४० वर्षदेखि इरानसँग किन हारिरहेछ अमेरिका ?

एजेन्सी– इरानको चर्चित क्रान्ति भएको ४० वर्ष पुगिसकेको छ । यो क्रान्ति इरानका लागि जति महत्वपूर्ण थियो, त्योभन्दा पनि बढी यसले पश्चिमा मुलुकहरुलाई आत्ममन्थन गर्ने सुनौलो अवसरका रुपमा हेरिएको छ । 

कतिसम्म भने इस्लामिक गणतन्त्र इरान भएको चार दशकमा न यो देशको पश्चिमा देशहरुसँग सम्बन्ध राम्रो भएको छ न त्यो क्षेत्रमा शान्ति स्थापना नै भएको छ । अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति भएपछि पनि इरानसँगको अमेरिकी सम्बन्ध झन् चिसिएको छ । 

इरानमा सन् १९७९ मा भएको इस्लामिक क्रान्तिभन्दा पहिले आयोतोल्लाह रुहोल्लाह खुमानी टर्की, इराक र पेरिसमा निर्वासित जीवन बिताइरहेका थिए । उनले त्यतिबेलाका राजाले इरानलाई पश्चिमीकरण गरेको र अमेरिकाप्रति निर्भरता बढाइरहेको आरोप लगाएका थिए ।

यस्तो किन भने सन् १९५३ मा अमेरिका र बेलायतले लोकतान्त्रिक तरिकाबाट निर्वाचित भएका प्रधानमन्त्री मोहम्मदलाई अपदस्थ गर्दै पहलवीलाई सत्ता सुम्पिएका थिए । मोहम्मद मोसादेगले चाहिँ इरानको तेल उद्योगलाई राष्ट्रियकरण गरेका थिए जसका कारण त्यहाँका राजाको शक्ति कमजोर भएको थियो ।

कुनै पनि विदेशी नेतालाई शान्तिपूर्ण समयमा नै अपदस्थ गर्ने काम अमेरिकाले पहिलो पटक गरेको थियो । तर, यही क्रमले गर्दा नै अमेरिकी विदेश नीतिमा परिवर्तन आयो ।

सन् १९५३ मा इरानमा अमेरिकामाले गरेको सत्ता परिवर्तनकै कारण सन् १९७९ मा इरानमा क्रान्ति भएको थियो । अब ४० वर्षपछि पनि त्यो पश्चिमा देशसँगको दुश्मनी इरानमा अझै सकिएको छैन । 



त्यही क्रान्तिले खुमानीलाई सत्तामा ल्याएको थियो । तर, सत्तामा आएपछि उनको उदार स्वभावमा परिवर्तन आएको थियो । उनले विरोधीका आवाजलाई दबाउन सुरु गरे र विरोधीसँग एक किसिमको दूरी बनाउन थाले । क्रान्तिको परिणामलाई नै लिएर अमेरिका र इरानको सम्बन्ध पनि छुट्टियो, दुवैले कुटनीतिक सम्बन्ध अन्त्य गरे । तेहरानमा भएको अमेरिकी दूतावासलाई इरानी एक समूहले आफ्नो कब्जामा लियो र ५२ अमेरिकीलाई ४४४ दिनसम्म बन्धक बनाएर राख्यो ।

यसलाई खुमानीले पनि मौन समर्थन गरेका थिए । अमेरिकी राष्ट्रपति जिम्मी कार्टरलाई इरानी शाह तत्काल फिर्ता पठाउन उनले माग गरेका थिए । शाह न्यूयोर्कमा क्यान्सरको उपचार गर्न पुगेका थिए ।



अमेरिका राष्ट्रपति परिवर्तन भएर रोनाल्ड रेगन राष्ट्रपति भएपछि ती बन्धकहरुलाई छुटाइएको थियो । उता, अमेरिकामा नै पहलवी शाहको मृत्यु भयो । 

यसबीच सन् १९८० मा सद्दाम हुसेनले इरानमाथि आक्रमण सुरु गरे । इरान र इराकको यो युद्ध आठ वर्षसम्म चल्यो । अमेरिकाले सद्दामलाई साथ थियो । उता, तत्कालीन सोभियत संघले पनि हुसेनलाई नै साथ थियो । युद्धमा कम्तिमा पनि पाँच लाख इरानी तथा इराकी मारिए । 

यो यही समय थियो जब इरानले आफूले परमाणु बम बनाउने सम्भावना देख्यो । र, उसले यसको काम पनि सुरु गर्यो । तर, यो कुरा सन् २००२ सम्म बाहिर आएको थिएन । अमेरिकाले जब यो क्षेत्रमा आफ्नो समीकरण बदल्यो, तब नाटकीय परिवर्तन देखियो । 

अमेरिकाले सद्दाम हुसेनलाई समर्थन गर्न मात्र छोडेन, इराकमाथि आक्रमण पनि गर्न थाल्यो । अमेरिकाको यो कदमले इरानलाई निकै फाइदा पुग्यो । अर्कोतिर, युरोपले इरानसँग परमाणु कार्यक्रमबारे वार्ता सुरु गर्न थाल्यो । इरानमा सन् २००५ मा अर्को चुनाव थियो, यसले गर्दा यो वातौ कुनै निष्कर्षमा पुगेन । इरानमा सन् २०१३ मा हसन रुहानी राष्ट्रपति निर्वाचित भएपछि फेरि वार्ता सुरु भयो । 

दशकौंको यो शत्रुता बाराक ओबामा अमेरिका राष्ट्रपति भएपछि केही सामान्य भयो । सन् २०१५ मा त एउटा सम्झौता नै पनि भयो । तर, डोनाल्ड ट्रम्प राष्ट्रपति भएलगत्तै यो सम्झौता खारेज गरिदिए । कतिसम्म भने ट्रम्पले इरानसँग काम गर्ने अन्य देशसँग पनि कारोबार बन्ध गर्ने धम्की दिए । 

यसको प्रतिफल अमेरिका र युरोपेली मुलुकबीचको सम्बन्धमा चिसोपना बढ्यो । युरोपेली युनियनले इरानसँग भएको परमाणु सम्झौता बचाउन खोजे, तर ट्रम्प मानेनन् । 

अब अमेरिका मध्यपूर्वमा एउटा सम्मेलन गर्दै छ जसमा इरानविरोधी इजरायल, साउदी अरब तथा युएईलाई एक ठाउँमा ल्याउन उसले प्रयास गरेको छ । यसले गर्दा इरानमा समस्या देखिने भएको छ । 

तर, पछिल्ला ४० वर्षमा इरानले कयौँ संकट देखेको छ, उसले हारेको छैन । कम्तिमा पनि अमेरिकी रणनीतिसँग ४० वर्षयता इरानले हारेको छैन ।

  • प्रकाशित मिति : फागुन १३, २०७५ साेमबार १५:१७:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया