सरकार निर्माणमा राष्ट्रिय समझदारी बन्नुपर्छ : उपेन्द्र यादव

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफूहरू सरकारको स्थिरताको पक्षमा रहेको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभा सदस्यको रूपमा सभामुखबाट शपथग्रहण गरेसँगै सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आफूहरू सरकारको स्थिरताको पक्षमा रहेको बताएका हुन् । 

यादवले सरकारले आफ्नो कार्यकाल पूरा गर्नुपर्छ भन्ने पक्षमा पार्टी रहेको स्पष्ट पारे । उनले अस्थिरताले कसैको हित नगर्ने र लोकतन्त्रलाई कमजोर बनाउने भन्दै जनतामा वितृष्णा जाग्न दिनु नहुने उल्लेख गरे । 

अध्यक्ष यादवले सरकार निर्माणको सम्बन्धमा राष्ट्रिय समझदारी बन्नुपर्नेमा जोड दिए ।  

‘सरकारको स्थिरता लोकतन्त्रको विकासमा अत्यन्त महत्वपूर्ण हुन्छ । नेपालमा त झन् आर्थिक विकास र समृद्धिका लागि सरकारको स्थिरता आवश्यक छ । सरकारलाई पहिले स्थिरता दिने । दोस्रो कुरा संसदीय समितिहरू अगाडि नै भइसक्नुपर्ने थियो त्यसका निर्वाचनहरू । त्यसलाई अब यथाशीघ्र गर्नुपर्दछ । र संसदीय समिति नै संसदीय प्रणालीको फङ्सनल विङ हो । त्यसलाई निर्माण गर्ने, एक्टिभेट गर्नु आवश्यक छ,’ उनले भने, ‘धेरै विधेयक परिराखेका छन्, धेरै विधेयक आउनुपर्ने छ । यी सबै कार्यहरूलाई गतिशीलता दिनुपर्दछ । सरकारले आफ्नो कार्यकाल पूरा गर्नुपर्छ भन्ने पक्षमा हामी छौँ । अस्थिरताले कसैको हित गर्दैन । लोकतन्त्रलाई कमजोर बनाउँछ । र, जनतामा वितृष्णा जाग्ने स्थिति हुन्छ । त्यो गर्न दिनुहुन्नँ । म त चाहन्छु अब वृहत् समझदारी बनोस् ।’  

यादवले संसदीय समितिको कामलाई सक्रिय र गतिशील बनाउनुपर्ने बताए । उनी १० वैशाखमा भएको उपनिर्वाचनमा बारा–२ बाट निर्वाचित भएका थिए । 





  • प्रकाशित मिति : बैशाख १९, २०८० मंगलबार १५:६:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया