चीनमाथि नेपालको जित, ग्लोबल छनोटमा पुग्न भने अझै कठिन

काठमाडौं– आइसिसी महिला टी–२० विश्वकपको एसिया क्षेत्र छनोटमा नेपालले चीनलाई ५ रनले हराएको छ ।

नेपालले दिएको ७८ रनको लक्ष्य पछ्याउँदै जबाफी ब्याटिङमा उत्रेको चीनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ७२ रन मात्रै बनाउन सक्यो ।

चीनका लागि जहाङ मिईले ३३ रन बनाइन् भने काइयुन जहोउले १८ रन जोडिन् । नेपालकी सीता रानामगरले चीनको ३ विकेट लिइन् भने कविता कुँवरले १ विकेट खसालिन् ।

यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ७७ रन बनाएको थियो । राम्रो सुरुवात गरेको नेपालका काजल श्रेष्ठ र सीता रानामगरले पहिलो विकेटका लागि ३२ रनको साझेदारी गरेका थिए ।

सीता व्यक्तिगत ११ रनमा आउट भइन् । लगत्तै, काजल पनि १८ रनमा आउट भइन् । त्यसपछि भने नेपालले लगातार विकेट गुमायो ।

ब्याटिङ टोलीले ७८ रनको झिनो लक्ष्य दिए पनि नेपाली बलरले चीनलाई लक्ष्य चुम्न दिएनन् । ५ रनको सानै अन्तरले भए पनि नेपालले खेल आफ्नो नाम गर्यो । 



तर, खेल जिते पनि नेपालको ग्लोबल छनोटमा पुग्ने सपना भने कठिन बन्दै गएको छ । पाँचमध्ये चार खेलमा जित र एकमा हार बेहोरेको नेपालको ८ अंक छ । 

अहिलेसम्मका पूरै खेल जितेको थाइल्यान्ड १० अंक बनाएर शीर्ष स्थानमा छ । र, पाँचमध्ये चार खेल जितेको युएई नेपालसँग समान अंक भए पनि नेट रनरेटको आधारमा नेपालभन्दा अघि दोस्रो स्थानमा छ । 



एसिया क्षेत्र छनोटबाट ग्लोबल छनोटमा जम्मा एक टिम पुग्नेछ । नेपालले अन्तिम खेलमा कुवेतलाई भारी अन्तरले पराजित गरे पनि ग्लोबल छनोटमा पुग्ने सम्भावना न्यून छ । आफ्नो भारी अन्तरको जितसँगै थाइल्यान्ड र युएई दुवैको ठूलै अन्तरको हार भए मात्र नेपाल ग्लोबल छनोटमा पुग्नेछ । 

  • प्रकाशित मिति : फागुन १३, २०७५ साेमबार १७:४१:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया