असुरक्षित बन्दै पर्यटक, बढे उजुरीका घटना

 

पहिलो घटना

अना सोफिया अमेरिकाबाट यही वैशाखमा नेपाल घुम्न आइन् । नेपाल घुम्ने क्रममा १४ वैशाख राती ठमेलबाट उनको पासपोर्टसहित नगद चोरी भयो । स्वाभाविक थियो, परदेशमा उनी अलपत्र परिन् । आफू अलपत्र परेको भन्दै उनले अनुसन्धान गरिदिन आग्रह गर्दै वैशाख १५ मा पर्यटक प्रहरी कार्यालय गुहार्न पुगिन् । 

नगद सबै चोरी हुँदा उनलाई खाने–बस्ने समस्या भयो । पर्यटक प्रहरीले उपाय लगायो–उनलाई एउटा मानव आश्रममा बस्ने व्यवस्था मिलाइ दियो । अहिले पनि उनी त्यही मानव आश्रममा बस्दै आएकी छन् । पर्यटक प्रहरीले उक्त घटनाको विषयमा अमेरिकी दूतावासलाई जानकारी गराइसकेको छ भने घटनाको विषयमा थप अनुसन्धान गरिरहेको छ । 

दोस्रो घटना

जर्मन नागरिक म्याक्सिमिलियन गेर्के नेपाल घुम्न आए । घुम्न नेपाल आएका उनको नजर पोखरामा पर्‍यो । र, काठमाडौं ओर्लिएको दोस्रो दिन नै उनी पोखरा पुगे । पर्यटकीय नगरी पोखरा घुम्ने क्रममा उनले आफ्नो पर्स हराए । पर्स हराएसँगै उनी पर्यटक प्रहरी पोखरामा उजुरी दिन पुगे । पर्यटक प्रहरी पोखराले खोज्दै जाँदा पर्स भेट्यो । नेपालमा अलपत्र हुनबाट उनी जोगिए ।  



तेस्रो घटना

सामान चोरी तथा हराएको घटना मात्र होइन, अरू समस्या लिएर पनि पर्यटक प्रहरी कहाँ पुग्छन्, पर्यटक । केही समयअघि एक भारतीय पर्यटक नेपाल घुम्न आए । नेपाल घुम्न आएका उनी परिवारसँग सम्पर्क विहीन भए । उनका परिवारले खोजिदिन आग्रह गर्दै पर्यटक प्रहरी ठमेलमा निवेदन दिए । निवेदनको आधारमा तत्काल अनुसन्धान गर्दा उनी ठमेलको एक होस्टेलमा बस्दै आएको फेला परे । र उनलाई पर्यटक प्रहरीले परिवारसँग पुनर्मिलन गरायो ।



यी त भए, केही उदाहरण । पछिल्लो समय विदेशी पर्यटकको संख्यामा वृद्धि भएसँगै चोरी, ठगी, लुटपाट, पाकेटमारी, दुर्व्यवहारलगायतका घटनाको संख्यामा वृद्धि भएको छ ।  विभिन्न देशबाट नेपाल घुम्न आएका पर्यटकले दिनहुँ यस्ता घटना लिएर पर्यटक प्रहरीको कार्यालयमा उजुरी दिने गरेका छन् ।  

पर्यटक प्रहरीका अनुसार चालू आर्थिक वर्ष २०७९/०८० को अप्रिल २१ सम्ममा ४०२ वटा उजुरी दर्ता भएका छन्,जसमध्ये सबैभन्दा धेरै २७२ वटा सामान तथा कागजात हराएको घटना छ । त्यस्तै,दोस्रोमा ६० वटा चोरीका घटना दर्ता भएको पर्यटक प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले फरकधार विवरण दिए । 

यस्तै, दुर्व्यवहारका २४, ठगी १८, डकैतीका १० वटा उजुरी दर्ता भएका छन् । यो तथ्याङ्क अघिल्ला वर्षहरूको भन्दा बढी हुन् । आर्थिक वर्ष २०७८/०७९ मा मात्र १८० वटा यस्ता घटनाको उजुरी परेको थियो ।  यस्तै, आर्थिक वर्ष २०७७/०७८ मा भने ७९ वटा घटना दर्ता भएको थियो । यस समय कोरोना महामारीका कारण पर्यटक आगमनमा कमी आउँदा उजुरी पनि कम परेको प्रहरी नायव उपरीक्षक श्रेष्ठ बताउँछन् ।  

‘यस समयमा कोरोना महामारीका कारण पर्यटक धेरै आएनन्,जसले गर्दा कम उजुरी दर्ता भएका थिए,’ उनले सुनाए,‘यस वर्ष पर्यटक बढेसँगै घटना समेत बढेको छ । आगामी दिनमा यस्ता घटना अझ बढ्ने देखिन्छ ।’

यसैबीच, आर्थिक वर्ष २०७६/०७७ मा भने ५४० वटा चोरी, ठगी, लुटपाट, पाकेटमारी,दुर्व्यवहारलगायतका घटनाको उजुरी परेको थियो। जसमा ३९० वटा सामान हराएको, ९३ चोरी, २८ ठगी र ७ वटा दुर्व्यवहारका उजुरी दर्ता भएका थिए। 

पछिल्लो समय पर्यटकको संख्यामा वृद्धि भएसँगै समस्याहरू पनि बढ्न थालेको उनको बुझाई छ । ‘यहाँ अझै कतिपय घटनाको तथ्याङ्क नआएको हुन सक्छ,’ प्रहरी नायव उपरीक्षक श्रेष्ठ आगामी दिनमा चुनौती अझै बढ्ने ठान्छन्,‘पछिल्लो समय यस्ता घटना बढिरहेको छ । सतर्कता अझै जरुरी छ ।’

पहिचान नपाएको पर्यटक प्रहरीको गुनासो 

नेपाल घुम्न आउने पर्यटकको सुरक्षा र उनीहरूलाई पर्ने समस्या समाधान गर्न  २०३५ मा पर्यटक प्रहरीको स्थापना भएको थियो । पर्यटक प्रहरीले पर्यटकका लागि आवश्यक सूचना प्रवाह गर्ने, पर्यटकबाट आएका उजुरी निवेदन छानबिन र कारबाही गर्ने, इजाजत नभई पथप्रदर्शक कार्य गर्नेमाथि नियन्त्रण तथा कारबाही गर्ने, फौजदारी अपराध सम्बन्धमा सम्बन्धित दूतावासमा सम्पर्क राखी स्थानीय प्रहरीमार्फत कारबाही अगाडि बढाउने, होटेल, ट्राभल, ट्रेकिङ, र्याफ्टिङ एजेन्सीमा निरीक्षण गर्ने लगायतका काम गर्दै आएको छ ।

पर्यटकको सुरक्षा गर्न भन्दै कार्यालय स्थापना भएको ४५ वर्ष पुगे पनि आफ्नो छुट्टै पहिचान बनाउन भने सकेको छैन,जसका कारण पर्यटकहरूले लिएर आउने गुनासो सम्बोधन गर्न नसकेको उनी बताउँछन् । उनका अनुसार हाल पर्यटक प्रहरीले पर्यटन विभाग अन्तर्गत रहेर काम गरिरहेको छ । 

‘हामीलाई आफ्नो छुट्टै पहिचान नहुँदा काम गर्न एकदमै कठिनाइ भइरहेको छ,’ प्रहरी निरीक्षक श्रेष्ठ निराश सुनिन्छिन्,‘हामी काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको एउटा युनिट हौँ । पर्यटन विभाग मातहत रहेर काम गरिरहेका छौँ । पर्यटकलाई गाइड गर्ने हामीसँग छुट्टै कुनै आधार नै छैन । पटक पटक आवाज उठाइरहेका छौँ,सुनुवाइ भएको छैन ।’

हाल पर्यटक प्रहरीले समझदारीको आधारमा पर्यटन मन्त्रालयले दिएको  गाइडलाइनमा टेकेर काम गरिरहेको छ । त्यस कारण ‘पर्यटक प्रहरी ऐन २०३५’ संशोधन गर्न उनले माग गरे । अहिले संशोधनको विषयमा छलफल पनि भइरहेको उनको भनाई छ। ‘हाम्रो माग प्रहरी प्रधान कार्यालयबाट गृह र पर्यटन मन्त्रालयसम्म पुगिसकेको छ । पर्यटन विभागबाट पनि हाम्रो प्रस्ताव जाँदै छ,’ उनी केही आशावादी सुनिए,‘आशा गरौँ अबका दिनमा हाम्रो काममा अझ स्पष्टता र हामीले काम गर्ने आधार तयार हुन्छ ।’

सम्पूर्ण काम, कर्तव्य र जिम्मेवारी पर्यटन क्षेत्रसँग भए पनि पर्यटक प्रहरीलाई हालसम्म पर्यटन ऐनमा समावेश गरिएको छैन । उनी प्रश्नको शैलीमा भन्छन्, ‘के आधारमा पर्यटक प्रहरी स्थापना भएको हो ? कानुनमा स्पष्टता त हुनु पर्थ्यो नि,हामीलाई पनि त पहिचान चाहिन्छ,’ उनले आफ्नो तर्क अघि सारे,‘गाइडलाइन चाहिन्छ,गाइडलाइन नै नभए हामीले कुन आधारमा काम गर्ने ?’

पर्यटकीय गन्तव्य र पर्यटक दुवै सुरक्षित छन् भन्ने वातावरण तयार गर्ने मुख्य भूमिका पर्यटक प्रहरीको हो । तर, आफ्नो छुट्टै पहिचान नहुँदा सोचेअनुरूपको काम गर्न नसकेको उनको भनाइ छ । पर्यटकका लागि नेपाल उत्तम गन्तव्य हो । तर, कतिपय पक्षको व्यवस्थापन गर्न नसक्दा पर्यटकले धेरै दुःख भोगिरहेको उनले सामुन्ने देखेका छन् । 

‘नेपाल घुम्न आउँदा पर्यटकले भाषा, लोकेसनदेखि लुटपाटजस्ता कैयौँ समस्याको सामना गर्नु परिरहेको छ,’ उनी भन्छन्, ‘यस्ता समस्या समाधान गर्न नै हामी आएका हौँ । पर्यटकको चाप दिनानुदिन बढिरहँदा समस्या पनि उत्तिकै बढिरहेका छन् । तर, हामीले सोचे अनुरूप काम गर्न नसक्दा पर्यटकमा नकारात्मक सन्देश गइरहेको छ ।’

अहिलेको ठूलो समस्या भनेको अलपत्र परेका पर्यटक व्यवस्थापन हो । यसकालागि उनले उपाय झिकेका छन् । उनले सुनाए,‘केही दिन अघि मात्र ११ बजे राती एक जना विदेशी महिला कागजपत्र सबै हराएर गुहार माग्दै हाम्रो सम्पर्कमा आउनु भयो । तर, उहाँलाई कहाँ बास दिने रातको समयमा हामीलाई एकदमै समस्या भयो । 

त्यस कारण उद्धार गरिएका, समस्यामा परेका पर्यटकलाई व्यवस्थापन गर्न ‘टुरिस्ट सेफ हाउस’ को निर्माण गर्नुपर्ने देखिन्छ । सेफ हाउस निर्माण गर्न सकिए भिसा अवधि सकिएका, मानसिक रूपमा अस्वस्थ पर्यटकहरूलाई केही समय होल्ड गरेर राख्न सजिलो हुने उनको बुझाइ हो । 

तीन महिनामा आए दुई लाख बढी पर्यटक 

पछिल्लो समय नेपाल घुम्न आउने पर्यटकमा पर्यटन क्षेत्र चलायमान भएको छ । कोरोनापछि विदेशी पर्यटक नेपाल घुम्न आउने संख्यामा उल्लेख्य वृद्धि भएको छ । यसबाट पर्यटन व्यवसायी उत्साहित भएका छन् । सन् २०२३ मार्चसम्म मात्र विभिन्न देशबाट करिब २ लाख २७ हजार ७ सय ५५ पर्यटक हवाई मार्गबाट नेपाल भित्रिएका छन् । 

नेपाल आउनेमा सबैभन्दा धेरै भारतीय नागरिक छन् । सो समयमा मात्र ६० हजार भारतीय नागरिक नेपाल आएका छन् । त्यस्तै, सन् २०२२ मा भने ६ लाख १४ हजार ८६३ जना पर्यटक नेपाल भित्रिएका थिए । गत वर्षको तुलनामा यस वर्ष पर्यटकको संख्यामा उल्लेख्य वृद्धि हुने पर्यटक विभागले जनाएको छ । 

यसैबीच सन् २०२१ मा १ लाख ५० हजार ९ सय ६२ जना पर्यटक नेपाल आउँदा सन् २०२० मा २ लाख ३० हजार भन्दा बढी पर्यटक नेपाल भित्रिएका थिए । सो समयमा कोरोनाका कारण कम पर्यटक आएको पनि विभागले जनाएको छ । सन् २०१९ को अन्त्यबाट विश्व व्यापक रूपमा फैलिएको कोरोना संक्रमणका कारण नेपालमा पर्यटन क्षेत्र निकै प्रभावित बनेको थियो । 

सरकारले आयोजना गरेको ‘नेपाल भ्रमण वर्ष २०२०’ समेत स्थगित गरिएको थियो । लगातार ३ वर्ष (२०२०,२०२१, २०२२) कोरोनाका कारण पर्यटन क्षेत्र प्रभावित भएको थियो । सुखद समाचार ! सन् २०२३ सुरु भएसँगै नेपालमा पर्यटक देखिन् थालेका छन् ।   

  • प्रकाशित मिति : बैशाख १८, २०८० साेमबार १४:५८:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया