एसिसी प्रिमियर कप
कतारलाई तेस्रो झड्का, सन्दीपलाई पहिलो सफलता

एसिसी प्रिमियर कपको समूह चरणको अन्तिम खेलमा नेपालले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याउनेक्रममा पाहुना टोली कतारले तेस्रो विकेट गुमाएको छ । कतारले तेस्रो विकेटको रूपमा ओपनर जहीर इब्राहिमलाई १५ रनमा गुमायो । उनलाई सन्दीप लामिछानेले ८.३ ओभरमा पवेलियनको बाटो देखाए । 

कतारले दोस्रो विकेट सोमपाल कामीले लिए । उनले विकेटकिपर इमल लियानागेलाई ८ रनमा बोल्ड गरेका हुन् । नेपाललाई पहिलो सफलता दिलाउनेक्रममा ललितनारायण राजवंशीले दोस्रो ओभरको दोस्रो बलमा कतारका ओपनिङ ब्याटर कमरन खानलाई ८ रनमा क्याच आउट गराए । 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४०.३ ओभरमा १ सय ५७ रनमा अलआउट भएको हो । नेपालका लागि सन्दीप लामिछानेले ५८ बलमा ६ चौकासहित अविजित ४२ रन बनाए ।

त्यस्तै, कप्तान रोहित पौडेलले २७, आसिफ शेखले १९, दीपेन्द्र सिंह ऐरीले १२, आरिफ शेख र सोमपाल कामीले ११/११ रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । कतारका लागि अमिर फारुकले ४, क्वेस अहमदले ३, गयान मुनीवराले २ र इक्रामुल्लाह खानले १ विकेट लिए ।   

नेपालले आज प्लेइङ–११ मा एक खेलाडी परिवर्तन गरेको छ । आजको खेलमा नेपालले करण केसीलाई विश्राम दिँदै गुलशन झालाई मौका दिएको हो । अपराजित रहेको नेपाल आज पनि उत्कृष्ट जित निकाल्न चाहन्छ । नेपालले मलेसियालाई ६ विकेटले हराउँदै प्रतियोगितामा विजयी सुरुवात गरेको थियो । 

दोस्रो खेलमा ओमानविरुद्ध ८४ रनको जित निकालेको नेपालले वर्षाका कारण साउदी अरेबियासँग भने अंक बाँड्यो । समूह ‘ए’ कै कतारले भने अहिलेसम्म जित हात पार्न सकेको छैन । ऊ तालिकाको पुछारमा रहेको छ । 





  • प्रकाशित मिति : बैशाख १४, २०८० बिहीबार १३:४३:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया