नवनियुक्त तीन मन्त्रीले आज पद तथा गोपनीयताको शपथग्रहण गर्दैछन् ।
नेपाली कांग्रेसबाट मन्त्री बनेका धनराज गुरुङ, मोहन बस्नेत र डिगबहादुर लिम्बूले आज शपथग्रहण गर्न लागेका हुन् । नवनियुक्त मन्त्रीहरूको शपथ समारोह आज दिउँसो ३ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार गुरुङलाई कानुन, बस्नेतलाई स्वास्थ्य र लिम्बूलाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेका थिए । तीन मन्त्री थपिएसँगै मन्त्रिपरिषद् २२ सदस्यीय भएको छ ।
प्रधानमन्त्री प्रचण्डले पछिल्लोपटक ३ वैशाखमा मन्त्रिपरिषद् विस्तार गरेका थिए । त्यतिबेला उनले कांग्रेसका एनपी साउदलाई परराष्ट्रमन्त्री र नेकपा एकीकृत समाजवादीका सांसद नन्दा चपाईंलाई भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रीमा नियुक्त गरे ।
त्यसअघि १७ चैतमा सातौंपटकको विस्तारमा कांग्रेसबाट चारजना मन्त्री नियुक्त भए । त्योबेला पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा, डा. प्रकाशशरण महत अर्थ, सीता गुरूङ शहरी विकास र रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री नियुक्त भएका थिए ।
त्यसअघि १६ फागुन, १४ फागुन, २३ माघ, १४ माघ र ३ माघमासमेत मन्त्रिपरिषद् विस्तार भएको थियो । प्रधानमन्त्री प्रचण्डले ११ पुसमा प्रधानमन्त्रीको शपथ लिएका थिए ।
नवौँपटक मन्त्रिपरिषद्काे तयारी भए पनि सरकारले भने अझै पूर्णता पाउने छैन । सत्ता गठबन्धनबीच मन्त्रालय बाँडफाँट गर्दा वन मन्त्रालय जनता समाजवादी पार्टी र खानेपानी मन्त्रालय जनमत पार्टीको भागमा परेको थियो । तर, जनतम सरकारबाट बाहिरिएपछि अहिले खानेपानी नेतृत्वविहीन छ ।
साथै, जसपाले वन मन्त्रालयका लागि अहिलेसम्म प्रधानमन्त्रीकहाँ नाम पठाएको छैन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।