जनमत संग्रहको निर्णयविपरीत किन अमेरिकी क्याम्प सार्दै छ जापान ?

टोकियो– जापानले जनमत संग्रहको निर्देशविपरीत ओकिनावा टापुमा रहेको अमेरिकी सेनाको बेस क्याम्प सार्ने प्रक्रियालाई निरन्तरता दिने भएको छ । सोमबार प्रधानमन्त्री सिन्जो आबेले जनमत संग्रहको नतिजालाई सरकारले गम्भीरतापूर्वक लिए पनि २० वर्षअघिदेखिको योजनालाई रोक्न भने नसक्ने बताए । 

यसअघि, बेस क्याम्प सार्ने र नयाँ क्याम्प निर्माण गर्नेबारे भएको ‘ननबाइन्डिङ पोल’मा भन्डै ७२ प्रतिशत स्थानीयले क्याम्प नसार्ने पक्षमा मत दिएका थिए । यद्यपि, पछिल्ला वर्ष क्याम्प आसपास भएका थुप्रै दुर्घटना र अपराधहरुले क्याम्पविरुद्ध स्थानीय जनमत बढाइरहेको छ । 

ओकिनावामा रहेको ‘मराइन कर्प्स एयर स्टेसन फुटेन्मा’ले जापानभर अमेरिकी सैन्य सुविधा प्रदान गरिरहेको छ । 

‘हामी फुटेन्मालाई सार्नुपर्ने आवश्यकतालाई नजरअन्दाज गर्न सक्दैनौँ, जुन विश्वकै सबैभन्दा खतरनाक बेस मानिएको छ,’ पत्रकारहरुमाझ प्रधानमन्त्री आबेले भने, ‘हामी यसलाई अझै यही हालतमा छाड्न सक्दैनौँ ।

स्थानीय जनताले उनीहरुको जनमतविरुद्ध जानुपर्ने सरकारको बाध्यतालाई बुझ्ने उनको विश्वास छ । 

सरोकारवाला क्षेत्रमा आइतबार भएको जनमत संग्रहमा क्याम्प सार्ने कुराको पक्ष, विपक्ष र तटस्थ गरी तीन विकल्पमा मतदान गर्ने व्यवस्था थियो । अधिकारीहरुका अनुसार, ७२ प्रतिशत मतदाताले विपक्षमा मतदान गरेका थिए । १९ प्रतिशतले पक्षमा र ९ प्रतिशतले तटस्थ रहने पक्षमा मत दिएका थिए । 



कानुनअनुसार, स्थानीय गभर्नरले नतिजाबारे टोकियो र वासिंगटनलाई जानकारी गराउनुपर्नेछ । यद्यपि, टोकियोस्थित केन्द्र सरकारले नतिजालाई बेवास्ता गर्न पनि पाउँछ । 

फुटेन्मा बेस क्याम्प ओकिनावाको सहरी भागमा पर्दछ, र वासिंगटन यसलाई रिमोट एरियामा सार्न चाहन्छ ।



ओकिनावा टापुमा अमेरिकी सेनाको उपस्थिति दोस्रो विश्वयुद्धपछिको अमेरिका र जापानबीचको ‘पोस्ट वार सुरक्षा सहकार्य’को मुख्य कडी हो, तर थुप्रै स्थानीय क्याम्पलाई झन्झटका रुपमा झेलिरहेका छन्, र यो ओकिनावाबाहिर सरोस् भन्ने चाहन्छन् । 

जापानमा रहेका ४७ हजार अमेरिकी सैनिकमध्ये आधाभन्दा बढी ओकिनावामा छन् । सन् १९९५ मा अमेरिकी सैनिकबाट भएको १२ वर्षे बालिकामाथिको सामूहिक बलात्कारपछि अमेरिकी क्याम्पविरुद्धको आवाज एक्कासि चुलिएको थियो । 

सन् २०१६ मा एक अमेरिकी क्याम्पका पूर्वकर्मचारी २० वर्षे स्थानीय महिलालाई दुर्व्यवहार गरेको र उनको हत्या गरेको अभियोगमा दोषी ठहर भई आजीवन कारावासको सजाय पाएका थिए । उनको गिरफ्तारीपछि अमेरिकी बेस क्याम्पले केही समय मदिरामा प्रतिबन्धका साथ मध्यरातमा कर्फ्युसमेत लगाएको थियो । 
 

  • प्रकाशित मिति : फागुन १३, २०७५ साेमबार १९:३६:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया