समुद्री छालमा परेर पोर्चुगलमा एक नेपाली बेपत्ता

पोर्चुगलको तोरेस भेद्रासस्थित समुद्री किनारबाट एक नेपाली युवा बेपत्ता भएका छन् । समुद्रको  छालमा परी अर्घाखाँची जिल्ला भूमिकास्थान नगरपालिका–६, खिल्जीका २५ वर्षीय भुपाल दमासे बेपत्ता भएका हुन् ।

बुधबार दिउँसो तोरेस भेद्रासस्थित सान्तारिता समुद्री किनारबाट दमासे एक्कासि बेपत्ता भएको सँगै गएका उनका साथी कुशल सुवेदीले जानकारी दिए । ‘हामी तीनजना समुद्री किनारमा बस्ने भनेर गएका थियौँ । मैले र अर्को एकजना साथीले बस्ने ठाउँ मिलाउँदै थियौँ । एक्कासि एकजना पोर्चुगिज नागरिकले तिमीहरुको साथी समुद्रको छालमा पर्यो भन्दै चिच्याए,’ घटना सुनाउँदै सुवेदीले भने, ‘हामीले समुद्रमा हेर्दा भुपाललाई कतै देखेनौँ, किनारमा उसको चप्पल मात्रै देख्यौँ । त्यसपछि उद्धारका लागि तत्काल प्रहरीलाई खबर गर्यौँ ।’

उनी समुद्रमा बेपत्ता भएको विषयमा उनका परिवारलाई जानकारी गराइएको दमासेका आफन्तले बताएका छन् । उनको खोजबिन गर्न र घटनाको सत्यतथ्य पत्ता लगाउन लिस्बनस्थित रहेको अवैतनिक नेपाली महावाणिज्य दूतावास र गैरआवासीय नेपाली सं पोर्चुगललाई आग्रह गरिएको छ । 

बेपत्ता भएका दमासेको समुद्रमा खोजी भइरहेको र हालसम्म नभेटिएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै गैरआवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष रविन अधिकारीले जानकारी दिए । 

दमासे वैदेशिक रोजगारीको सिलसिलामा तीन वर्षअगाडि पोर्चुगल गएका थिए । उनी तोरेस भेद्रासस्थित एक कृषि कम्पनीमा कार्यरत थिए ।





  • प्रकाशित मिति : बैशाख १८, २०८० साेमबार १७:५७:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया