निजीमा विद्यार्थी आकर्षित भएपछि नगरपालिका छेउकै सामुदायिक विद्यालय रित्तो
प्रतीकात्मक तस्वीर

प्यूठानमा नयाँ शैक्षिक सत्र २०८० का लागि भर्ना अभियान सम्पन्न भइसक्यो । जिल्लाका सबै विद्यालयमा पठनपाठनसमेत धमाधम चलिरहँदा प्यूठान नगरपालिका कार्यालयकै छेउमा रहेको विद्यालयका कक्षाकोठा रित्ता छन् ।

प्यूठान–४ थापडाँडास्थित सरस्वती प्राथमिक विद्यालय विद्यार्थी नभएका कारण बन्द हुने अवस्थामा पुगेको छ । नगरकार्यपालिकाको कार्यालयबाट करिब ५ सय मिटरको दूरीमा अवस्थित सो विद्यालयमा विद्यार्थी भर्ना सङ्ख्या शून्य भएको छ । वि.सं २०१२ मा स्थापना भएको पुरानो विद्यालय यो शैक्षिक सत्रमा विद्यार्थीविहीन भएको प्रधानाध्यापक हरिप्रसाद थपलियाले जानकारी दिए ।

विद्यालयमा शिक्षक/अभिभावकले विद्यार्थी भर्नाका लागि लिएर आउँछन् कि भन्ने आशमा अझै छन् । तर, अहिलेसम्म कुनै पनि विद्यार्थी त्यहाँ भर्ना हुनका लागि नआएको उनले बताए । 

थपलियाका अनुसार विद्यालयले शैक्षिक सत्र सुरु गर्न विद्यार्थी भर्ना अभियान सञ्चालन गरेको थियो । विद्यार्थी भर्नाका लागि अभिभावकसम्म पुगेर बालबालिकालाई भर्ना गर्न अनुरोधसमेत गरिएको थियो ।   

‘विद्यार्थी प्रोत्साहनका लागि कापी, कलम, पोसाकको समेत व्यवस्था गर्ने सोचमा थियौँ । स्थानीय बालबालिका निजी विद्यालयमा भर्ना हुन गएका कारण यहाँ भर्ना हुन आएनन्,’ प्रधानाध्यापक थपलियाले भने । 

विद्यालयमा विद्यार्थी संख्या कम भएपछि प्युठान नगरपालिकाले कक्षा ५ सम्म पढाइ भइरहेको विद्यालयलाई कक्षा १ देखि ३ कक्षासम्म हुने निर्णय गरेको थियो । कक्षा १ देखि ५ सञ्चालन हुँदै आएका छ प्राथमिक विद्यालयको कक्षा ग्रेड घटाइएको प्युठान नगरपालिकाका प्रमुख विष्णुबहादुर योगीले बताए । 



शून्य विद्यार्थीको विद्यालय के गर्ने भन्ने निर्णयमा प्यूठान नगरपालिका छलफलमा रहेको उनको भनाइ छ । रासस



  • प्रकाशित मिति : बैशाख २६, २०८० मंगलबार ९:७:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया