logo-img

उत्पादक र ठूला योजनाका क्षेत्रमा बजेटले प्राथमिकता पाउनेछ  : अर्थमन्त्री

अर्थमन्त्री डा. प्रकाशरण महतले काठमाडौंको टोखाबाट नुवाकोटको छहरेसम्मको सुरुङमार्ग निर्माण कार्य थालनी गर्न लागिएको बताएका छन् । 

नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ बेतिनीस्थित छेवाङ ग्लान ङारछ्यालिङ गुम्बामा निर्मित गुरु पद्मसम्भवको आज मूर्तिको प्राण प्रतिस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सुरुङमार्ग निर्माणका लागि धेरै पहिलेदेखि बहस भए पनि अब भने काम सुरु गर्न आवश्यक बजेटको विनियोजन गर्ने बताए । 

‘नुवाकोटसहित रसुवा हुँदै चीनसँगको केरुङ बजारसँगको व्यापार बढाउन टोखा–छहरे सुरुङ मार्गको परिकल्पना गरिएकाले कार्यान्वयनमा लैजान लागिएको हो,’ उनले भने, ‘कृषि र पर्यटनको विकास, उद्योग व्यवसायको वृद्धि, धार्मिक तथा सांस्कृतिक गतिविधिलाई चलायमान बनाएर केरुङ हुँदै चीनसँगको व्यापार बढाउन के–कति सकिन्छ आगामी आर्थिक वर्षमा बजेट तर्जुमा गर्न लागिएको छ । यसलाई कार्य प्रारम्भका रुपमा लिनुपर्छ ।’

संघीय सरकार आगामी आर्थिक वर्षको बजेटको तयारीमा रहेकाले उत्पादक र ठूला योजनाका क्षेत्रमा बजेटले प्राथमिकता पाउने नेपाली कांग्रेसका प्रवक्तासमेत रहेका डा. महतको भनाइ छ ।

‘विकास निर्माणलाई कांग्रेसले सदैव प्रथामिकता दिँदै आएको छ । जनताको सुखदुःख, विकास निर्माण, धर्म र संस्कृति तथा मानवीय जीवनसँग जोडिएका पक्षमा काम गर्दै आइरहेको छ’, उनले भने, ‘अहिले अर्थतन्त्र अप्ठ्यारो परिस्थितिको भएकाले धेरै अपेक्षा नराख्न तर, राम्रा र नमुना कामको थालनी हुन्छ भन्नेमा ढुक्क हुनुहोस् ।’

दुप्चेश्वर–४ बेतिनीस्थित छेवाङ ग्लान ङारछ्यालिङ गुम्बामा निर्मित ‘गुरु पद्मसम्भव’ मूर्तिको प्राण प्रतिस्थापन गर्दै उनले बुद्धपछिको बुद्ध भगवान्का रुपमा सम्मानित भगवान् पद्म सम्भवको मूर्तिको स्थापनाले धार्मिक र सांस्कृतिक संरक्षणमा सहयोग पुग्ने बताए ।  





  • प्रकाशित मिति : वैशाख २३, २०८० शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया