नेपाली पत्रकारिताको जग बसालेका जयपृथ्वी​

नेपालमा पत्रकारिताको इतिहास हेर्दा विसं १९४३ मा फर्कनुपर्छ । युवाकवि मोतीराम भट्टले काशी (बनारस) पढ्न गएको बेलामा नेपाली भाषाको पत्रिका ‘गोरखा–भारत जीवन’ प्रकाशन गरेका थिए । त्यो पत्रिका दुई वर्षसम्म चल्यो । उनी नेपाल फर्किएपछि ‘मोतीमण्डली’ टोली बनाएर पत्रिकाको तयारी गरे । विसं १९५३ मा मोतीरामको निधन भएपछि १९५५ सालमा मोतीमण्डलीले ‘सुधासागर’ पत्रिका प्रकाशनमा ल्यायो तर, त्यसलाई तत्कालीन सरकारले मान्यता भने दिएन ।

विसं १९५८ मा तत्कालीन बझाङी राजा जयपृथ्वीबहादुर सिंह २४ वर्षको थिए । त्यो समयमा सरकारलाई चेतना जगाउन जो कोहीले सक्दैनथे । आफ्ना नातेदार तथा भारद्वाजबाहेक राणाको नजरमा वीरलै मान्छेको मात्रै नजर पर्दथ्यो । जयपृथ्वीबहादुर सिंह त्यसबेलाका अध्येता तथा लेखक राजाको नामले चिनिन्थ्य। नातेदार भएकै कारण प्रधानमन्त्री देवशमशेर राणाले सिंहलाई सल्लाहकारको रूपमा राखे । 

जयपृथ्वीले धेरै प्रयास गरेर प्रधानमन्त्री देवशमशेरलाई पत्रपत्रिकाको महत्व बुझाए र उनी पत्रिका प्रकाशन गर्न राजी भएपछि १९५८ वैशाख २४ गते सोमबारका दिन गोरखापत्र साप्ताहिकको रूपमा प्रकाशनमा आयो । प्रधानमन्त्री देवशमशेरले प्रकाशन समयमा गोरखापत्रको सम्पूर्ण जिम्मेवारी जयपृथ्वीलाई नै दिए तर, जयपृथ्वीले व्यवस्थापकीय जिम्मेवारी भने पण्डित नरदेव पाण्डेलाई दिन सुझाव दिए र पाण्डेले नै दुई वर्ष गोरखापत्र साप्ताहिकको सम्पादक र व्यवस्थापकीय जिम्मेवारीमा सम्हाले । विसं १९६० मा फेरि गोरखापत्रको दोस्रो व्यवस्थापकको रूपमा जयपृथ्वीबहादुरलाई नै जिम्मेवारी दिइयो । सिंहको पालामा गोरखापत्रको सम्पादकको रूपमा चिरञ्जीवी शर्मा पौड्याल थिए । बाह्र वर्षसम्म जयपृथ्वीले गोरखापत्र प्रकाशनलाई निरन्तरता दिए ।

गोरखापत्रमा रहँदा उनले राष्ट्रियता र जनजागरणका मुद्दा उठाइरहेपछि उनकै ससुराअर्थात् प्रधानमन्त्री चन्द्रशमशेरले हटात्रूपमा गोरखापत्र नै बन्द गराए । जयपृथ्वी भागेर भारत पुगे। पछि प्रधानमन्त्री चन्द्रशमशेरले आफ्ना नातागोतालाई पत्रिकाको जिम्मेवारी दिए र सरकार अनुकूल समाचारहरू प्रकाशन हुन थाले ।

नेपाली पत्रकारितामा गोरखापत्रकालअर्थात् प्रजातन्त्रभन्दा अगाडि दर्जनभन्दा बढी पत्रिकाहरू सञ्चालन भएका थिए । गोरखापत्रपूर्व, गोरखापत्रकाल, प्रजातन्त्रकाल, पञ्चायतकाल, बहुदलीय व्यवस्थापछिको गणतान्त्रिक व्यवस्थामा पुग्दा नेपाली पत्रकारितामा धेरै परिवर्तन भइसकेको छ । ‘नेपाली पत्रकारिताको जग जयपृथ्वीबहादुरले नै हाल्नुभएको हो’, इतिहासविद् तथा डोटी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख अर्जुन देउवाले भेका छन्, ‘सिंहले राणाहरूलाई धेरै फकाएर गोरखापत्र सञ्चालनमा ल्याउनुभएको हो । उहाँकै प्रेरणाले नेपाली पत्रकारिता आजको अवस्थामा पुगेको हो ।’

जनताको आवाज प्रकाशन हुन थालेपछि १९७२ मा गोरखापत्र नै बन्द भएको इतिहासविद् देउवा बताउँछन् । पत्रिका बन्द भएपछि जयपृथ्वी चन्द्रशमशेरका डरले भारत गए । त्यहाँबाट पनि बेलायत पुगे । कसैका आँखामा नपर्नका लागि उहाँले ब्रमेली पोसाक लगाएर भागेको देउवा बताउँछन् ।

यता चन्द्रशमशेरले जयपृथ्वी दाखिल गराउनेलाई रु पाँच हजार इनामको सार्वजनिक घोषणा गरे तर, उनी राणाको सम्पर्कमा नआएपछि तलबभत्ता बन्द गराइयो । ‘राणाले जयपृथ्वीबाट आफ्नी छोरीलाई पनि छुटाउनुभयो’, देउवाले भने, ‘राजा भइसकेपछि पनि उहाँको लवाइखवाइ देखेर राणाहरूले खिसिटिउरी गर्थे । तर, उहाँ विद्वान् भएको हुँदा राणाको कुराले छुँदैनथ्यो । उहाँ मानव जातिकै वकालतमा लागिरहनुभयो ।’

जयपृथ्वीबाट आफ्नी छोरी छुटाएपछि चन्द्रशमशेरले कम्पनीको  आठ हजार रुपैयाँ छोरीलाई वार्षिक भत्ता तोके । त्यसपछि राणाले जयपृथ्वीको जात च्युत गरी पानीसमेत काँडे । जयपृथ्वी आफ्ना ससुरा चन्द्रशमशेरको निधनपछि मात्रै नेपाल आएका हुन् । 

जयपृथ्वीले भारतको बेंग्लोर चेट्टीरोडस्थित जया भवनमा सन् १९२८ (विसं १९८५) मा ‘ह्युमानिस्ट क्लब’ खोले । क्लबमार्फत सिंहले विश्वका सम्पूर्ण प्राणी र बोटबिरुवालाई माया र संरक्षण प्रदान गर्न विभिन्न चेतनामूलक कार्य गरे । क्लबको मुखपत्रका रूपमा ‘द ह्युमानिस्ट’ नामक पत्रिकासमेत प्रकाशित गरे । जसमा मानवतावादसम्बन्धी विविध विषय प्रकाशित हुन्थे । पछि सिंहले मानवतावादी क्लब खोलेर ‘ह्युमानिस्ट’ नामक अङ्ग्रेजी पत्रिका नियमित प्रकाशन गरेका थिए । 

बझाङ राज्य स्थापना भएयता बझाङमा २४ जनाले प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा राजकाज चलाए । त्यसैमध्ये १८औँ नम्बरका राजा हुन् जयपृथ्वीबहादुर सिंह । शक्ति सिंहले १५०३ सालमा स्थापना गरेको बझाङ राज्य अघोषितरूपमा पाँच सय ६२ वर्षसम्म चल्यो र औपचारिकरूपमा १८४८ सालमा राजा समुद्र सिंहको पालामा सकियो । अघोषित रूपमा भने २०६५ जेठ १५ गतेसम्म नै चल्यो ।

बझाङ राज्यका १७ औँ राजा विक्रमबहादुर सिंहका १४ सन्तानमध्ये पहिलो सन्तान हुन् जयपृथ्वीबहादुर । विक्रमबहादुरकी चार रानीमध्ये जेठी रानी रुद्रकुमारीको जेठो सन्तानको रूपमा जयपृथ्वी थिए । उनलाई प्रधानमन्त्री वीरशमशेर राणाले १६ वर्षको उमेरमा विसं १९४४ मा बझाङको राजा घोषित गरेका थिए । सत्र वर्षको उमेरमा श्री ३ चन्द्रशमशेरकी १४ वर्षीया छोरी खगेश्वरीदेवीसँग उनी विवाह बन्धनमा बाँधिएका थिए । 

सिंहले जङ्गबहादुर राणाकै (छोरीबाट) नाति भएका कारण आठ वर्षको उमेरमै काठमाडौंको दरबार हाइस्कुलमा अध्ययन गर्ने मौका पाएका थिए । राजा भएको बेलामा जयपृथ्वीले आठ विद्यार्थी काठमाडौंमा पढ्न पठाउनुभयो । काठमाडौंको नक्सालको आफ्नै घरमा सत्यवादी पाठशाला पनि खोले । पछि सत्यवादी प्राथमिक पाठशाला बझाङमा सार्नुभयो र बझाङमा सर्वसाधारणले पनि पढ्ने मौका पाए ।

राजा जयपृथ्वीले विभिन्न पाठ्यपुस्तक पनि लेखे । उनले नै लेखेको नेपाली भाषाको ‘अक्षरांक शिक्षा’ पठनपाठन गरिन्थ्यो । उनले ‘अक्षरमाला’, ‘पदार्थ तत्व विवेक’, ‘बालबोध भाग १’, ‘जापानको इतिहास’, ‘शारीरिक शिक्षा दर्पण’, र ‘स्रेस्ता दर्पण भाग १ र २’, ‘बालबोध’, ‘प्राकृत ब्याकरण’, ‘भूगोलविद्या’, ‘मानवतावादसम्बन्धी ३ भोल्युम’, ‘द फ्ल्याग अफ पिस’ जस्ता १८ वटा दार्शनिक पुस्तक लेखे । उनले कोलकत्ता गएर म्याट्रिक पास गरे । प्रयागमा गएर आइए पढे तर, पूरा गरेनन् । 

बझाङमा जयपृथ्वीले भूमि सुधारको व्यवस्थापन गरे । उनले नै नापीको व्यवस्था गरे । औषधालय उहाँले नै खोले । बझाङमा खग औषधालय र जयपृथ्वी धर्म औषधालय उनले नै स्थापना गरेका हुन् । उनले कोलकत्ताबाट समेत बझाङमा चिकित्सक ल्याएर सर्वसाधारणको उपचार गरेका थिए । चन्द्रशमशेरले २५ वर्षीय जयपृथ्वीलाई कोलकत्तामा वकिल बनाएरसमेत पठाएको इतिहासकार बताउछन् । विसं १९६५ मा प्रधानमन्त्री चन्द्रशमशेरसँगै उनी बेलायत पनि गए । बेलायतमा उनलाई कर्नेलको दर्जा दिइयो । साथै उनी अमेरिका र रुस भ्रमण गर्ने पहिलो नेपालीको रूपमा चिनिए । विभिन्न पुस्तकमा उल्लेख भएअनुसार उनले नक्कली भिसा लिएर जापान पुग्दा उनी पक्राउसमेत परेका थिए । 

इतिहासविद् देउवाका अनुसार जयपृथ्वी विश्वमा जति मुलुक पुग्नुभयो त्यो देशमा शान्ति, मानवता र भ्रातृत्वकै अभिवृद्धिको सन्देश मात्र दिन्थे। जयपृथ्वीले मानवतावादी संस्था खोल्ने अभियान चलाए । उनको संरक्षकत्वमा एसियाका विभिन्न राष्ट्रमा मानवतावादी सङ्घहरू पनि खुले । विसं १९९७ असोज १ गते भारतको बेंग्लोरमा जयपृथ्वी ६४ वर्षको उमेरमा स्व. भए । उनी स्व. भएपछि विदेशीले दोस्रो गौतमबुद्धको नामले सम्मान नै गर्यो । भारतबाट प्रकाशित हुने ‘अमृतबजार पत्र’ नामक पत्रिकाले ‘नेपालका दोस्रो गौतमबुद्धको निधन’ भनेर समाचार प्रकाशित गरेको देउवा बताउछन् ।  

  • प्रकाशित मिति : बैशाख २४, २०८० आइतबार १४:१८:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया