शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका विद्यार्थीलाई आवश्यक पाठ्यपुस्तक पुर्याएको जनाएको छ । नयाँ शैक्षिक सत्र ०८० का लागि ७७ वटै जिल्लाका विद्यार्थीले समयमै पाठ्यपुस्तक प्राप्त गरेको मन्त्रालयको भनाइ छ ।
कक्षा १ देखि ५ सम्मका २३ लाख ९२ हजार ६३६ र कक्षा ६ देखि १० सम्ममा अध्ययन गर्ने २० लाख ४६ हजार ४५० जना विद्यार्थीका लागि आवश्यक पाठ्यपुस्तक छपाइ सम्पन्न गरेर वितरण गरिएको मन्त्रालयले जनाएको हो । वैशाख दोस्रो साताभित्र देशभरको विद्यार्थीको हातमा पाठ्यपुस्तक पुगेको मन्त्रालयको दाबी छ ।
जनक शिक्षा सामग्री केन्द्र लिमिडेटबाट १ करोड ५५ लाख थान र निजी मुद्रण संस्थाबाट १ करोड १८ लाख थान पाठ्यपुस्तक छपाइ सम्पन्न भएको मन्त्रालयले जनाएको हो । वैशाख दोस्रो हप्तासम्म आइपुग्दा देशभरका सबै विद्यार्थीले पाठ्यपुस्तक प्राप्त गरिसकेको मन्त्रालयका सह–सचिव एवं प्रवक्ता दीपक शर्माले जानकारी दिए ।
उक्त पाठ्यपुस्तक ७७ वटै जिल्ला सूचीकृत १ हजार २६७ स्थानीय विक्रेतामार्फत बिक्री वितरण भइरहेको उनको भनाइ छ । उनले पाठ्यपुस्तक नपुगेको ठाउँमा सम्पर्क भएको मितिले २ दिनभित्र सबैभन्दा नजिकको विक्रेता तथा पुस्तक पसलमार्फत पाठ्यपुस्तक उपलब्ध हुने व्यवस्था मिलाइएको पनि जानकारी दिए ।
‘समयमै भर्ना, समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान’ भन्ने नाराका साथमा २०८० साल वैशाख २ गतेदेखि देशभर विद्यार्थी भर्ना अभियान जारी रहेको उनको भनाइ छ ।
निजी मुद्रण संस्थाको सहयोग
समयमै पाठ्यपुस्तक पुर्याउन नसकेर हरेक वर्ष गुनासो खेपिरहेको जनक शिक्षा सामग्री केन्द्रले यसवर्ष भने चौतर्फी चर्चा पाइरहेको छ । नयाँ शैक्षिक सत्र ०८० को अध्यापन सुरु नहुँदै विद्यार्थीको हात–हातमा पाठ्यपुस्तक पुर्याएकोमा यतिबेला सबैले जनक शिक्षाको चर्चा गरिरहेका छन् ।
समयमै पाठ्यपुस्तक छपाइ हुनुमा निजी मुद्रण संस्थाको भूमिका पनि जनक शिक्षाको भन्दा कम छैन । तर, जनक शिक्षाले निजी मुद्रण संस्थाले गरेको कामको जस पनि एक्लै लिइरहेको छ ।
कक्षा १ देखि ५ सम्ममा अध्ययन गर्ने २३ लाख ९२ हजार ६३६ जना विद्यार्थीका लागि आवश्यक १ करोड १८ लाख पाठ्यपुस्तक निजी मुद्रण संस्थाले छपाइ गरेकाले उसको भूमिकालाई कम आँक्न मिल्दैन । जनक शिक्षाले यतिबेला पाइरहेको चर्चाको जस निजी मुद्रण संस्थालाई पनि दिन जरुरी छ, किनभने निजी संस्थाले समयमै काम नगरिदिएको भए जनक शिक्षासँग मात्रै भर पर्दा पुरानै नियति दोहोरिने सम्भावना उत्तिकै थियो ।
सरकारले यस वर्ष जनक शिक्षाको कार्यभार कम गरेकाले पनि विद्यार्थीलाई समयमै पाठ्यपुस्तक दिन सकेको हो । अघिल्ला वर्षहरूमा कक्षा ४ देखि १० सम्मका पाठ्यपुस्तक छपाइ गर्ने जनक शिक्षाको कार्यभारलाई कम गर्दै सरकारले यस वर्ष कक्षा ४ र ५ को छपाइ निजी मुद्रण संस्थालाई दिएको हो ।
प्रधानमन्त्रीको चासो
गत पुस १० गते प्रधामन्त्रीको पदवहाली गरेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाठ्यपुस्तक छपाइमा चासो देखाएका कारण पनि यस वर्ष विद्यार्थीले समयमै किताब पाएका हुन् । उनले शैक्षिक सत्र ०८० मा विद्यार्थीलाई समयमै पाठ्यपुस्तक उपलब्ध गराउन निर्देशन दिएका थिए ।
विद्यार्थीलाई समयमै पाठ्यपुस्तक दिने विषयलाई उनले सरकारका साझा न्यूनतम कार्यक्रममा समेत राखेर उक्त कार्यलाई अघि बढाएका थिए । पाठ्यपुस्तक छपाई कार्यको सुरुवातदेखि नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट आवश्यक समन्वय, सहजीकरण भएकाले पनि विद्यार्थीले समयमै किताब पाउन सफल भएको शिक्षा मन्त्रालयले जनाएको छ ।
त्यस्तै, समयमै पाठ्यपुस्तक छपाइ भएर वितरण हुनुमा गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, नेपाल नगरपालिका संघ र गाँउपालिका राष्ट्रिय महासंघलगायत सरोकारवाला निकायको भूमिका पनि महत्वपूर्ण रहेको शिक्षा मन्त्रालयले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।