logo-img

अमेरिकामा नेपाल चिनाउँदै ह्यारी भण्डारी

विश्वका कुनै पनि देशबाट अमेरिका आएका जो कोही पनि आत्मनिर्भर र आर्थिक रुपले सहज जीवन बिताउने सपना देख्छन् । सुखद भविष्यको सपना साँचेर अवसरको खोजीमा अध्ययन, व्यवसायको सञ्जाल विस्तार, सुव्यवस्थित बसोबासका लागि अमेरिका आउनेहरू आज पनि उत्तिकै छन् ।

आफ्नो भूगोलबाट ठ्याक्कै विपरीत ध्रुवमा रहेको अमेरिका आउने चाहना नेपालीको पनि छ । उनीहरूको चाहना अमेरिका आउने अनि आफ्नो आर्थिक अवस्थामा आमूल परिवर्तन ल्याउने र पारिवारिक दायित्व पूरा गर्ने नै हुन्छ । यस्तै, नेपालीहरूमध्ये एक हुन्, डा. ह्यारी भण्डारी । 

अमेरिकाकै एक प्रतिष्ठित विश्वविद्यालयबाट विद्यावारिधि गरेर मेरिल्यान्ड राज्यबाट निर्वाचित सांसद (डेलिगेट) को हैसियतले भण्डारी अहोरात्र खटिरहेका छन् । अमेरिकाको एउटा राज्यको सांसदको भूमिका के नै होला र भन्ने लागे पनि यसको प्रक्रिया र संरचना अध्ययन गरेपछि भने सबैले भन्ने गर्छन्– यो कठिन कार्य हो ।
     
केही थान अङ्ग्रेजी साहित्यका र नेपाली किताब सुटकेसमा हालेर सन् २००५ मा अमेरिका आएका भण्डारी आधा दशकदेखि भने अमेरिकाको मेरिल्यान्ड राज्यको तल्लो सदनमा सांसदका रूपमा क्रियाशील छन् । कूल १ सय ४१ सदस्यीय सांसद राज्यका लागि बजेट तर्जुमा, आवश्यक पर्ने नीति नियमको परिमार्जन र गभर्नरको भिटोलाई समेत निष्क्रिय गराउन सक्ने गरी मुख्य कार्य क्षेत्र निर्धारण गरिएको छ । अमेरिका स्वतन्त्र हुनुभन्दा १ सय ४४ वर्षअगाडि नै सन् १६३२ मा स्थापना भएको मेरिल्यान्ड जनरल एसेम्बलीले हालसालै चार सय ४५औँ बैठक सम्पन्न गरिसकेको छ । 

अमेरिकाका संस्थापक पिता भनेर सम्बोधन गरिने जर्ज वाशिङटन, जेफर्सनजस्ता व्यक्तित्वहरूले भावी पिँढीका लागि इतिहास कोरेको भवनमा ह्यारीले पनि उनीहरूकै पदचाप पछ्याउँदै छन् । उनको राजनीतिक यात्राले त १० वर्ष मात्र पूरा गरेको छ तर आप्रवासी नेपाली अमेरिकीमाझ उनी उदाहरणीय बनेका छन् । उनी सफलता पछ्याउँदै अघि बढेका छन् । 
 
भण्डारीले सन् २०१८ मा आफ्नो डिष्ट्रिकबाट मेरिल्यान्ड राज्यको संसद्मा प्रतिनिधित्व गर्ने पहिलो नेपाली अमेरिकी बनेर इतिहास रहेका छन् । आप्रवासीहरूको न्यून उपस्थिति भएको उक्त क्षेत्रबाट तीनजनाले राज्य संसद्मा प्रतिनिधित्व गर्नेमा ह्यारीले १२ वर्षपछि डेमोक्र्याट पार्टीका तर्फबाट जित हासिल गर्न सफल भएका थिए । ह्यारीको विजयी अभियानलाई नेपाली आप्रवासीले अङ्गीकार गरेको ‘फर्सीको मुन्टा कूटनीति’ ले काम गरेको टिप्पणी स्वतन्त्र अध्येताहरूको छ । नेपाली आफ्नो करेसाबारीमा फलेको हरियो सागसब्जी छिमेकीलाई दिएर अपनत्वको भावना जागृत गराउन सिपालु हुन्छन् । उनको विजयमा यो कूटनीतिले पनि सघाएको छ । 

पेसाले शिक्षक भण्डारीले ‘टिचर फर डेलिगेट’ भन्ने नारा तय गरेका थिए । यो नाराले उनलाई विजय हुन मात्र सफलता दिएन बरु राजनीतिक सम्भावनाको ढोका पनि खोलिदियो । तिनै शिक्षकले अहिले आफ्नो डिष्ट्रिकमा विद्यार्थीहरुको बढ्दो चापलाई कम गर्न विद्यालयको भौतिक संरचना निर्माणका लागि लाखौँ डलर राज्यकोषबाट ल्याउन सफल भएका छन् ।

संसद् बैठकको अन्तिम दिन अनेकन बिलहरु पारित गर्नुपर्ने दबाबमा हाउसका अध्यक्ष, स्पिकर, सिनेटरहरू र डेलिगेटहरू रहेका हुन्छन् भने अल्पमतमा रहेकाहरू कसरी एउटा भए पनि बिललाई पास हुनबाट रोकौँ भन्ने ध्यानमा हुन्छन् । हाल भण्डारी मेरिल्यान्ड राज्यको संसद्मा एसियन अमेरिकन प्यासिफिक आइल्यान्डरको ककसको अध्यक्षसमेत हुन् । संसद् बैठक समापन हुनुभन्दा २६ मिनेटअगाडि यो बिल जब सिनेटका अध्यक्ष बिल फार्गसनले पढेर सुनाए, सिनेटमा उपस्थित भएका सिनेटरहरूमध्ये सबैले बिलको पक्षमा मतदान गरेर बिल पारित भयो । 



बिल पारित भएपछि प्रतिक्रिया दिँदै भण्डारीले भने, ‘अमेरिका विविधतामा एकता भएको विश्वको एक मात्र यस्तो भूमि हो, जहाँ यहाँका नागरिकको चासो र सम्भावनालाई निर्वाचित प्रतिनिधिहरूले उच्च महत्वका साथ कानुनमार्फत सम्बोधन गरिरहेका हुन्छन् । यसैले गर्दा तपाइँहामीले मानेको चाड दसैँ कानुन बनेर आयो । हुन पनि सङ्ख्यात्मक हिसाबले सानो सङ्ख्यामा रहेको नेपाली अमेरिकीले मनाउने दसैँलाई भण्डारीले उच्च प्राथमिकताका साथ लिएर संसद्मा जानुभयो र पारित गराउन सफल हुनुभयो । अब आगामी मे ३ तारिखमा तय गरिएको र मेरिल्यान्ड राज्यका गभर्नर वेज मुरले हस्ताक्षर गरेपछि यो कार्यान्वयनमा जानेछ ।

मोर्गन स्टेट युनिभर्सिटीका प्राध्यापक डा. उत्तम गौलीले भने, ‘दसैँ बिल पारित हुनु हामीहरूका लागि अभूतपूर्व खुसीको क्षण हो । बिलमा समावेश भएका दुईटा कुराले अमेरिकाको कानुनको किताबमा नेपाल र नेपाली भावनालाई समेटेको छ । पहिलो, यसमा दसैँ नेपालबाट आएको भनिएको छ भने अर्कोतर्फ बसुधैव कुटुम्बकम भन्ने शब्दावलीलाई यसले अङ्गीकार गरेको छ ।’



चार दशकदेखि अमेरिकामा बस्दै आएका र दसैँ बिलका बारेमा संसदीय समितिमा वकालतसमेत गरेका डा श्याम कार्कीले खुसी हुँदै भने, ‘डा भण्डारीले नेपाली समुदायको भावनालाई उच्चतम् प्राथमिकतामा राखेर काम गर्नुभएको पुष्टि भएको छ ।’
  
मेरिल्यान्डमा हिन्दू तथा वुद्ध मन्दिरको स्थापनाका लागि प्रमुखदाताका रूपमा समेत रहेका कार्कीले यो बिलले मेरिल्यान्ड राज्यमा दसैँले मान्यता प्रदानमात्र गरेको छैन भाइचाराको सम्बन्धलाई पनि स्थापित गरेको छ । 

साहित्यकार तीर्थ पाण्डेयले भने, ‘यो बिल पारित हुनु हामीहरुका लागि खुसीको कुरा हो । अब हामीले यो बिलले समेटेअनुसारको काम गर्नुपर्नेहुन्छ ।’ खासमा यो बिलले हरेक वर्ष अक्टोबर ५ लाई दसैँ डे भनेर मनाइने छ । त्यस दिन मेरिल्यान्ड राज्यका गभर्नरले दसैँ डे भनेर घोषणापत्र सार्वजनिक गर्नेछन् ।साथमा त्यो दिन विशेष चाड भएको भनेर अभिभावकहरूले विद्यालयमा आफ्ना बालबालिकाहरूका लागि बिदा माग गर्न सक्नेछन् ।

भण्डारी अमेरिकामा रहेका नेपालीहरूका लागि राजनीतिक सफलता पाएसँगै एक नमूना राजीतिज्ञका रूपमा स्थापित भएका छन् । उनँले गाह्रोसाह्रो परेका बेला कैयन् व्यक्तिलाई सहजीकरणसमेत गरेका छन् । विविध कारणले मृत्यु भएकाहरूको सद्गत गर्नेदेखि आप्रवासनका समस्या, भाषागत समस्याका कारणले कानुनी परिबन्दमा परेकाहरूको सहजीकरणदेखि हरेक कुरामा ह्यारीको साथ र सहयोग रहेको छ । 

सन् २०२१ को कोरोना महामारीका बेला ह्यारीले ५० वटै राज्यका अमेरिकामा नेपालीको बेरोजगार फर्म भर्न सहजीकरण गर्नेदेखि मनोवैज्ञानिक त्रासमा रहेकालाई ढाडस दिने काम गरेका थिए । ‘आफैँलाई कोरोना महामारी भए के गर्ने ? भन्ने अन्योल थियो तर उहाँ मास्क र पञ्जा बोकेर कैयन् आप्रवासीहरुको घरदैलोमा पुग्नुभयो । भण्डारीमा सामाजिक र भावनात्मक रूपले राजनीतिक नेतृत्वमा हुनुपर्ने गुण छ,’ सामाजिक अभियन्ता अर्जुन हमालले भने ।  

अहिले पनि भण्डारीको कार्यालयमा सहयोगका लागि हरेक दिन सम्पर्क गर्ने व्यक्तिहरूको कमी छैन । अमेरिकामा चारवटा अलगअलग समयसीमा छ, पूर्वतटीय भूगोलमा भन्दा पश्चिमतटको समयको फरक तीन घण्टा छ । कतिपय अवस्थामा त रातको २ बजे पनि समस्यामा परेकाहरूले भण्डारीलाई फोन गर्ने गर्छन् । विविध कारणले मृत्युवरण गरेकाहरूको अन्तिम संस्कारका लागि अपनाउनुपर्ने प्रक्रियाका बारेमा भण्डारीको कार्यालयले समन्वय गर्दै आएको छ, भने दिवङ्गतहरूको शव नेपाल पठाउनका लागि पनि भण्डारी स्रोत व्यक्तिसरहकै रूपमा काम गर्दै आएका छन् ।  

अमेरिकास्थित दूतावास, नेपालमा रहेका परिवारका सदस्यहरूको मञ्जुरीनामा, शवदहन गृहका प्रतिनिधिसँग छलफलदेखि एयरलाइन्ससँग समन्वय गर्ने सबै काम उहाँको कार्यालयले गर्दै आएको छ । 

भण्डारीले मेरिल्यान्डमा रहेका नेपालीको सङ्घसंस्थाका लागि सहयोग कोषमार्फत सात लाख डलरसमेत दिलाउन सफल भएका छन् । यसरी रकम प्राप्त गर्नेहरू हिन्दू, बुद्ध मन्दिर, नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र, बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिकालगायतका गैरनाफामूलक संस्था रहेका छन् । 

भर्जिनियामा बस्दै आएका अन्तर्राष्ट्रिय साहित्य समाज मेरिल्यान्ड च्याप्टरका पूर्वअध्यक्ष भरत बराइली भन्छन्, ‘डेलिगेट भण्डारीले अमेरिकामा रहेका नेपालीका लागि अभिभावककै भूमिका निर्वाह गर्नुभएको छ । उहाँले नेपाली भाषीहरुको कला, संस्कतिको जगेर्नामा त महत्वपूर्ण भूमिका निभाउनु भएको छ ।’  

अमेरिकाको संसद्मा प्रतिनिधित्व गर्ने ह्यारीले संसद्मा गीता र वेदका पुस्तक छोएर शपथ लिएका थिए । मेरिल्यान्डको राजधानी एनापोलिसमा रहेको उनको कार्यकक्ष नेपालको झण्डा र सगरमाथाको तस्बिर सजिएको छ । भावी पिँढीका लागि अमेरिकाको मूलधारको राजनीति, कूटनीति, शिक्षा, स्वास्थ्यजस्ता विषयलाई उच्च तहमा पुर्‍याउनका लागि उपलब्ध अवसरलाई सहजीकरण गर्न सदैव तत्पर रहेको बताउने भण्डारीले विगत पाँच वर्षमा मेरिल्यान्ड जनरल एसेम्बलीबाट १७ वटा विधयेक आफैँले प्रस्तुत गरेर पारित गराउन सफल भएका छन् । रासस 

  • प्रकाशित मिति : वैशाख १९, २०८० मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया