पौडेल पक्ष र सिटौला पक्षको बहिष्कारपछि कांग्रेस बैठक स्थगित

काठमाडौं– नेपाली कांग्रेसमा अनुशासन समिति गठन सम्बन्धमा सहमति हुन नसक्दा केन्द्रीय कार्यसमिति बैठक बस्दै नबसी स्थगित गरिएको छ । मंगलबार बिहान ११ बजेका लागि बोलाइएको केन्द्रीय समिति बैठक दिउँसो २ः३० बजेसम्म बस्न सकेको थिएन । 

बैठकअघि सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच समिति गठन सम्बन्धमा सहमतिको प्रयास भएको थियो । नेता पौडेलले अनुशासन समितिमा रहने व्यक्ति सर्वसम्मतरूपमा चयन नभए बैठकमा अनुपस्थित हुने अडान लिएको केन्द्रीय सदस्य रामकृष्ण यादवले जानकारी दिए । नेता पौडेलको अडानपछि पनि संस्थापन पक्षका सदस्य बैठक कक्षमा प्रवेश गरेका थिए । 

तर, संस्थापनइतर पक्ष अनुपस्थित भएपछि बैठक बस्दै नबसी स्थगन गरिएको थियो । केन्द्रीय सदस्य भीष्मराज आङ्देम्बेले अनुशासन र निर्वाचन समिति गठनका सम्बन्धमा सहमतिका लागि थप छलफल आवश्यक रहेकाले मंगलबारको बैठक सारिएको जानकारी दिए । 

समिति गठनमा दुवै पक्षले आफूअनुकूल खोज्दा सहमतिमा ढिलाइ भएको बुझिएको छ । यसअघि यही फागुन १२ गतेको बैठकमा पनि पार्टीको विधान संशोधनको प्रस्ताव पारित गर्दा महासमिति बैठकको भावना नसमेटिएको भन्दै नेता पौडेल र नेता कृष्णप्रसाद सिटौला पक्षले फरक मत राखेको थियो । 

गत मङ्सिर २८ देखि पुस ८ गतेसम्म भएको महासमिति बैठकमा अधिकांश जिल्ला सभापतिको मागबमोजिम सभापति देउवा र नेता पौडेलले पार्टी केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्य वडास्तरबाटै निर्वाचित हुनुपर्ने र समावेशी आरक्षण एक व्यक्तिका लागि एकपटक मात्र लागू हुने प्रावधान विधानमा समेटिने आश्वासन दिएका थिए । फागुन १२ गतेको बैठकले उक्त प्रवधान नराखी विधान पारित गरेको थियो । 





  • प्रकाशित मिति : फागुन १४, २०७५ मंगलबार १६:९:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया