‘लुनेटिक’ यादहरू...

संसारको सबैभन्दा रहस्यमय, विलक्षण र सीमारहित जिनिस के हो ? यस प्रश्नका अनेक जवाफ आउलान् । तर, सही जवाफ केवल एक छ । त्यो मान्छेको दिमाग हो । मान्छेको दिमागबाहेक यस जगतका सारा कुरा अधुरा लाग्छन् । किनभने, जगत र यसका सारा आयामलाई पहिचान, आविष्कार र परिभाषित गर्ने त्यही दिमाग नै हो । तर, त्यतिबेला के होला जतिबेला मान्छेको त्यो अति शक्तिशाली दिमागमा कुनै रहस्यमय रोगले आक्रमण गरिदिन्छ ? मान्छेको त्यस्तो अथाह शक्तिले भरपूर दिमाग बिग्रियो भने कुन अवस्था सिर्जना होला ? त्यसका तारहरूमा अवरोध, घात वा प्रतिघात हुँदा के कस्तो हालत होला ?

आज जगत जुन खराब र निकृष्ट हालत भोगिरहेको छ, के त्यो सब मान्छेको दिमाग बिग्रेर भएको होइन ? के मान्छेको दिमागी हालत आज ठीक छ त ? तथ्याङ्क केलाउँदा थाहा हुन्छ, पक्कै छैन । 

रोचक र दर्दनाक कुरा, तपाईँको छेउछाउमा ‘टाइसुट’ लगाएर हिँडिरहेको कुनै भलाद्मी मान्छे पनि मानसिक रोगी हुनसक्छ । प्रशस्तै श्रृंगार गरेर सडकमा हिँडिरहेकी सुन्दरी पनि मानसिक रोगी हुन सक्छे । तपाईँको मुटु जोडिएको ‘पार्टनर’ मानसिक रोगी हुनसक्छ वा कुनै पनि मुलुकको शासक वा धर्म गुरु मानसिक रोगी हुनसक्छ । अथवा हामीले अनुमान नै नगरेका कथित भलाद्मी र सुन्दर स्त्रीहरू यहाँ जटिल मानसिक रोगका सिकार भइरहेका हुन सक्छन् । आश्चर्यको कुरा, भटाभट मानसिक रोगीको उपचार गरिरहेको चिकित्सक खुद गम्भीर मानसिक रोगी हुन सक्छ । यहाँ घर, घाट, सडक, सरकार वा जताततै मानसिक रोगीको संख्या तीव्र गतिमा बढिरहेको आभास हुन्छ । 

विश्व स्वास्थ्य संगठनको तथ्याङ्क हेर्दा थाहा हुन्छ, विश्वका प्रत्येक ८ जना मान्छेमध्ये एकजनालाई मानसिक रोग लागेको छ । जसअनुसार विश्वका झन्डै एक अरब मान्छे कुनै न कुनै किसिमको मानसिक रोगको चपेटामा छन् । कोरोना महामारीपछि यो तथ्याङ्क ह्वात्तै बढेका रिपोर्ट आइसकेका छन् । बेलैमा ठीकसँग मान्छेहरूको उपचार नभए चाँडै नै उक्त तथ्याङ्क बढेर सतप्रतिशत पुग्नेछ । विश्वका सारा मान्छे मानसिक रोगी हुन पुग्दा यो दुनियाँ रहला कि नरहला ? प्रश्न अति नै जटिल र भयावह छ ।

माथिको विकराल तथ्याङ्क हेर्दैगर्दा प्रश्न गर्न मन लाग्छ, यो क्षतविक्षत दुनियाँमा को ‘सद्दे’ ? अनि को ‘पागल’ ? के यहाँ धेरैभन्दा धेरै मानिसको दिमागको उपचार हुनु जरुरी भइसकेको छैन र ? के थाहा, यो दुनियाँलाई अधोगतिमा हाल्ने तिनै मानसिक रोगी नै हुन् कि ? विषय निकै जटिल र विरोधाभाषी लाग्न सक्छ । अनि यो छ पनि त्यस्तै ।

सबैभन्दा आश्चर्यजनक तथ्य चाहिँ के हो भने, टाउकोमा मानसिक रोगले जरा गाडिसकेको धेरैलाई अत्तोपत्तो हुँदैन । निदान भइसक्दा पनि व्यक्तिले मानसिक रोग लागेको अस्विकार गर्नु आफैँमा एक लक्षण मानिन्छ र यो सबैभन्दा खतरनाक स्थिति हो । 



मानिसको दिमाग ठीक हुन्जेल यसले गर्ने चमत्कार एकातिर निकै सम्मोहक लाग्छ । अनि सोही दिमाग बिग्रिएपछि उसले गर्ने निकृष्ट कामहरूको वर्णन पनि निकै भयंकर, विकराल र लामो छ । 

किनभने, दिमाग ठीक, शरीर पनि ठीक र शरीर ठीक, दिमाग पनि ठीक । यत्ति समीकरण मिलेको खण्डमा जीवनका जटिलता स्वाभाविकरूपमा सरलीकृत हुँदै जान्छन् । तर, यसको उल्टो– दिमाग बेठीक, शरीर पनि बेठीक र शरीर बेठीक, दिमाग पनि बेठीक । अब यो अवस्थामा फेरि जीवनका सरलताहरू चाहिँ जटिल बन्दै जान्छन् ।    



मानसिक रोगलाई यस लेखकले प्रत्यक्ष भोगेको छ । तत्सम्बन्धी विभिन्न लेखहरू पनि प्रकाशित गरेको छ । अहिले यहाँ चाहिँ यो लेखक एसियाकै ठूलो मानसिक अस्पतालमा आफूले बिताएका दुरूह र दयनीय तीन हप्ताको वर्णन पस्किने जमर्को गर्दैछ । 
... ... ...

टाउकोमा ‘स्किजोफ्रेनिया’ निदान भएको पाँच वर्ष बितिसकेको थियो । डाक्टरले दिएको औषधिले फाइदा गरिरहेको थिएन । अर्कातिर मानसिक रोग लागेको व्यक्तिलाई घर/समाजले गर्ने अवहेलना र भेदभावले बिरक्तिएको पनि थिएँ, म । 

नेपालमा मानसिक रोगीमाथि काम गर्ने मद्दत समूह खासै सक्रिय थिएनन् । त्यसो त अहिले पनि यस सम्बन्धमा यहाँ खासै पहल हुन सकेको छैन । मानसिक रोगीको हित वा वकालतमा लागेका केही ‘एनजिओ’ चाहिँ अनुदान भजाउन र विकासे राजनीति गर्न मै तल्लीन भेटिन्छन् ।

आजभन्दा २० वर्ष अघिको कुरा गर्दै छु म । 

मलाई ‘सपोर्ट ग्रुप’ याने मद्दत समूह चाहिएको । तर, नेपालमा थियो केवल, ‘स्टिग्मा’ अर्थात् अवहेलना । मद्दत समूहको यहाँ कुनै नामनिशान थिएन । भयानक वा सामान्य मानसिक रोगबारे पनि अनभिज्ञता, अन्योल व्याप्त । एकातिर रोगको पीडा भयावह । अर्कातिर अँध्यारो भविष्यको आकस्मिकता । भेदभाव र अवहेलना त घरमै पनि भोगियो । उपचारले काम नगरेपछि घरमा बस्नै कठिन । के तपाईँ कल्पना गर्न सक्नुहुन्छ एउटा ३० वर्षे युवाको त्यो दयनीय अवस्था ? धेरैले त्यस्तो अवस्थामा आफैंलाई वा अरूलाई सिद्याएका छन् ।

रोगसँग केही वर्ष लगातार युद्ध गरेर थाकेपछि इन्टरनेटमा खोज्दै जाँदा क्यानडाको ‘वर्ल्ड फेडरेशन अफ स्किजोफ्रेनिया एन्ड एलिड डिसर्डर’ नामक संस्थासँग ठोक्किन पुगेँ । तुरुन्तै एउटा इमेल लेखेँ । केही दिनमा जवाफ पनि आयो । जवाफमा नेपालबाट नजिकको मद्दत समूह केवल बंगलादेशमा रहेको जनाउँ दिँदै पत्राचारका लागि त्यहाँका ‘एन्टरप्रेनर’ तथा समाजसेवी बार्दुल मेननको इमेल ठेगाना पनि पठाइएको थियो । समय नगुमाइ मैले बार्दुललाई इमेल पठाएँ ।

बार्दुलको ‘रेस्पोन्स’ राम्रो थियो । जवान छोरालाई ‘स्किजोफ्रेनिया’ भएपछि उनले ढाकामा एउटा मद्दत समूह सञ्चालनमा ल्याएका रहेछन् । विमान बंगलादेशमा काम गर्दा केही समय नेपालसमेत बसेका उनले मलाई निकै उपयोगी परामर्श दिए । लामो समयसम्म हाम्रो इमेलवार्ता चलेको थियो । त्यतिबेला अहिले जस्तो मोबाइलको जमाना थिएन । ‘साइबर क्याफे’ हरूमा गएर आफ्नो ‘आइटी’ सम्बन्धी काम गर्नुपर्ने स्थिति थियो ।

बार्दुलले भारतको पुनास्थित एउटा मद्दत समूहबारे जानकारी दिए । मलाई केही आशा पलायो । किनभने, आफ्नो ठाउँमा सहयोग त परै जाओस्, मनको वह सुनिदिने पनि कोही हुन्थेनन् ।
... ... ...

अर्थशास्त्रमा ‘पिएचडी’ गरेका अनिल भर्तकले लामो समय ‘स्किजोफ्रेनिया’ को चपेटामा परेपछि उपचार गर्दागर्दै सरोकारवालासँग मिलेर महाराष्ट्रको पुनामा ‘स्किजोफ्रेनिया अवेरनेस एसोसिएसन’ नामक संस्था चलाएका रहेछन् । उनीसँग केही समय इमेलवार्ता चलेपछि मैले पुना जाने निधो गरेँ । पुना मेरा लागि नौलो थिएन । विपश्यना ध्यान यात्राका क्रममा म त्यहाँ सन् १९९८ मा एक महिना बसेको थिएँ । केही स्थानीयसँग मेरो राम्रो सम्बन्ध पनि थियो । एउटा स्यानो ‘ब्यागप्याक’ भिरेर ढिलो नगरी म पुना हान्निएँ ।

डा. भर्तकले घरमै बोलाए । उनले आफ्नो कथा सुनाए । रोगलाई नियन्त्रणमा लिएर उनी एउटा कलेजमा प्राध्यापन गर्दा रहेछन् । श्रीमती र एक छोरीसँग उनी सफल जीवन व्यतीत पनि गरिरहेका रहेछन् ।

म भने अत्यधिक मानसिक उहापोहले गाँजिएको अवस्थामा थिएँ । थुप्रै भ्रमले सताइरहेका थिए । दृष्टिमा कुनै गाँठो परेजस्तो हुन्थ्यो । कुनै कालो पर्दाले मनको उज्यालोलाई छोपेजस्तो । भनौँ न, एक किसिमको मानसिक कुपोषणले ग्रस्त थिएँ, म त्यतिबेला ।

‘एउटा अस्पतालमा तिमीलाई भर्ना गर्न सक्छु,’ डा. भर्तकले आश्वासन दिँदै भने, ‘औषधि नियमित सेवन गरेपछि मात्रै यो रोग ठीक हुन्छ । भन, के गर्छौ ?’ अस्पताल र औषधीको नाम सुन्नासाथ म अल्मलिएँ । आखिर म ‘सेता अप्रोनधारी’हरूकै चंगुलबाट पलायन भएर मद्दत समूहको खोजीमा त्यता पुगेको थिएँ ।
तत्काल केही निर्णय गर्न सकिनँ । कस्तो होला ? के होला ?

उनले थपे, ‘औषधि खाएर लक्षणहरूलाई नियन्त्रणमा नलिएसम्म कुनै पनि मद्दत समूहले सघाउँदैन । निर्णय तिम्रै हातमा छ ।’

म ‘एडभेन्चर’ मन पराउने केटो । फेरि रोगका लक्षणले अत्यधिक गाँजिएको अवस्था भएको हुँदा केही राहत पनि त चाहन्थेँ, म । अर्को कुरा, मेरो अगाडिको मान्छेले मलाई मद्दत गर्न खोजिरहेकोमा कसरी दिनु नकारात्मक जवाफ ?

जे पर्लापर्ला मैले ‘हुन्छ’ भनि दिएँ ।‘हुँदैन’ भनेको भए यो लेख कहाँ जन्मिन्थ्यो ?

अनि अर्को दिन म त्यो विशाल र रहस्यमय ‘यरोडा मेन्टल अस्पताल’मा भर्ना भइसकेको थिएँ । 

यो सब अहिले पुनर्ताजगी हुनुको कारण पनि सन् २००७ ताका आफूले तीन हप्ता बिताएको पूनाको फुलेनगरस्थित त्यो विशाल ‘मेन्टल अस्पताल’का ‘लुनेटिक’ यादहरूमा कहिलेकाहिँ मेरो एउटा पुनरुक्तिक सपना ठोक्किन्छ– हिटलरको यातना शिविरमा थुनिएका नाङ्गा यहुदीहरू...। अनि उनीहरूको लामो कतार र उनीहरूले पाइरहेको त्यो घनघोर यातना । उफ् त्यो घोर आततायी!

... ... ...

त्यस अस्पतालमा कैयन् वार्ड थिए र प्रत्येक वार्डमा सयौं मानसिक रोगी थुनिएका थिए । महिलाहरूको वार्ड भिन्नै थियो । सम्भवतः एसियाकै ठूला मानसिक अस्पतालमध्ये एक थियो, यरोडा । आम मान्छेको भाषामा भन्नुपर्दा यो एक भव्य ‘पागलखाना’ !

अस्पतालमा बिरामीका आफन्तहरू बस्न पाउँदैन थिए । वार्ड अग्ला–अग्ला पर्खालहरूले घेरिएको थियो । अस्पतालले नै प्रदान गरेको कमसल कमिज र कट्टुमा बस्नुपर्ने । बेसुरादेखि उद्दण्ड, नशेबाज अनि जेलबाट उपचारका लागि ल्याइएकाहरूसमेत सबै एकै ठाउँमा । प्रायः सबै औषधिले लठ्ठिएको अवस्थामा । जो जता पसारिए पनि हुने । कोही कपडा च्यातेर नाङ्गैभुतुङ्गै । दुई/तीन दिनसम्म पनि तिनले अर्को कपडा नपाएको अवस्था हुन्थ्यो ।

केही चाहिँ सद्दे गफ नै गर्दथे र आफूलाई परिवारले घरेलु विवादका कारण मानसिक रोगीको आरोप लाएर जबर्जस्ती थुनेको पीडा बयान गर्दथे । कसैलाई बाबुआमाले, कसैलाई स्वास्नीले, कसैलाई सन्तानले, कसैलाई साथीभाइले अनि कसैलाई मद्दत समूहले वा सरकार स्वयंले त्यहाँ भर्ना गरिदिन्थे । स्थानीय मजिस्ट्रेट कार्यालयमा लगेर औँठाछाप नगरी त्यहाँ कसैलाई पनि भर्ना नगर्ने नियम । मलाई पनि मजिस्ट्रेट कार्यालयमा लगिएको थियो र अभिभावकका रूपमा डा. भर्तकले मेरा लागि हस्ताक्षर गरेका थिए ।

प्रायः हरेक दिन उद्दण्डहरूबीच हानाहान हुने । भुसतिघ्रे गार्डहरू तीनलाई सकेजति भकुर्थे । त्यसपछि उनीहरूलाई लठ्याउने सुईको उपहार प्राप्त हुन्थ्यो । अनि उनीहरू पुर्लुकपुर्लुक ढल्थे ।

तेस्रो दिनदेखि मलाई बेकार भर्ना भइएछ भन्ने विचारले पिरोल्न पनि थाल्यो । तर, त्यहाँ भर्ना भइसकेपछि आफ्नो इच्छाले बाहिर निस्किन सक्ने अवस्था थिएन । मलाई बाहिर निकाल्ने एक मात्र व्यक्ति उनै डा. भर्तक मात्रै थिए । भर्ना गरेर गएपछि उनी भने एकैचोटि दुई हप्तापछि मात्रै पो टप्किए । उनको आगमनपछि मलाई त्यहाँ थप एक हप्ता बस्न कर गरियो । 

मैले त्यहाँ कसरी तीन हप्ता बिताएँ, त्यो सम्झिँदा अहिले पनि झन्झनाउँछु । हाहाहा ... तथापि त्यहाँ रहँदा निकै ‘मजा’ पनि आएको थियो । आत्माका कालरात्री उत्सवहरू मैले त्यहाँ मनाउन पाएको थिएँ । आफ्नै खोपडीभित्रको कुनै अनकन्टार ‘प्रेत–राजमार्ग’ पार गरिरहेको थिएँ म त्यसबेला, पुना शहरको मध्यमा अवस्थित त्यो विशाल मानसिक अस्पतालमा ।

त्यहाँको एउटै वार्डमा करिब २ सय मानसिक रोगी भाग्न नसक्ने गरी थुनिएका थिए । त्यस्ता वार्ड त्यहाँ ८–१० वटा थिए । रोगीलाई दैनिक खाना खुवाउनु, औषधि सेवन गराउनु, बेलाबेलामा नुहाउन लगाउनु वा समग्रमा हर तरहले तिनीहरूको देखभाल गर्नु पक्कै गाह्रो काम हुँदो हो । कुनै पनि शौचालयमा भित्रबाट लगाउने चुकुल थिएनन् । मानसिक अस्पतालहरूको यो एक प्रमुख विशेषता पनि हो । बिरामीले शौचालयमा आत्महत्या वा अनेक गडबड गर्न सक्ने संभावनालाई मध्यनजर गर्दै प्रायः जसो मानसिक अस्पतालका शौचालय वा स्नान घरमा भित्रबाट चुकुल लगाउने व्यवस्था हुँदैन ।

अर्को रोचक कुरा, यस्तो पनि लाग्थ्यो, त्यहाँ को चाहिँ सद्दे ? यदाकदा पागलहरू सद्दे लाग्थे भने सद्देहरू चाहिँ पागलझैँ देखिन्थे ! बेलाबेला लाग्थ्यो, पिँजडाभित्र कैदी बस्छन् कि पिँजडा बाहिर बस्ने चाहिँ कैदी हुन् ? नाना पाटेकरको एउटा फिल्ममा सुनेको थिएँ, पिँजडा एउटा स्यानो झ्यालखाना हो भने, पिँजडा बाहिरको दुनियाँ ठूलो झ्यालखाना । तर, उक्त अस्पतालका बारेमा त्यहाँबाट डिस्चार्ज भएको ६ वर्षपछि इन्टरनेटमा एउटा समाचार पढेर म तिल्मिलाएको थिएँ ।

अक्टोबर २०१३ मा भारतको ‘डेली न्यूज एन्ड एनालाइसिस’ले रिपोर्ट दिएअनुसार यरोडा मेण्टल अस्पतालमा लामो समयसम्म काम गर्ने केही कर्मचारीलाई ‘स्किजोफ्रेनिया’ र ‘साइकोसिस’ जस्ता मानसिक रोग लागेको पाइयो । ती व्यक्तिहरूलाई अस्पतालका मनोचिकित्सकहरूको हेरचाहमा राखिएको थियो । उनीहरूले केही महिना नियमित औषधि सेवन गर्नु पर्‍यो ।

यो लेख लेख्दै गर्दा सोही अस्पतालबारे केही गुगल गरियो । ‘विकिपेडिया’को एउटा जानकारीले हल्का ‘नोस्टाल्जिक’ पनि बनायो । जानकारी यस्तो छ, अस्पतालले दिने सेवाको गुणस्तर कमजोर छ । अस्पताल कम्पाउन्डमा सय वर्ष पुरानो ‘ड्रेनेज सिस्टम’ छ र पानी आपूर्ति अनियमित छ । यसले केही शौच गर्ने बिरामीलाई लुगाले पुछ्न बाध्य बनाइदिन्छ । बिरामीले लगाउने पोसाकको गुणस्तर पनि कमजोर छ ।
... ... ...

चौथो दिनसम्म रमिता र अन्यमनस्कतामा बिताए पनि पाचौं दिन म भाग्यमानी सावित हुन पुगेँ । कुरा के भयो भने, श्रीलंकाकी एउटी छात्रा त्यहाँ अंग्रेजी बोल्न सक्ने बिरामीको खोजीमा आइछिन् । मलाई बोलाए । म पनि के कम ? एक छिन भए पनि चहकिलो प्रकाश देख्न पाइने आशले गार्डको पछिपछि लागिहालेँ । सिकुटी, अग्ली अनि गोरी थिइन् उनी, जो ‘एमएससी नर्सिङ’को अन्तिम वर्षका लागि ‘थेसिस’ लेख्दै थिइन् । उनले केही प्रश्न सोधिन् । मैले फटाफट उत्तर दिएपछि उनी मबाट काम हुनेमा आश्वस्त भइन् ।

उनले एक सातालाई बिहान–बिहानको समय मिलाइन्। पहिलो दिन छुट्ने बेलामा मैले उनलाई भनेँ, ‘मानसिक रोग लागे पनि म अवचेतन डट कम भन्ने एउटा वेबसाइट चलाउँछु। भोलि आउनुअगाडि त्यो भिजिट गर्नुहोला र केही मिठाइ पनि ल्याउन नभुल्नुहोला। किनभने मानसिक रोगीहरू सित्तैमा बोल्दैनन् ।’ उनले एउटा सम्मोहक मुस्कान पस्किँदै सकारात्मक जवाफ दिइन् र बिदा भइन् । म चाहिँ ‘ब्याक टु दि पभेलियन’!

तर, अब मेरो चालढाल बदलिएको थियो। अचानक म त्यहाँ लोकप्रिय हुन थालेँ । कतिपय त मेरो पछिपछि पो लाग्न थाले । अलिक चेत् भएकाहरू मेरो वरिपरि भेला भएर जिस्क्याउन पनि थाले, ‘हामीलाई पनि अंग्रेजी सिकाउँछस् कि केटा ?’

त्यसो त त्यहाँ मभन्दा धेरै बाठा केटाहरू पनि भेटिए । सट्टे र सुट्टेबाजहरूको त्यहाँ छुट्टाछुट्टै समूह हुन्थ्यो । त्यहाँ पागल थिए । चोर, पाकेटमार र हत्याराहरू समेत थिए । जँड्याहा, गँजडी, ‘हार्डकोर ड्रग एडिक्ट्स’, जुवाडे, रण्डीबाज र कतिपय ठगहरूसमेत त्यहाँ थुनिएका थिए । त्यसो त त्यहाँ केही निर्दोष मान्छे पनि कैद थिए । स्वेच्छाले त त्यहाँ सायद मै मात्र ।

एक मध्यरात ग्रील सर्लक्कै उक्काएर दुईजना केटाहरू फरार भए । म त्यहाँ छउन्जेल भेटिएनन् । ग्रील उक्काएपछि तिनीहरूले दश फिटे पर्खाल कसरी नाघे ? त्यत्रो सुरक्षा घेरा कसरी तोडे? त्यो मेरो क्षमताभन्दा निकै स्तरीय कुरा थियो । त्यहाँ प्रायः सबैको कमजोरी थियो, सुट्टा । 

एउटा रमाइलो दृश्य– लुकाएर ढुवानी भएको खैनीलाई अखबारको टुक्रामा राम्रोसँग बेरेर सुट्टा बनाई पिउन माहिर केटाहरू। तिनीहरूसँग मिसिन आउने बूढाहरू। अनि उनीहरूका प्रायः नबुझिने कुरा सुनेर दिन काट्ने म । सुट्टा पिउनमा भन्दाउनीहरू अखबारे कागजको ‘सिगार साइज सोली’ बनाउनमा नै बढी समय बिताइदिन्थे । सोलीलाई मिहिन पाराले घुमाइसकेपछि बडो जतनसाथ एउटा धागोले त्यसलाई फनफनी बान्दथे । अनि गाईछाप वा पण्ढरपुरी खैनी भरेर पालैपालो तान्दथे । निश्चय नै कडाखाले खैनीको धुवाँ त्यसरी तान्दा केहीबेर मस्त ‘किक’ हान्थ्यो ।

... ... ...

अनि एकान्तमा म लगातार देवकोटा गाउँथें, 

जरुर साथी म पागल
यस्तै छ मेरो हाल ...

म माघको ठण्डीमा
ताराको सेतो प्राथमिक राप तापेर
बसिरहेको थिएँ
दुनियाँले मलाई तरङ्गी भने
भस्मेश्वरबाट फर्कदा सात दिन
टोह्लाएको देखेर
भूत लागेको भने
एक सुन्दरीका केशमा
समयका तुषाराको
पहिला छिर्का परेको देखेर
म तीन दिन रुँदा
मेरो आत्मालाई बुद्धले छुँदा
मलाई छटाएको भने
मैले वसन्तको पहिलो कोकिल सुनेर
नाचेको देख्दा
बहुला भने
एक सुनसान औँसीले मलाई निःशास भएर
म प्रलय–वेदनाले उफ्रेँ
मूर्खहरूले मलाई त्यस बेला ठिङ्गुरा हालेर राखे
म तूफानसँग एक दिन गीत गाउन थालेको थिएँ,
मलाई बुज्रुगहरूले
राँची पठाइदिए
म आफूलाई एक दिन मरेको सम्झेर
लम्पसार थिएँ
एक साथीले बेसरी चिमटिदिए
र भने, ए पागल तेरो मासु अझ मरेको छैन !
यस्ता कुरा भए सालसाल
पागल छु साथी
यस्तै छ मेरो हाल !

... ... ... 

खानामा बिहानै दुईवटा पाउरोटी र एक कचौरा चिसो दूध दिइन्थ्यो । अरू बेला सामान्य दालभात र तरकारी । यदाकदा रोटी। त्यहाँ बस्दा सिकेको हुँदा अझै पनि म बेलाबेला चिसै दूध घुट्क्याइदिन्छु । 

त्यहाँ एकै ठाउँमा कोही पनि नबस्ने । कोही कता कोही कता । कोही झुण्डझुण्ड हुन्थे। कोही नितान्त एक्लो । त्यहाँ पनि गुट र उपगुट हुन्थे । अनेक राजनीति त्यहाँ हुन्थ्यो । छलछाम, जालझेल र हानाहान त सामान्य । लगाएर सुतेका लुगा बिहान शरीरबाट गायब हुनसक्थे । पुरानाहरूको हालिमुहाली हुन्थ्यो । मलाई भने पुरानाहरूले चाँडै साथी बनाए। कोही डन टाइपका पनि थिए । सुट्टा पिउन खासै खाँचो भएन। मलाई बोलाइबोलाइ धुवाँ उडाउन दिन्थे । अखबारको एउटा रिपोर्टरले मानसिक रोग लागेपछि त्यही अखबारको टुक्रामा खैनी बेरेर धुवाँ उडाइरहेको दृश्य सायद निकै टीठलाग्दो देखिन्थ्यो । अनि उता खरो धुवाँले घाँटी भने ख्याक्कख्याक्क !

श्रीलंकन म्यामसँग दुई/दुई घन्टा अंग्रेजीमा कुरा गर्न थालेपछि त बिरामीलाई बिहान–बिहानको प्रार्थना गराउने जिम्मा पनि गार्डहरूले मलाई नै सुम्पिए । 
... ... ...
अर्को दिन अन्दाजी २५/२६ वर्षकी लाग्ने उनी भनेजस्तै एक प्याकेट मिठाई लिएर आइपुगेकी थिइन् । उनले मेरो वेबसाइट पनि हेर्न भ्याइछिन् । ‘अवचेतन डट कम’ एउटा विशुद्ध ‘कोल्डस्लिप’ ध्यान पद्धतिमा आधारित थियो । निन्द्रा र जागरणको अति पारदर्शी भेद उपर गरिने साक्षीमय स्वानुसन्धान नै ‘कोल्डस्लिप’ हो । 

मलाई कैयन् प्रश्न सोधिन् र आफ्नो पेपरमा टिक् लगाउँदै गइन् । उनले केही ‘ब्याट्री टेस्ट’ पनि गरिन् । स्किजोफ्रेनिया र अन्य मानसिक रोग लागेकाहरूको मनोवैज्ञानिक अवस्था जाँच्ने कार्डहरूको एउटा पद्धति हो, ‘ब्याट्री टेस्ट’ ।

कुनै डक्टर दाबोलकर थिए । उनले मलाई राम्रै व्यवहार गरे । उनी डा. भर्तकको मद्दत समूहका सकृय सदस्य पनि थिए । लक्षणहरू नियन्त्रणमा लिन मात्रै औषधी खाने र त्यसपछि छाड्ने मेरो अडानमा उनी सहमत थिए । उनी मलाई कम्तीमा ६ महिना औषधि खाने सल्लाह दिन्थे । त्यहाँ चलाइएको मुख्य औषधि थियो– ‘ओलान्जपाइन’ । जो हेर्दा निकै ‘डिजिटल’ देखिए पनि खाँदा तीतो थियो र त्यसले मनको सोच्ने धाराप्रवाह गतिमा अवरोध उत्पन्न गर्दथ्यो । पुराना ‘सिडेटिभ’ औषधिको दाँजोमा यसका ‘साइडइफेक्ट’ अलिक कम ।

दोस्रो हप्ता डा. भर्तक टुप्लुक्क आइपुगे । उनको आगमनले मनमा हर्ष छायो । म त्यस कहालीलाग्दो संसारबाट चाँडो भन्दा चाँडो निस्किन चाहन्थेँ । उनले मलाई डा. दाबोलकरको भनाइमा लागेर अरू एक साता बस्न दबाब दिए । औषधीले लर्बरिएको भए पनि मैले हल्का प्रतिवाद गरेँ । तर उनीहरूले मलाई ‘कन्भिन्स’ गरेरै छाडे ।

... ... ...

पहिलो हप्ता गुज्रिँदै गर्दाको एउटा रोचक दृश्य : लुगा फेर्नुपर्ने र नुहाउनुपर्ने भयो। गार्डहरूले पाइपको फोहरा ठीक पारे। सबैलाई ग्राउन्डमा पुर्याएर लुगा खोल्न आदेश दिइयो । लगभग ५०/६०जनाले घड्यामघुडुम लुगा खोले रनाङ्गै लाइनमा बसे। कालो वर्णका त्यत्तिका मान्छेको नाङ्गो लाइन हेरिनसक्नुको थियो ।

हामी अलिक लाज थाहा पाउने वा भनौं सुट्टा पिउनेहरू भने लगभग त्यत्ति नै संख्यामा लुगा नखोली फोहरामा थापियौँ ।

पछि थाहा पाउँदा त्यो त गार्डहरूले भित्र ड्युटीमा खटिएका सिस्टरहरूलाई बेलाबेलामा गर्ने मजाक रहेछ । ‘पागलहरूलाई लुगा खोल् भन्दा तलमाथि दुवै खोल्छ त हामीले के गर्ने?’ भनेर गलल हाँस्दा रहेछन् । त्यहाँ त्यो सामान्य हँसीमजाकको विषय रहेछ । साथै त्यसो गर्दा बिरामीको भिड दुई भागमा प्रष्ट छुट्टिन्थ्यो, निको भएका र निको नभएका । पागलहरूसँग डिल गर्ने गार्ड न परे, बाठा थिए मोराहरू !

५०/६० जना पुरुषको त्यो नाङ्गो कतारले लामो समयसम्म स्मृतिमा जिस्क्याइरह्यो । किनभने, कताकता त्यो दृश्यले मलाई हिटलरको ‘ग्यासच्याम्बर’मा थुनिएका यहुदीहरूको झझल्को दिन्थ्यो । अझै पनि सपनामा कहिलेकाहिँ त्यस्ता दृश्य आएर गायब हुन्छन् । ती पुनरुक्तिक सपनाहरूले आजकल मलाई पहिलेजस्तो सताउँदैनन् । बरु नयाँ कथा लेख्ने प्रेरणा दिएर जान्छन् ।

कसो–कसो तीन साता पनि बिते र आफ्ना लुगा लगाएर मेरा तत्कालीन अभिभावक डा. भर्तकका साथमा ‘यरोडा मेन्टल अस्पताल’बाट सदाका लागि विदा भएँ । अहिलेसम्म त्यहाँ फर्किएर गएको छैन र कहिल्यै जान्नँ पनि ।

तपाईंहरू पनि सकभर नजानुहोला!

कि जाने ?
... ... ...

(पत्रकारिताको मूलधारबाट विस्तारै साहित्य, दर्शन र कलाकारिताको आयाममा प्रवेश गरेका लिलाराजले अब हरेक शुक्रबार फरकधारमा स्तम्भ ‘अफ दि रोड’ पस्किएर जिन्दगीको तत्वमीमांसा गर्ने छन् ।)

  • प्रकाशित मिति : बैशाख २२, २०८० शुक्रबार १४:५५:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया