कोशी प्रदेश नामकरणको विरोध गर्दै काठमाडौंमा मनाइयो उँभौली पर्व

कोशी प्रदेश नामकरणको विरोध गर्दै उँभौली पर्व मनाइएको छ । किरात समुदायले मनाउने उँभौली पर्व शुक्रवार देशभरका किराँत समुदायले मनाएका छन् । 

प्रकृति तथा भूमि पुजेर मनाइने यस पर्व देशभरका किराँत समुदायले प्रकृति र भूमि पूजा गरेर मनाएका हुन् । यद्यपि यस वर्ष भने पर्व मनाए सँगसँगै किरात समुदायले कोशी प्रदेश नामकरण गरेकोमा विरोध पनि जनाएको छ । 

काठमाडौंको बानेश्वरमा भेला भएका किराती समुदायले सांस्कृतिक पहिचान झल्कने नृत्य तथा बाजागाजाहरूसहित प्रदेश नामकरणको विरोध गरेको हुन् । सबैले आफ्नो सांस्कृतिक पोसाकसहित ‘कोशी मुर्दावाद’ लेखिएको प्लेकार्ड पनि प्रदर्शन गरेका थिए । 

सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै किराँत राई याक्खाका अध्यक्ष जीवन राईले राज्यले आफूहरूको चाड र सांस्कृतिक पहिचानलाई बहिष्करणमा पारेकाले राज्यलाई खबरदारी गर्दै यस वर्षको उँभौली पर्व मनाइएको बताए । उनले संघीयताको मर्म विपरीत कोशी प्रदेश नामकरण गरिएको भन्दै त्यसमा आफूहरू विगत दुई महिनादेखि आन्दोलित भएका कारण खुसीसाथ उँभौली पर्व मान्न नसकेको बताए ।

उनले भने, ‘राज्यले हाम्रो सांस्कृतिक पहिचानलाई, हाम्रो चाडहरूलाई बहिष्करण गर्‍यो । यसको पहिचानलाई स्विकारेन । १ नम्बर प्रदेशमा संघीयताको मूल मर्म अनुसार प्राचीन सभ्यता, ऐतिहासिक पृष्ठभूमि र सांस्कृतिक पहिचानको आधारमा नामकरण गरियोस् भनेर हामीले लामो समयदेखि आन्दोलन गरिराखेका थियौँ । पहिचानको विरुद्धमा भएको कारणले गर्दा हामी सडकमा छौँ । हामी पीडामा छौँ । दुई महिनादेखि सडकमा छौँ । हाम्रो चाडपर्व खुसीको साथ मनाउनुभन्दा पनि खबरदारी, आक्रोश, पीडा व्यक्त गर्ने गरी देशभरिको विभिन्न चोकमा यसरी उँभौली मनाएका छौँ ।’

कोशी प्रदेशको नाम परिवर्तन गरी प्राचीन सभ्यता, ऐतिहासिक पृष्ठभूमि र सांस्कृतिक पहिचानको आधारमा पुनः नामकरण गर्न आफूहरूको माग रहेको उनले बताए । 





  • प्रकाशित मिति : बैशाख २२, २०८० शुक्रबार १६:४५:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया