logo-img

पुरानो भुक्तानी नगरिए बजेट अधिवेशन चल्न नदिने निर्माण व्यवसायीको चेतावनी

निर्माण व्यवसायीहरुले प्रदेश सरकारसँग आफूहरुको पुरानो भुक्तानी यथाशीघ्र गर्न माग गरेका छन् । निर्माण व्यवसायी संघ धनुषाले आफूहरुको पूरानो बक्यौता रकम यथाशीघ्र भुक्तानी नगरिए बजेट अधिवेशनसमेत चल्न नदिने चेतावनी दिएको छ ।
 
अर्थमन्त्री सञ्जयकुमार यादवले आफूहरुसँग भेटघाट गर्नसमेत नमानिरहेको संघका अध्यक्ष अशोक चौधरीले गुनासो गरे । अर्थमन्त्री यादवले भेट गर्ने आश्वासन दिएर आफूहरुलाई कार्यालयमा बसाई भेटघाट नै नगरी त्यहाँबाट निस्कने गरेको उनको गुनासो छ । 

बाटोमा भेट्दा एकछिन हाम्रो कुरा सुनिदिनुस् भनेपछि अर्थमन्त्री यादवले तपाईंहरुलाई मेरो गाडी रोक्ने अधिकार कसले दियो भन्दै उल्टै अमानवीय व्यवहार प्रदर्शन गरेको उनको दुःखेसो छ । 

अध्यक्ष चौधरीले मधेस सरकारले आफूहरुको समस्या नै नबुझेको आरोप लगाएका छन् । मुख्यमन्त्री सरोजकुमार यादवले बिहीबार बस्ने मन्त्रिपरिषदको बैठकबाट समस्या समाधान हुने आश्वासन दिएको बताउँदै उनले त्यसपछि पनि समस्या समाधान नभए बजेट अधिवेशनसमेत चल्न नदिने चेतावनी दिए ।
 
यस सम्बन्धमा अर्थमन्त्री यादवले निर्माण व्यवसायीको भुक्तानीका लागि सरकारले छलफल गरेर निकास दिइसकेको र अब नियमावली संशोधन भई आवश्यक प्रक्रिया पुर्याएर दुई/तीन दिनभित्र समस्या समाधान हुने आश्वासन दिएका छन् ।
 
उनले आगामी बजेटको मार्गदर्शन सिद्धान्तहरुमाथि पनि छलफल भएको जानकारी दिए । आगामी बजेटमा शिक्षा, स्वास्थ्य, कृषिलगायतका क्षेत्रहरुलाई प्राथमिकतामा राखेर सोही हिसाबले सरकारको नीति तथा कार्यक्रम निर्माणमा लाग्ने सरकारको तयारी रहेको उनले बताए । 

विगतमा देखिएका भुक्तानी समस्या यस आर्थिक वर्षमा नदेखियोस् भन्ने हिसाबले सम्बन्धित मन्त्रालयले आफ्ना विभागीय कार्यालयहरुलाई पूर्वजानकारी दिइसकेको र भुक्तानीको उचित प्रबन्ध मिलाउन निर्देशन दिइएकोसमेत उनले बताए ।





  • प्रकाशित मिति : वैशाख २६, २०८० मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया