लडाइमा दुवै खुट्टा गुमाएका हरिले गरे दोस्रोपटक मेरा पिक हिमाल आरोहण

पूर्वब्रिटिस गोर्खा सैनिक हरिबहादुर बुढामगरले दोस्रोपटक मेरा पिक हिमाल सफल आरोहण गरेका छन् । सगरमाथा आरोहणको अन्तिम तयारीका लागि दोस्रोपटक मेरा पिक आरोहण गरेका हुन् । हरिले गत १६ अप्रिल बिहान ९ः३० बजे ६ हजार ४७६ मिटर अग्लो मेरा चुचुरोको सफल आरोहण गरेका हुन् । 

दुईपटक मेरा पिक चढीसकेपछि खुसी व्यक्त गर्दै उनले आफ्ना शुभचिन्तकलाई धन्यवाद ज्ञापन गरे । घुँडाभन्दा माथिबाट दुवै खुट्टा गुमाउनुभएका डबल एम्प्युटी (दुवै अंगविच्छेदन) बुढामगर सगरमाथा आरोहण गर्ने पहिलो डबल एम्प्युटी व्यक्तिको रेकर्ड राख्न आरोहणको अन्तिम तयारीमा छन् ।  

अफगानिस्तानको लडाइमा दुवै खुट्टा गुमाएका उनले शाहसिक पर्यटनमार्फत एकपछि अर्को रेकर्ड राख्दै आएका छन् । कृत्रिम खुट्टा लगाएर बेलायतको सबैभन्दा अग्लो पहाड चढ्ने पहिलो व्यक्तिको कीर्तिमानी आरोहीबाट आरोहणमा रेकर्ड राख्न थालेका बुढामगर पश्चिम युरोपको सबैभन्दा अग्लो मोन्ट ब्लांक (दुई जनाले सँगै), अफ्रिकाको सबैभन्दा अग्लो किलेमन्जारा र मेरा पिक ६ हजारभन्दा माथि चढ्ने पहिलो व्यक्तिसमेत हुन् । उनले चुलु फार इस्ट आरोहण, हिँडेर सगरमाथा आधार शिविर पुग्ने र सगरमाथा माथि स्काइ ड्राइभ गरेर कीर्तिमान राखेका छन् ।

‘मैले यो सुन्दर हिमालको दोस्रो पटक आरोहण गरेको हुँ । कुनै पनि दोहोरो एम्प्युटीले यो पिक आरोहण गरेको छ जस्तो मलाई लाग्दैन । आफ्नो टोली एचएस्टी एड्भेञ्चर परिवार, साथीहरू र विश्वभरका सबै समर्थकहरूलाई धन्यवाद दिन चाहन्छु । उहाँहरूबिना यो सम्भव हुने थिएन । मेरा पिकको दोस्रोपटकको सफल आरोहणले मलाई सगरमाथा आरोहणका लागि थप उर्जा दिएको छ,’ हरिले भने, ‘अहिले म मेरो आरोहण दलसँग सगरमाथा आरोहणको अन्तिम चरणमा मौसमको अनुकूलताको पर्खाइमा छु । मौसमले साथ दिने बित्तिकै हामी आरोहणलाई अन्तिम नतिजा दिनेगरी तयारीमा बसेका छौँ । मेरो यो अभियान आफ्नो व्यक्तिगत नभइ सिंगो नेपाल र नेपालीको लागि पनि हो ।’ 





  • प्रकाशित मिति : बैशाख २०, २०८० बुधबार ८:३९:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया