शून्य नतिजा ल्याउने विद्यालयलाई १० लाखको शैक्षिक सामग्री दिने धनगढीका मेयरको घोषणा

आधारभूत तह कक्षा ८ को परीक्षामा शून्य नतिजा ल्याउने धनगढीका सामुदायिक विद्यालय चालू शैक्षिक सत्रमा १० लाख बराबरको शैक्षिक सामग्री पाउने भएका छन् ।

शुक्रबार धनगढीमा रहेका विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षहरूसँग गरिएको अन्तरक्रिया कार्यक्रममा नगरप्रमुख गोपाल हमालले आफूले प्राप्त गर्ने सेवासुविधाको रकमबाट विद्यालयका लागि शैक्षिक सामग्री खरिद गरेर उपलब्ध गराउने बताएका हुन् ।

नगरप्रमुख हमालले एक वर्षमा पाउने सेवासुविधाको रकम अपुग भए आफ्नो व्यक्तिगततर्फबाट पनि रकम थप गरेर विद्यालयलाई १० लाख मूल्यका शैक्षिक सामग्री १७ वटै विद्यालयलाई उपलब्ध गराउने प्रतिबद्धता गरेका छन् । 

विद्यालयका प्रधानाध्यापकले शैक्षिक सामग्रीको अभावले पठनपाठनमा समस्या भएको बताएपछि नगरप्रमुख हमालले कापी किताब, कलम, मसीलगायत विद्यालयले पठनपाठनमा प्रयोग गर्ने शैक्षिक सामग्री खरिद गरेर प्रदान गर्ने बताएका हुन् । उनले विद्यार्थीलाई विद्यालयमा टिकाउने र राम्रो नतिजा ल्याउन सबै पक्षले लाग्नुपर्ने बताउँदै शैक्षिक सामग्रीको अभावमा पठनपाठन कमजोर हुन नदिन उपमहानगरले सबै किसिमका सहयोग गर्ने दाबी गरेका छन् ।

धनगढीमा आयोजित १७ विद्यालयसँग गरिएको अन्तरक्रिया कार्यक्रममा आगामी शैक्षिक सत्रमा राम्रो नतिजा ल्याउन र सामुदायिक विद्यालयको सिकाइ उपलब्धि राम्रो बनाउन उपमहानगरले आगामी आर्थिक वर्षमा ठोस योजना र कार्यक्रम ल्याउने जनाएको छ । नगरप्रमुख हमालले शिक्षा क्षेत्रमा राम्रो नतिजा हासिल गर्न परामर्शदाताको सहयोग लिने र शिक्षाका लागि बहुपक्षीय साझेदारी गर्ने योजना रहेको बताए  ।

‘सामुदायिक विद्यालयको नतिजा राम्रो बनाउन उपमहानगरले काम गर्छ । यो वर्षबाट विद्यालयको अवस्था सुधार गर्न सबैले लाग्नुपर्छ,’ उनले भने, ‘उपमहानगरको समग्र शैक्षिक अवस्था सुधारका लागि हामीले विज्ञको सहयोग लिएर काम गर्ने योजना बनाएका छौँ ।’  



कार्यक्रममा नगर उपप्रमुख कन्दकलाकुमारी रानाले विद्यालयको गुणस्तर वृद्धि गर्न अनुगमन र सहयोग सँगसँगै अगाडि बढाउने बताइन् । उनले विद्यालयको अनुगमन गर्न आफैं खटिने र धनगढीका सामुदायिक विद्यालयको अवस्था सुधार गर्न उपमहानगरले काम गर्ने बताइन् ।

कार्यक्रममा १७ विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षहरूले सिकाइको अवस्था सुधार गर्न शैक्षिक सामग्री नै अपुग हुने बताएपछि भर्ना शैक्षिक सत्रको सुरुमै शैक्षिक सामग्री सहयोग गर्ने र नतिजा राम्रो ल्याउन शिक्षक र व्यवस्थापन समितिले पनि उपमहानगरका योजना कार्यान्वयन गर्न लाग्नुपर्नेमा जोड दिइएको छ । 



  • प्रकाशित मिति : बैशाख २२, २०८० शुक्रबार १३:२६:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया