प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि निरन्तर आक्रमणको प्रयास भए पनि सरकार मूकदर्शक बनेको गुनासो गरेका छन् । पार्टी निकट अखिल नेपाल किसान महासंघले आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पूर्वका विभिन्न जिल्लामा आफूमाथिको आक्रमण प्रयासमा पूर्वराजा ज्ञानेन्द्र शाह र उनका परिवारको संलग्नता रहेको जिकिर गरेका छन् ।
त्यस्ता उदण्ड, अराजनीतिक खालको गतिविधिलाई नियन्त्रण गर्नुको साटो सत्तारुढ दलकै कार्यकर्ताले पनि ढुंगामुढा गरेको उनकाे आराेप छ । हरेक ठाउँमा उनीहरुले निषेध गर्न खोज्ने, बाटो छेक्न खोज्ने, रुख ढालेर छेक्न खोज्ने, काँही ढुंगा हान्ने, काहीँ भिडन्त गर्न आउने, तर सरकारले त्यस्ता गतिविधिलाई नियन्त्रण नगरेको उनको भनाइ थियो ।
ओलीले हरेक ठाउँमा २० जनाजति उही समूहका मानिसहरुले आफूमाथि आक्रमण प्रयास गरेपनि त्यसलाई नियन्त्रण गर्न सरकारले नचाहेको आरोप लगाए । वर्तमान गठबन्धन सरकारले मुखले जेसुकै भने पनि आफूमाथिको आक्रमणलाई नियन्त्रण नगरेको भन्दै उनले आपत्ति जनाए ।
आफूहरुमाथि गाली बेइज्जती, अश्लील शब्दको वर्षा गर्दा पनि ती अराजक समूहलाई नियन्त्रण गर्न प्रहरीलाई माथिबाट आदेश नगएको पनि ओलीले बताए ।
त्यस अवसरमा ओलीले फटाहा, मूर्ख र बुद्धि नभएकाहरुले मात्रै राजतन्त्र मान्ने टिप्पणीसमेत गरे । स्वार्थी तत्व र बिकाउ मालहरु, अपराध कर्ममा लागेकाहरुले मात्रै राजतन्त्रलाई मान्ने उनको आरोप थियो । ओलीले भने, ‘राजतन्त्र भनेको कि फटाहाले मान्छ । स्वार्थी फटाहाले । कि मूर्खले मान्छ ।'
अध्यक्ष ओलीले महाकाली सन्धि आफूहरुले सच्याएको दाबीसमेत गरे । बाँध बाँध्नका लागि भारतलाई जमिन दिने गरी तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भारतसँग गरेको सहमतिलाई खारेज गरेर आफूहरुले बाँध बाँध्न मात्रै जमिन दिने गरी सो सन्धिलाई सच्याइएको ओलीको तर्क थियो ।
महाकाली सन्धि आफूहरुले सच्याएपछि त्यसबाट अनेक फाइदा भइरहेको भन्दै उनले महाकाली सन्धिलाई सच्याउने काम आफूहरुले प्रतिपक्षमा रहेर गरेको तथ्य अहिले नबुझ्नेहरुले पछि बुझ्दै जाने बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।