियर कप : कतारविरुद्ध नेपाललाई दोस्रो सफलता

एसिसी प्रिमियर कपको समूह चरणको अन्तिम खेलमा नेपालले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याउनेक्रममा पाहुना टोली कतारले दोस्रो विकेट गुमाएको छ । कतारले दिस्रो विकेटको रूपमा पाँचौं ओभरको अन्तिम बलमा  विकेटकिपर इमल लियानागेलाई ८ रनमा गुमाएको हो । उनलाई सोमपाल कामीले बोल्ड गरे । 

नेपाललाई पहिलो सफलता दिलाउनेक्रममा ललितनारायण राजवंशीले दोस्रो ओभरको दोस्रो बलमा कतारका ओपनिङ ब्याटर कमरन खानलाई ८ रनमा क्याच आउट गराए । त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४०.३ ओभरमा १ सय ५७ रनमा अलआउट भएको हो । 

नेपालका लागि सन्दीप लामिछानेले ५८ बलमा ६ चौकासहित अविजित ४२ रन बनाए । त्यस्तै, कप्तान रोहित पौडेलले २७, आसिफ शेखले १९, दीपेन्द्र सिंह ऐरीले १२, आरिफ शेख र सोमपाल कामीले ११/११ रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । कतारका लागि अमिर फारुकले ४, क्वेस अहमदले ३, गयान मुनीवराले २ र इक्रामुल्लाह खानले १ विकेट लिए ।

नेपालले आज प्लेइङ–११ मा एक खेलाडी परिवर्तन गरेको छ । आजको खेलमा नेपालले करण केसीलाई विश्राम दिँदै गुलशन झालाई मौका दिएको हो । अपराजित रहेको नेपाल आज पनि उत्कृष्ट जित निकाल्न चाहन्छ । नेपालले मलेसियालाई ६ विकेटले हराउँदै प्रतियोगितामा विजयी सुरुवात गरेको थियो । 

दोस्रो खेलमा ओमानविरुद्ध ८४ रनको जित निकालेको नेपालले वर्षाका कारण साउदी अरेबियासँग भने अंक बाँड्यो । समूह ‘ए’ कै कतारले भने अहिलेसम्म जित हात पार्न सकेको छैन । ऊ तालिकाको पुछारमा रहेको छ ।

समूह ‘ए’ बाट नेपाल र ओमानले सेमिफाइनलमा स्थान बनाएका छन् । कतारलाई हराएमा नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा पुग्नेछ । समूह ‘बी’ बाट यूएईले सेमिफाइनलको टिकट काटेको छ । यो समूहबाट दोस्रो टोलीको रूपमा आज हङकङ र कुवेतबीचको विजेता सेमिफाइनलमा प्रवेश गर्नेछ ।



१८ वैशाखसम्म सञ्चालन हुने प्रतियोगिताका खेल त्रिवि र मूलपानी मैदानमा भइरहेका छन् । प्रतियोगिताको फाइनल खेल १८ वैशाखमा त्रिवि मैदानमा हुनेछ । 

१० टोलीको सहभागिता हरेको प्रतियोगिताको उपाधि जित्ने टिमले आउँदो एसिया कप खेल्न पाउने छ । त्यस्तै, शीर्ष तीनमा रहने टोली एसिसी इमर्जिङ कपमा छनोट हुनेछन् ।



  • प्रकाशित मिति : बैशाख १४, २०८० बिहीबार १३:३२:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया