संस्कृत वाङ्मयको वैज्ञानिक अध्ययन आवश्यक

पोखरामा आयोजित ‘संस्कृत उच्च शिक्षामा सामयिक चुनौती विषयक’ गोष्ठीमा संस्कृत वाङ्मयको वैज्ञानिक अध्ययन आवश्यक भएकामा जोड दिइएको छ ।

अनुसन्धान व्यवस्थापन एकाइ, विन्ध्यवासिनी संस्कृत विद्यापीठ, पोखराको आयोजना एवं विश्वविद्यालय अनुसन्धान आयोग, सानोठिमी भक्तपुरको सहयोगमा आयोजित दुईदिने गोष्ठीको उद्घाटन समारोहमा वक्ताहरूले संस्कृत वाङ्मयमा विज्ञान भए पनि त्यसलाई बुझाउन नसकिएको बताए । 

गोष्ठीको उद्घाटन गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति डा. जगमान गुरुङले संस्कृत वाङ्मयको वैज्ञानिक अध्ययनले मात्र यसको महत्त्व बुझ्न र बुझाउन सकिने बताए । संस्कृत वाङ्मयका अभियन्ताले आफूलाई सामूहिक रूपमा परिवर्तन गर्न जरुरी रहेको उल्लेख गर्दै उनले संस्कृतको महत्त्वलाई उजागर गर्नु आवश्यक भएको बताए । 

संस्कृत उच्च शिक्षामा समसामयिक चुनौतीहरू विषयक कार्यपत्र प्रस्तुत गर्दै सहप्राध्यापक गुरुप्रसाद सुवेदीले संस्कृत शिक्षाका लागि सरकारका तर्फबाट पर्याप्त लगानी नभएकाले यसलाई व्यवस्थित गर्न नसक्दा सर्वसाधारणको आकर्षण कम भएको बताए । संस्कृत वाङ्मयको विश्वव्यापी महत्त्वलाई समुदायमा र विश्व सन्दर्भमा समेत प्रकाशित गर्न सके यसको औचित्य पुष्टि हुने उनको भनाइ थियो । 

कार्यपत्रमाथि टिप्पणी गर्दै सहप्राध्यापक शान्तिकृष्ण अधिकारीले संस्कृतका शास्त्रीय विधालाई बचाउन संस्कृत विश्वविद्यालयका १७ वटा विभाग प्रत्येकले वार्षिक न्यूनतम दुई÷दुईजना दक्ष जनशक्ति तयार गर्नुपर्ने आवश्यकता औँल्याए । विश्वविद्यालयले अनुसन्धानलाई जोड दिनुपर्ने उनको भनाइ छ । 

विन्ध्यवासिनी संस्कृत विद्यापीठका प्राचार्य डा. जगन्नाथ रेग्मीले संस्कृत शिक्षाप्रतिको आकर्षण बढाउन राज्यको ध्यान पुग्नु जरुरी रहेको बताए । 



अनुसन्धान व्यवस्थापन एकाइका संयोजक सहप्राध्यापक चुडामणि कँडेलको अध्यक्षता एवं सहप्राध्यापक आनन्दमणि रिजालले सहजीकरण गरेको कार्यपत्रमा आधारित अन्तरक्रियामा ११ जनाले सहभागिता जनाउँदै संस्कृत शिक्षाको मौलिक अध्ययन विधि तयार गर्नुपर्ने आवश्यकता औँल्याएका थिए । 

देशको सामाजिक, आर्थिक प्रणालीमा आएको परिवर्तनका कारण संस्कृतसहित अन्य विश्वविद्यालयमा पनि प्रभाव परेको भन्दै राजनीतिमा नै सुधार गरेर मौलिक ढंगको सामाजिक प्रणाली पुनःस्थापना गर्नुपर्नेमा जोड दिइएको थियो । 



नीतिगत रूपमा राष्ट्रिय शिक्षा नीतिकै कारण संस्कृत शिक्षालाई कमजोर पारिएको भन्दै वक्ताहरूले माध्यमिक तहमा संस्कृत पठनपाठनको प्रणालीलाई फर्काउनु जरुरी रहेको बताए । संस्कृत शिक्षा पठनपाठन नहुँदा समाजको नैतिक धरातल खस्केकोमा उनीहरूको चिन्ता थियो ।

कार्यक्रममा विद्यापीठ व्यवस्थापन समितिका अध्यक्ष परशुराम बराल, पूर्वअध्यक्षहरू ऋषिराम सापकोटा, विष्णुप्रसाद बराल, पूर्वप्राचार्य अम्बिकाप्रसाद भट्टराई, महर्षि गुरुकुलका अध्यक्ष रामचन्द्र पौडेल, अनुसन्धान व्यवस्थापन एकाइका सदस्यसचिव उपप्राध्यापक प्रकाश पौडेललगायतले संस्कृत शिक्षाको महत्त्वलाई उजागर गर्न नसक्दा यसतर्फको आकर्षण नबढेकामा जोड दिएका थिए । 

उक्त अवसरमा विद्यापीठको पुस्तकालय एवं अनुसन्धान व्यवस्थापन एकाइलाई सहयोग पुर्याउने भीमनारायण रेग्मीलाई सम्मान गरिएको थियो ।

  • प्रकाशित मिति : बैशाख २५, २०८० साेमबार २३:६:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया